निर्वाचन कानुन चाँडै संशोधन हुन्छ : प्रमुख आयुक्त थपलिया

हिमाल प्रेस १६ मंसिर २०७९ १७:४२
6
SHARES
निर्वाचन कानुन चाँडै संशोधन हुन्छ : प्रमुख आयुक्त थपलिया

काठमाडौँ– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मौजुदा निर्वाचन कानुन चाँडै संशोधन हुने बताएका छन्।

हालै सम्पन्न निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृतलगायत कर्मचारी, सुरक्षा निकायमा जिल्ला प्रमुखललाई धन्यवाद दिन जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘वर्तमान निर्वाचन कानुनसँग हामी सन्तुष्ट छैनौँ। हामी अब छिट्टै कानुन संशोधनको प्रक्रिया अघि बढाइनेछ,’ उनले भने।

आगामी संसद्को नयाँ अधिवेशनमा कानुन संधोशनले प्रवेश पाउनेसमेत थपलियाले बताए।

हालै सम्पन्न निर्वाचनले मुलुकमा उच्च राजनीतिक संस्कार स्थापित गरेको पनि उनले बताएका छन्।

निर्वाचनको निष्ठा कायम राख्न आयोगले गरेका अधिकांश अपेक्षा पूरा भएको उनको भनाइ छ।

उनले निर्वाचन अधिकृतहरुले उत्कृष्ट ढंगले काम गरेको भन्दै धन्यवाद दिँदै काम गर्दा केही अप्ठ्यारा आएका भए सुधारका लागि सुझाव दिन आग्रह गरे।

विभिन्न कारणले निर्वाचनलाई दूषित पार्ने मनसाय बोकेका व्यक्तिले मिथ्या सूचना, दुष्प्रचार र द्ववेशपूर्ण अभिव्यक्तिको माध्यमबाट निर्वाचनलाई अप्ठ्यारो पार्ने कार्यलाई नजिकबाट नियमन गर्न यसपटक सफल भइरहेको पनि उनले बताए।

अब भौतिक रूपमा वा सडकबाट मात्रै नभई सामाजिक सञ्जालमार्फत् पनि निर्वाचन प्रभावित गर्न नपाइने मान्यता स्थापित भएको उनले उल्लेख गरे।

निर्वाचनमा पराजितले विजेतालाई सहर्ष बधाई दिनसक्ने वातावरण बनाउनुपर्छ भन्ने मान्यता पनि यस पटकदेखि स्थापित भएको थपलियाको भनाइ छ।

‘हामीले नेपालमा ०४८ सालदेखिको निर्वाचन देख्दै आएका छौँ। पछिल्लो पटक सबैले निर्वाचन खर्चिलो र भड्किलो भयो भन्ने सुनियो,’ उनले भने, ‘यस कारण हामीले निर्वाचनमा यसपटक कुनै पनि पद पैसा, पहुँच र पाखुराको भरमा नभई नीति, सिद्धान्त, विचार, निष्ठा र प्रतिबद्धताले जित्नुपर्छ भन्ने स्थापित गर्‍यौं।’

प्रकाशित: १६ मंसिर २०७९ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + six =