देउवाको आकांक्षा : पहिलो अढाई वर्ष आफू अनि प्रचण्ड प्रधानमन्त्री

चन्द्रशेखर अधिकारी १५ मंसिर २०७९ १९:४२
1.1k
SHARES
देउवाको आकांक्षा : पहिलो अढाई वर्ष आफू अनि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ– कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो साढे दुई वर्ष आफूले मुलुकको नेतृत्व गर्ने आकांक्षा देखाएका छन्। देउवाले गठबन्धनका नेताहरू र आफू निकटका पार्टी नेताहरूसँगको अनौचपचारिक कुराकानीमा यस्तो अकांक्षा देखाएका हुन्। ‘सत्ता गठबन्धन करिब बहुमतमा छ। पार्टीगत रूपमा कांग्रेस सबैभन्दा ठूलो पार्टीको हैसियतमा छ। त्यसैले अढाई वर्ष म प्रधानमन्त्री बन्न पाउनुपर्छ’, देउवालाई उधृत गर्दै उनी निकट कांग्रेसका एक नेताले भने।

आफूले गठबन्धनको बहुमत आउने गरी निर्वाचन सम्पन्न गराएको र निकै कमजोर बनेको कांग्रेसलाई ठूलो दल बनाएकाले पनि फेरि नेतृत्व गर्न पाउनुपर्ने दाबी देउवाको छ। गठबन्धनमा भएको सहमतिअनुसार त्यसपछिको अढाई वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव देउवाको छ।

तत्काल युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न देउवा तयार देखिएका छैनन्। उनले युवालाई आलाकाँचा कुरा नगर्न पनि निर्देशन दिएका छन्। युवाले चलाउँदा पहिले फ्रान्स र अहिले युक्रेनमा अस्थिरता उत्पन्न भएको विषयलाई उदाहरणका रूपमा अघि सार्दै देउवाले पार्टी अनुशासनमा रहन नेताहरूलाई निर्देशन दिएका हुन्। लोकतान्त्रिक विधिबाट नेतृत्वमा आउनु स्वाभाविक रहेको देउवाको भनाइ छ। उनले भन्ने गरेका छन्, ‘नेतृत्वमा लोकतान्त्रिक विधिबाट आउने हो। कुनै मास वा हुलले निर्णय लिने होइन।’

कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगन थापालगायत अन्य नेताले पनि प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको विषयलाई देउवाले सकारात्मक रूपमा लिएका छन्। तर अहिलेको जनादेश त्यस्तो नरहेको दाबी उनको छ। देउवाले भनेका छन्, ‘नेतृत्वमा पुग्न रहर गर्नु राम्रो हो। तर अहिलेको म्यान्डेट युवालाई नेतृत्व गर्न दिने प्रकारको छ त?’ सभापति देउवाले चुनावमा निर्वाचित युवा, पुराना नेता र कसले कतिको अन्तरमा जितेका छन् भन्ने विषयमा समीक्षा गर्नुपर्ने बताएका छन्।

देउवाको भनाइ उधृत गर्दै ती नेताले भने, ‘युवा-युवा भनेर मात्रै हुन्छ। हामी सातौँ पटक उठ्दा हारेर आउनुपर्ने! युवाहरू मसँगै उठेका थिए त? खै उनीहरूलाई पत्याएको? जनताले युवालाई मात्रै पत्याउने भए म, रामचन्द्रजी, शेखरजी, अन्य दलका प्रचण्डजी, माधवजी, ओलीजी सबैले चुनाव हानुपर्ने होइन?’ हल्ला गर्ने र पार्टीमा नेतृत्व गर्ने फरक विषय भएको देउवाको भनाइ छ।

उनले सचिवालयका सदस्य र निकटस्थहरूसँग भन्ने गरेका छन्, ‘पहिलो अढाई म (आफू) प्रधानमन्त्री हुने हो त्यसपछि गठबन्धनबाट प्रचण्डजी प्रधानमन्त्री बन्नुहुनेछ।’ यस विषयमा सहमति नहुने अवस्था आए कांग्रेसले अर्को विकल्पबाट पनि सरकारको नेतृत्व गर्न सक्ने देउवाको भनाइ छ। अर्को विकल्प के हो भन्नेबारेमा देउवाले केही खुलाएका छैनन्।

राष्ट्रपति बन्न बाह्य शक्तिको सुझाव

बाह्य शक्तिले कांग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनेर मुलुकको अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिएका छन्। भारत, अमेरिका र केही युरोपेली मुलुकका कूटनीतिक प्रतिनिधिहरूले उनलाई यस्तो सुझाव दिएका हुन्। देउवालाई राष्ट्रपति र पहिलो अढाई वर्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउनुपर्ने सुझाव उनीहरूको छ।

देउवाले आफू कांग्रेसको निर्वाचित सभापति रहेको र खुम्चिएको दललाई उकासेर अहिलेको अवस्थामा ल्याएकाले आलंकारिक पदमा नजाने स्पष्ट पारेका छन्। तर पाँच पटक प्रधानमन्त्री भइसकेका र दुइ पटक पार्टी सभापति भएका देउवालाई राष्ट्र प्रमुख उपयुक्त स्थान रहेको सुझाव कूटनीतिक र नेपाल भित्रका केही राजनीतिक व्यक्तिको समेत छ। उनी राष्ट्रपति भएमा दुई कार्यकाल राष्ट्र प्रमुख रहन सक्ने अवस्था रहन्छ भने पूर्व राजालाई उनले दिएको टक्कर पनि पुरा हुनेछ।

शेखरको मौनताले देउवालाई नै फाइदा!

संसदीय दलको नेताका विषयमा कांग्रेस नेता डा. शेखर कोइरालाले अहिलेसम्म सार्वजनिक अभिव्यक्ति दिएका छैनन्। महामन्त्री थापाले आफूलाई आगामी प्रधानमन्त्रीका रूपमा दाबी गर्नु, नेताहरू प्रकाशमान सिंह तथा शशांक कोइराला पनि प्रधानमन्त्रीको उपयुक्त पात्रका रूपमा अघि सर्नु र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आकांक्षा देखाउनुजस्ता कारणले देउवालाई सहज हुने देखिएको छ।

पार्टीबाट प्रधानमन्त्रीका लागि जति धेरै नेताहरूले आकांक्षा देखाउँछन् देउवालाई त्यति नै फाइदा हुने बुझाइ उनी निकट नेताहरूको छ। ती नेताका अनुसार चुनाव जितेर आउनेमध्ये ५५ प्रतिशतभन्दा बढी देउवा निकटकै नेताहरू रहेकाले संसदीय दलमा उनलाई फाइदा हुने देखिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियार भन्छन्, ‘कांग्रेस सभापति र मुखमा आएको प्रधानमन्त्री छोडेर राष्ट्रपति हुने कुरा आउँदैन। राष्ट्रपति बन्ने अवसर त पछि पनि आउँछ। तर ठूलो पार्टीको प्रमुख र प्रधानमन्त्री पद छोडेर राष्ट्रप्रमुखमा जाने कुरा हुँदैन।’ अरू कुनै नेतालाई राष्ट्रपति बनाएर कार्यकारी भूमिकामा पहिलो अढाई वर्ष देउवा आफैँ रहने दाबी परियारको छ।

उनी भन्छन्, ‘विभिन्न कोणबाट कुरा भइरहेका छन्। अनेक अडकलबाजी पनि भएका छन्। अब पनि देउवा नै प्रधानमन्त्री हुने हो।’ कांग्रेसको सुन्दर पक्ष भनेकै विभिन्न कोणबाट बहस गर्नु रहेको परियारको भनाइ छ। उनी भन्छन्, ‘निर्णय सहमतिमै हुन्छ। त्यसैले यसमा बहस गर्न आवश्यक छैन।’

गठबन्धनमा आबद्ध कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनमोर्चालगायतको मत जोड्दा बहुमत हाराहारी हुन्छ। यमा केही साना दल वा स्वतन्त्र दलका सांसदलाई समेट्ने हो भने सरकार गठनमा सहज हुन्छ। राजनीतिशास्त्रका प्राध्यापक हरि शर्मा पार्टीले नयाँ धार खोजेकाले त्यसतर्फ जानैपर्ने बताउँछन्। उनी भन्छन्, ‘कांग्रेस ठूलो जस्तो लागेको छ। तर सोचेजस्तो ठूलो भएको छैन।’ उनले सबै स्थानमा उम्मेदवारी दिएको भए समानुपातिकमा कांग्रेसको धेरै मत आउन सक्ने बताए।

प्रकाशित: १५ मंसिर २०७९ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =