रोल्पाको सुन्तलाले भाउ पाएन

हिमाल प्रेस १८ मंसिर २०७९ १७:३२
4
SHARES
रोल्पाको सुन्तलाले भाउ पाएन

दाङ– रोल्पामा उत्पादित सुन्तलाले आकर्षक बजार भाउ पाउन सकेको छैन। रोल्पामा भाउ नपाएपछि यहाँका किसान महँगो बस भाडाखर्च गरेर दाङ आएर सुन्तला बिक्री गरिरहेका छन्।

माडी गाउँपालिका ५ बाङका खड्गसिंह बुढामगर सुन्तला बिक्रीकै लागि दाङसम्म पुग्नु परेको बताउँछन्। घोराहीमा मासिक ८ हजार रुपैयाँमा कोठा भाडामा लिएर बुढामगरले सुन्तला बिक्री सुरु गरेका छन्।

रोल्पामा उत्पादन भएको सुन्तला लामो समयसम्म भण्डारण गर्न समस्या भएकाले व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

रोल्पाका विभिन्न गाउँबाट संकलन गरेको सुन्तला दाङ ल्याएको उनले जानकारी दिए।

उनले आफ्नै बारीमा ४ सय ५० वटा सुन्तलाका बिरुवा रोपेकामा दुई सय बोटले फल दिन थालेको बताए। गतवर्ष सुन्तलामा फल लाग्दा असिना पानीले नोक्सान गरेको थियो। फल राम्रोसित लागेको थिएन।

यसपाली पर्याप्त मात्रामा सुन्तला फलेको बुढामगरले बताए। गत वर्ष ८ लाख रुपैयाँको सुन्तला बिक्री भएको बुढामगरको भनाइ छ।

स्थानीयस्तरमा शीत भण्डार (कोल्ड स्टोर)को व्यवस्था गर्न सके उत्पादन भएका फलफूल लामो समय राख्न सकिने उनले बताए।

घोराहीमा खुद्रा प्रतिकिलो ८० रुपैयाँमा सुन्तला बिक्री हुने गरेको उनले जानकारी दिए। स्थानीय उत्पादनलाई प्रोत्सान गर्न स्थानीय, प्रदेश र संघीय सरकारले विशेष पहल गर्नुपर्ने बुढामगरको भनाइ छ।

प्रकाशित: १८ मंसिर २०७९ १७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =