सुदूरपश्‍चिममा विद्युत् पूर्वाधार विस्तार गर्ने घिसिङको घोषणा

हिमाल प्रेस १८ मंसिर २०७९ १९:४२
12
SHARES
सुदूरपश्‍चिममा विद्युत् पूर्वाधार विस्तार गर्ने घिसिङको घोषणा

धनगढी– नेपाल विद्युत् प्राधिकरणले कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन आवश्यक पूर्वाधार निर्माण गर्ने भएको छ। प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने भएको हो।

खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने बताइएको छ। गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायत सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताको गुनासो आउने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायु श्रेष्ठलगायत सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ।

टोलीले नगरपालिका प्रमुख एवम् उद्योग वाणिज्य संघका प्रतिनिधिसँग छलफल गरेको छ।

टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिले नै विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेस गर्न निर्देशन दिएको छ।

साथै सुदूरपश्चिमका जिल्लाको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोहीअनुसार काम गर्न निर्देशन दिएको छ।

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रूपमा गर्नु पर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए।

‘३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनुपरेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोडलगायत समस्या छ, त्यसको समाधानका लागि कैलालीको अत्तरिया सवस्टेसनबाट दक्षिण क्षेत्र हुँदै एक सय ३२ केभी लाइन र धनगढी आसपासमा एक सय ३२ केभी सवस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौँ,’ घिसिङले भने, ‘कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि एक सय ३२ केभी लाइनबाट जोड्ने छौँ, सो लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैन।’

प्रकाशित: १८ मंसिर २०७९ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =