नेपाल उद्योग परिसंघको ‘बजेट वाच’ सुरु

हिमाल प्रेस १८ मंसिर २०७९ १२:५१
6
SHARES
नेपाल उद्योग परिसंघको ‘बजेट वाच’ सुरु

काठमाडौँ- बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी क्षेत्र संवादको रूपमा नेपाल उद्योग परिसंघ (सीएनआई)ले ‘बजेट वाच’ सुरु गरेको छ।

सरकारले ल्याएको वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनमार्फत् लिइएका लक्ष्य हासिल गर्न रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ यो पहल सुरु गरिएको हो।

‘बजेट वाच’को सुरुवात गर्दै मुख्यसचिव डा. शंकरदास बैरागीले समग्र मुलुकको विकासका लागि उद्योग क्षेत्रको विकास अपरिहार्य भएको बताए। ‘नीतिगत सुधार गर्न निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेका छौँ,’ उनले भने, ‘सरकारले लिएका योजना तथा कार्यक्रम सही दिशामा छ कि छैन भन्नेमा इमानदारिताका साथ हेर्नुपर्छ।’ अर्थतन्त्र सहज अवस्थामा नभएको भन्दै उनले त्यसबारेमा सरकार जानकार रहेको भन्दै अर्थतन्त्र सुधारका लागि आत्मविश्वास बढाउनुपर्ने बताए।

चालु आर्थिक वर्षको बजेटमा उद्योग व्यवसाय, भूमि, नवप्रवर्तन, प्रत्यक्ष वैदेशिक लगानी, मेक इन नेपालः स्वदेशी, ऊर्जा, निर्यात प्रर्वद्धन, कृषि, पूर्वाधार, सूचना प्रविधिसँग सम्बन्धितलगायत ५५ वटा बुँदाका बजेट शीर्षक पहिचान गरिएको छ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेट राम्रो आउने तर कार्यान्वयन कमजोर हुने गरेको सन्दर्भमा परिसंघले निजी क्षेत्रको तर्फबाट पनि बजेटको सफल कार्यान्वयनका लागि यो पहल सुरु गरेको बताए।

‘परिसंघले दिएका सुझावमध्ये ४० प्रतिशत बढी चालु आर्थिक वर्षको बजेटमा समावेश भएका छन्,’ उनले भने, ‘समावेश भएका विषयहरूको पूर्ण कार्यान्वयन गर्दै मुलुकलाई औद्योगीकरणमा लैजानुपर्ने आवश्यकता छ।’

‘बजेट वाच’ कार्यक्रमबाट वार्षिक बजेट कार्यान्वयनको प्रभावकारिताका लागि निजी क्षेत्रबाट सहयोगीको भूमिका तथा रचनात्मक सहयोग हुने, बजेट कार्यान्वयन र न्यून पुँजीगत खर्चको निराशाजनक प्रवृत्तिमा सुधार आउने विश्वास परिसंघले लिएको छ।

प्रकाशित: १८ मंसिर २०७९ १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =