समानुपातिक मत : एक करोड तीन लाख गणना गर्दा एमालेको २७ लाख बढी मत

हिमाल प्रेस १७ मंसिर २०७९ ७:५५
24
SHARES
समानुपातिक मत : एक करोड तीन लाख गणना गर्दा एमालेको २७ लाख बढी मत

काठमाडौँ- मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। शनिबार बिहान साढे ७ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ। पछिल्लो परिणाम अनुसार गणना भएको १ करोड ३ लाख ९२ हजार ९३४ सदर मतमा एमालेले २७ लाख ७९ हजार ८६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत ल्याएको छ। नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ। यस्तै, ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ लाख ८६ हजार २७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाउँदै छौटौँ स्थानमा छ। जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मतसहित सातौँ, नेकपा एकीकृत समाजवादी २ लाख ९४ हजार ८३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ।

अन्य दलले १ लाखभन्दा बढी मत कटाएका छैनन्। यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो। राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ।

प्रकाशित: १७ मंसिर २०७९ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =