सुनसरीमा किन एक सिटमा खुम्चियो कांग्रेस?

विवेक विवश रेग्मी १८ मंसिर २०७९ १७:४५
746
SHARES
सुनसरीमा किन एक सिटमा खुम्चियो कांग्रेस?

इटहरी- यसपटकको निर्वाचनमा सुनसरीमा नेपाली कांग्रेस कमजोर बनेको छ। २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा चारमध्ये तीन क्षेत्रमा निर्वाचित कांग्रेस यस वर्ष एक सिटमा खुम्चिएको हो। अघिल्लोपटक निर्वाचन सुनसरी २, ३ र ४ मा कांग्रेस उम्मेदवार निर्वाचित भएका थिए भने सुनसरी १ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए।

२०७४ मा कांग्रेस समर्थनमा उम्मेदवार बनेका जसपाका अशोक राई सुनसरी १ मा पराजित भएका थिए। उनलाई एमालेका जयकुमार राईले पराजित गरेका थिए। यसपटक एमाले समर्थनमा उनै अशोक सुनसरी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। कांग्रे नेतृत्वमा रहेको गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै अशोक निर्वाचित भएका हुन्।

सुनसरी २ मा एमालेका भीम आचार्य निर्वाचित भएका छन्। उनले कांग्रेसका सीताराम मेहतालाई पराजित गरेका हुन्। ०७४ को निर्वाचनमा कांग्रेसबाट उनै सीताराम निर्वाचित भएका थिए। उनले वाम गठबन्धनबाट उम्मेदवार बनेका हिमाल सुवेदीलाई पराजित गरे पनि यसपटक भने एमालेका आचार्यसँग पराजित बन्न पुगे।

सुनसरी ३ मा ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका कांग्रेसबाट उम्मेदवार बनेका विजयकुमार गच्छदार पहिलोपटक पराजित भएका छन्। उनले ०७४ को निर्वाचनमा एमालेकी भगवती चौधरीलाई झिनो मतान्तरले पराजित गरे पनि यसपटक चौधरीसँग गच्छदार पराजित बन्न पुगे।

सुनसरी ४ मा भने सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्। उनले एमालेका जगदीशप्रसाद कुसियतलाई पराजित गर्दै यस क्षेत्रबाट दोस्रोपटक निर्वाचित भएका हुन्।

०७४ को निर्वाचनमा भने कार्कीले एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए। यसपटक भने कार्कीलाई निर्वाचन जित्न निकै कठिन भयो। उनले ११२ मतान्तरले मात्रै एमालेका कुसियतलाई पराजित गरेका हुन्। कार्कीले चुनाव जितेर सुनसरीमा नेपाली कांग्रेसले साख जोगाएको छ।

०७४ मा वाम गठबन्धन हुँदा एक्लैले तीन सिट जितेको कांग्रेस यसपटक भने लोकतान्त्रिक–वाम गठबन्धन हुँदा कमजोर देखिएको छ। कांग्रेस कमजोर बन्नुमा उम्मेदवार दोहोरिरहनु, टिकट वितरणमा विभेद हुनु, पार्टीको १४ औँ महाधिवेशनको तुष बाँकी रहनु, पार्टी नेतृत्वले आफू अनुकूल ‘गुट’ लाई मात्रै प्रोत्साहित गर्नु जस्ता कारण रहेको कार्यकर्ता पंक्तिको बुझाइ छ।

‘भौगोलिक हिसाबमा पनि विभेद भयो। प्रत्यक्ष र समानुपातिकमा इटहरीलाई भेदभाव गर्दा समस्या देखियो। आरक्षण र समावेशिताका नाममा विभेद भयो। पार्टीको अधिवेशन निर्वाचन सकेपछि गर्नुपर्नेरहेछ भन्ने पनि सिकाइ रह्यो।’

कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साह भन्छन्, ‘स्थानीय तहको निर्वाचनमा टिकट दिने क्रममा वडा र पालिका तहमै भेदभाव गर्दा रिसिइबी देखाउने माध्यम भयो। त्यस कारण पनि हामीलाई असर परेको हो।’

उनले अघिल्लो निर्वाचनमा जसपासँगको गठबन्धनका कारण सहज भए पनि यसपटक जसपा गठबन्धनबाट छुट्टिनु र सुनसरीमा लोसपाले पनि आफ्ना उम्मेदवार उठाउँदा समस्या भएको सुनाए।

‘पार्टीको महाधिवेशनमा केन्द्रीय नेताहरू सुनसरीमा आउनुभयो, इगो साँधेर जिल्ला तहका नेतासँग समन्वय पनि गर्नुभएन,’ साहले भने, ‘पार्टी अधिवेशन र स्थानीय तहको निर्वाचनमा वितरण भएको टिकटको रिस पोख्ने ठाउँ अहिलेको चुनाव भयो। ठाउँठाउँमा अन्तर्घात पनि भयो।’

पुरानै उम्मेदवार दोहोर्‍याउँदा समस्या भएको हो? भन्ने प्रश्नमा उनले भने, ‘अघिल्लो निर्वाचनमा देशभरबाट २३ जनाले जित्दा सुनसरीकै तीनजना हुनुहुन्थ्यो, पार्टी उमेरले मात्रै पनि चल्दैन, अनुभवले पनि चल्छ।’

उनले प्रदेशमा नयाँ अनुहार उठाएर प्रतिनिधिसभामा पुरानै अनुहार दोहोर्‍याउनु स्वाभाविक रहेको बताए। अब देशभरको समानुपातिकको पनि नतिजा आएपछि पार्टीले वडा तहदेखि नै समीक्षा बैठक राख्ने र अन्तर्घात गरेको पुष्टि भए कारबाही गरिने उनले बताए। उनले भने, ‘पार्टीको समीक्षा बैठक चाँडै हुन्छ। अन्तर्घात गरेको पुष्टि भए पार्टीको विधानअनुसार कारबाही हुन्छ।’

अधिवक्तासमेत रहेका नेपाली कांग्रेस सुनसरीका नेता रमेश पोखरेल भन्छन्, ‘गठबन्धनले गर्दा वैचारिक शुद्धता भएन। अर्को कुराचाहिँ उही उम्मेदवार दोहोरिँदा कार्यकर्तामा निराशा छायो।’
उनले इटहरी ठूलो क्षेत्र भए पनि यहाँबाट प्रदेश र प्रतिनिधिसभामै प्रत्यक्ष र समानुपातिक दुवै पदका लागि पार्टीले उम्मेदवार नदिएका कारण समस्या भएको सुनाए।

‘भौगोलिक हिसाबमा पनि विभेद भयो। प्रत्यक्ष र समानुपातिकमा इटहरीलाई भेदभाव गर्दा समस्या देखियो,’ उनले भने, ‘आरक्षण र समावेशिताका नाममा विभेद भयो। पार्टीको अधिवेशन निर्वाचन सकेपछि गर्नुपर्नेरहेछ भन्ने पनि सिकाइ रह्यो।’

संघीय सांसद नै पार्टीको अधिवेशनमा वडा तहमै क्षेत्रीय प्रतिनिधि चयनदेखि ‘लाइन’ का नाममा पार्टीलाई सिध्याउन लागिपरेको उनको बुझाइ छ। ‘लाइनका नाममा क्षेत्रीय प्रतिनिधि समेत सांसदले वितरण गर्दा पार्टी मास्नतर्फ उन्मुख भएको भन्ने सिकाइ भयो,’ पोखरेलले सुनाए, ‘भ्रातृसंस्था परिचालन नसक्नुले चुनावमा हार व्यहोर्नुपरेको हो।’

प्रकाशित: १८ मंसिर २०७९ १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =