कांग्रेस संसदीय दलमा शेखर कोइराला लड्दै

चन्द्रशेखर अधिकारी १७ मंसिर २०७९ १९:०४
5.2k
SHARES
कांग्रेस संसदीय दलमा शेखर कोइराला लड्दै

काठमाडौँ– नेपाली कांग्रेसको संसदीय दलको नेतामा डा. शेखर कोइराला लड्ने संकेत देखिएको छ। १४ औँ महाधिवेशनमा इतर समूहबाट जबरजस्त उदाएको धारलाई सशक्त बनाउनुपर्ने उनी निकटस्थ सांसदहरूले दिएको सुझावका आधारमा कोइराला चुनाव लड्ने मनस्थितिमा पुगेका हुन्।

१४ औँ महाधिवेशनअघि देउवा इतर धारको नेतृत्व रामचन्द्र पौडेलले गर्दै आएका थिए। महाधिवेशनमा सभापतिका लागि देउवासँग निर्वाचनमा प्रतिस्पर्धा गरेर सम्मानजनक मत ल्याएपछि इतर समूहको नेतृत्व शेखर कोइरालाले गर्दै आएका छन्। कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले पनि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्। संसदीय दलमा शेरबहादुर देउवा आफैँ अगाडि बढ्ने सुनिश्चित छ।

देउवाले आफ्ना विभिन्न संयन्त्रमाफर्त प्रधानमन्त्रीका लागि गठबन्धन दलसँग छलफल जारी राखेका छन्। संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रावधान छ। कांग्रेसमा तेस्रो धार जन्माउनु भन्दा पनि पार्टीभित्रको शेखर कोइराला–गगन थापा धार बलियो बनाउन देउवासँग कोइराला नै लड्नु आवश्यक रहेको उनी निकट एक सांसदले बताए।

कोइरालाले देउवालाई १४ औँ महाधिवेशनमा धौधौ पारेको हुनाले उनी दोस्रो वरीयतामा छन्। ती सांसदले भने, ‘हुन पनि कोइराला पार्टी संगठनको विभिन्न तहमा पुगिसक्नुभएको छ। संगठनका नसानसामा पुगेर उहाँलाई जानकारी लिइसक्नुभएको छ। त्यसैले उहाँलाई अघि बढाउन लागिएको हो।’

कोइराला संसदीय दलको चुनावमा उठ्दा देउवा पक्षधरका सांसदले पनि उनलाई साथ दिने अपेक्षा गरिएको छ। अन्य नेतालाई अवसर दिए कोइराला पक्षधरकै कतिपयले भोट नदिने भएकाले पनि कोइराला आफैँ उठ्नुपर्ने देखिएको ती नेताको बुझाइ छ। ‘यसलाई कतिपयले समयको माग पनि भनिरहेका छन्,’ कोइराला निकट ती सांसदले भने।

उनका अनुसार कोइराला समूहबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २२ सदस्य विजयी भएका छन्। समानुपातिकमा पनि कोइराला समूहबाट आठभन्दा बढी नै संख्यामा सांसद आउने ती नेताले बताए। न्यूनतम ३० सांसद कोइराला पक्षका हुने आकलन छ। प्रत्यक्षमा ५७ र समानुपातिकमा ३० सिट ल्याएमा प्रतिनिधिसभामा कांग्रेसको ८७ सिट हुन्छ।

कम्तीमा ६ जना सांसद देउवा वा कोइराला कुनै समूहमा पनि खुलेका छैनन्। कोइराला मैदानमा उत्रिएमा ती सांसदले उनलाई नै साथ दिने अपेक्षा गरिएको छ। त्यसैले कम्तीमा पनि ३५ मत आफ्नो पक्षमा आउने कोइराला समूहको आकलन छ। त्यसो भएमा कांग्रेस संसदीय दलमा वैकल्पिक धार सशक्त भइरहने कोइराला समूहका नेताहरूको दाबी छ। अहिलेको गणनामा यो करिब ४५ प्रतिशत हो। एक नेता भन्छन्, ‘कांग्रेसभित्र ४५ प्रतिशतको बलियो धार लिएर शेखर–गगन समूह सक्रिय हुँदा देउवा एक्लैले पेलेर निर्णय लिन सक्ने अवस्था हुँदैन।’

तर आफू संसदीय दलमा लड्ने विषयमा कोइरालाले औपचारिक रूपमा कुनै धारणा बाहिर ल्याएका छैनन्। ती नेता भन्छन्, ‘भित्रभित्र छलफल भइरहेको छ।’

यसैबीच कोइरालाले महामन्त्री थापालाई नेतृत्व लिने विषयमा हतार नगर्न आग्रह गरेका छन्। शुक्रबार भएको भेटमा कोइरालाले यस्तो आग्रह गरेका हुन्। यसबाट संसदीय दलको नेतामा गगन थापा उठे पनि कोइरालाले छाड्ने छैनन्। यसबाट तेस्रो धार स्थापित हुन नसक्ने कोइराला समूहको बुझाइ छ।

ती नेता भन्छन्, ‘निर्वाचनमा जाँदैमा थापा नेता हुन्छन् भन्ने छैन। तर कोइराला नजाँदा १४ औँ महाधिवेशनको म्यान्डेट अलपत्र पर्ने भएकाले उहाँ अघि बढ्न आवश्यक छ।’

सबैको दबाब परेपछि थापा पछि हट्ने दाबी कोइराला निकट एक सांसदले गरे।  उनले भने, ‘वैकल्पिक धारको स्वर बलियो बनाइराख्न पनि कोइराला निर्वाचनमा जानैपर्छ।’ कोइरालाले भने दिन नजिकै आएपछि संसदीय दलको नेतामा लड्ने घोषणा गर्ने मनस्थिति बनाएका छन्।

कोइरालालाई उधृत गर्दै ती सांसदले भने, ‘अहिले यस विषयमा बोल्दा आलोकाँचो हुन्छ। नतिजा पूरै आइसकेकपछि छलफल गरेर निर्णय लिने विषय हो। लहडमा निर्णय गर्ने विषय होइन।’

यसलाई कतिपयले शेखर र गगनको गठबन्धन तोड्ने योजनाका रुपमा व्याख्या गरेका छन्। त्यसो हुँदा देउवालाई सहज हुने अनुमान पनि छ। तर कोइराला युवालाई लिएर अघि बढ्ने निष्कर्षमा पुगिसकेका छन्।

हुन पनि उनलाई अहिले बधाई‌ दिने सूचीमा देउवा पक्षधरकै लर्को बढी देखिन्छ। प्रवक्ता प्रकाशशरण महतदेखि अन्य नेताहरूबाट कोइराला घेरिएका छन्।

कांग्रेस निकट केही बुद्धिजीवीहरूले गगनलाई अघि बढाएर कोइराला अभिभावक बन्नुपर्ने सुझाव दिइरहेका छन्। पार्टीको नेतृत्व कोइरालाले गर्नुपर्ने प्रस्ताव उनीहरूको छ। कोइराला निकट सांसदरूले भने आफ्नो शक्ति कायम राख्नका लागि भए पनि निर्वाचनमा लड्नैपर्ने सुझाव दिएका छन्। दुवै खाले सुझाव लिएर मौनजस्तै रहेका शेखरले निर्वाचनको सबै नतिजा सार्वजनिक भएपछि धारणा सार्वजनिक गर्ने बताइएको छ।

लामो समय गिरिजाप्रसाद कोइरालाको राजनीतिक सल्लाहकार रहेर काम गरेका कोइराला प्रत्यक्ष रूपमा राजनीतिमा संलग्न भएपछि कुशल संगठकका रूपमा चिनिएका व्यक्तित्व हुन्। चौधौँ महाधिवेशनपछि उनले कांग्रेसभित्र विशेष छवि निर्माण गरेको दाबी गरिँदै आएको छ।

उनी निकट कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘त्यो छवि बचाउनुपरेको छ। कांग्रेसमा पार्टीभित्र केही सुधारको पहलकदमी संसदीय दलको नेताबाट हुन सक्छ। त्यसैले संसदीय दलको जिम्मेवारी कोइरालाले लिन आवश्यक छ।’

कोइराला अघि सर्दा महामन्त्री थापाको भूमिका के त भन्ने प्रश्नमा ती पदाधिकारीले भने,  ‘कोइरालाले पार्टीमा आफ्नो तयारी गर्नुपर्छ। गगनले पार्टीलाई सुदृढीकरण गराउन सक्रिय हुनुपर्छ।’

शेखर–गगन समूह भनिए पनि संगठन विस्तारमा शेखरकै बढी योगदान रहेको ती नेता बताउँछन्। उनी भन्छन्, ‘कोइराला कम बोल्नुहुन्छ। तर बोलेपछि उहाँलाई पूरा गर्नैपर्छ। त्यसैले उहाँ संसदीय दलको नेतामा उठ्ने निश्चित छ।’

कोइराला यतिबेला राष्ट्रिय राजनीति र कांग्रेस राजनीति दुवैतर्फ रुचाइएका व्यक्ति भएको ती नेता बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म मन्त्रीसमेत नभइकन दल बनाउनुपर्छ भनेर लाग्नुभएको छ। दल बनाउन लाग्दा उहाँले अघिल्लो निर्वाचनमा आफूले हारेको समेत पत्तो पाउन सक्नु भएन।’ यसपटक भने कोइराला निर्वाचित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =