स्याङ्जा २ मा कांग्रेसका गुरुङ निर्वाचित

हिमाल प्रेस १७ मंसिर २०७९ २१:३३
1.6k
SHARES
स्याङ्जा २ मा कांग्रेसका गुरुङ निर्वाचित

पोखरा– स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सत्तागठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ निर्वाचित भएका छन्। शनिबार सम्पन्न अन्तिम मतपरिणाममा निकटतम् प्रतिष्पर्धी नेकपा एमालेकी पद्मा अर्याललाई ५६ सय बढी मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन्।

यससँगै स्याङ्जा २ मा संघसहित प्रदेशसभामा कांग्रेसले जित निकालेको छ। क्षेत्र २ (क) मा भोजराज अर्याल र क्षेत्र २ (ख) मा महेश भट्टराई निर्वाचित भएका छन्।

पहिलो पटक प्रत्यक्षमा चुनाव लडेका धनराज गुरुङले अर्याललाई ५ हजार ६ सय २७ मतान्तरमा पराजित गर्दै निर्वाचित भएका हुन्।

उनले ३१ हजार ४ सय ६६ र अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङ ८ हजार १ सय १३ मत ल्याउँदै तेस्रो स्थानमा सीमित बनेका छन्। ०७४ सालको निर्वाचनमा वामगठबन्धनबाट चुनाव लडेकी अर्यालले त्यसबेला कांग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। केपी ओली नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री रहेकी अर्याल ०७४ अघि समानुपातिक सांसद थिइन्।

यस्तै प्रदेशसभातर्फ कांग्रेसका महेश भट्टराईले एमालेका डा. बुद्धिमान श्रेष्ठलाई पराजित गरेका छन्। क्षेत्र २(क) मा भोजराजले शुक्रबार नै एमालेका मोहन रेग्मीलाई २ हजार बढी मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भइसकेका छन्।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएको १० दिनपछि मात्र स्याङ्जा २ मा गणना हो। कांग्रेसले फर्जी मत खसालेको आरोप लगाउँदै एमालेले विरोध प्रदर्शन गरेपछि यस क्षेत्रको मतगणना रोकिएको थियो।

कांग्रेसले पनि मुचुल्का भई निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको मतपेटिका खोलेर गणना गर्न दबाब दिँदै आएको थियो। निर्वाचन आयोगको टोलीले यहाँ अनुगमन गरेर मत गणना गर्ने निर्णय गरेपछि बुधबार रातिदेखि मात्र गणना सुरु भएको हो।

वालिङ नगरपालिकाको सभाहलमा मतगणना भएको हो। स्याङ्जा २ को गणना सकिएपछि गण्डकीमा प्रतिनिधिसभाका १८ र प्रदेशसभाका २६ निर्वाचन क्षेत्रको मतगणना पूरा भएको छ।

गण्डकी प्रदेशसभामा कांग्रेसले १८, एमालेले १२ र नेकपा माओवादी केन्द्रले ५ सिट जितेको छ। यस्तै १ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन्।

प्रकाशित: १७ मंसिर २०७९ २१:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =