सकियो नाटक महोत्सव

हिमाल प्रेस १८ मंसिर २०७९ १२:३१
8
SHARES
सकियो नाटक महोत्सव

काठमाडौँ- ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट)’ को दोस्रो संस्करण सम्पन्न भएको छ। मंसिर ९ देखि सुरु भएको नाटक महोत्सव मंसिर १७ सम्म चलेको थियो।

‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च  : विविधताको उत्सव’ नारामा साथ आयोजना गरिएको महोत्सवमा १३ देशका १८ वटा नाटक मञ्चन भएका थिए।

नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे, कम्बोडिया र अर्जेन्टिनाका नाट्य समूह सहभागी भएका थिए।

महोत्सवमा नाटक प्रस्तुतिसँगै विभिन्न तालिम, सेमिनार, कार्यशालालगायत पनि भएका थिए।

महोत्सव समापन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मालगायत उपस्थित थिए।

अर्थमन्त्री शर्माले समाजका घटना तथा कथा भन्ने नाटक आफैँमा महत्त्वपूर्ण रहेको बताएका थिए। ‘नेपाली नाटक क्षेत्रले छोटो अवधिमा धेरै विकास गरेको छ,’ उनले भने, ‘अभिनय, लेखन र प्रस्तुतिबाट रंगकर्मीले दर्शकको ध्यान आकर्षित गरिरहेका छन्।’

रंगमञ्चजस्तो ठूलो क्षेत्रमा सरकारको आँखा अहिलेसम्म नपुगेको अर्थमन्त्री शर्माको भनाइ थियो। ‘रंगकर्मीले आवश्यक सहयोग पाउन सकेका छैनन्,’ उनले भने, ‘जुन मैले महसुस गरेको छु। आगामी दिनमा आवश्यक सहयोग गर्नेछु।’

महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा मण्डला थिएटर र नाटक महोत्सवकी निर्देशक सिर्जना सुब्बाले खुसी व्यक्त गरिन्। महोत्सवमा सहभागी रंगकर्मी, दर्शकलगायत सबैको आभार प्रकट गरिन्।

महोत्सव समापनको अवसरमा ‘रंगमञ्च अभिनय र फिल्म अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो। जसमा दयाहाङ राई, खगेन्द्र लामिछाने, मीन भाम, सुरक्षा पन्तलगायत कलाकारले छलफल गरेका थिए।

महोत्सवका समापन समारोहमा दयाहाङ राईको निर्देशन रहेको नाटक ‘कुभिण्डोको कथा’ मञ्चन भएको थियो।

प्रकाशित: १८ मंसिर २०७९ १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 19 =