सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता

बाँकी मुद्दा टुंग्याउनेबारे छलफल

हिमाल प्रेस १५ मंसिर २०७९ ५:५५
सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता वार्तामा सहभागी नेकपा र सरकारी पक्षका प्रतिनिधि।

काठमाडौँ– सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। यसअघि दुई पक्षबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा वार्ता भएको हो।

बिहीबार दिउँसो सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको वार्तामा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, निवर्तमान कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव विनोदप्रकाश सिंह सहभागी छन्।

यस्तै नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी छन्।

वार्तामा नेकपासँग सम्बन्धित मुद्दा चाँडो टुंग्याउन अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

गत भदौ २१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेकपासँगका गृह प्रशासनमा बाँकी रहेका मुद्दा प्रशासनिक एवम् राजनीतिक प्रक्रियाबाट टुंग्याउने र अदालती प्रक्रियामा पुगेका मुद्दालाई मौजुदा कानुन संशोधन गरेर भए पनि टुंग्याउने निर्णय भएको थियो।

सोही निर्णयको कार्यान्वयन प्रगति र कार्यान्वयनको आगामी अवस्थाबारे प्रवक्ता प्रकाण्डले चासो रखेको बताइएको छ। ती निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सरकारी पक्षको भनाइ छ।

सरकारका तर्फबाट मन्त्री खाणले नेकपाका नेताहरूसँग भएको सहमतिका आधारमा उक्त निर्णय कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

‘सरकारको निर्णय कार्यान्वयन गर्न प्रतिबद्ध छौँ,’ खाणले भने, ‘प्रशासनिक तवरबाट हुने केही निर्णय भइसकेका छन्। अदालती प्रक्रियामा गएका मुद्दाहरूबारे पनि प्रक्रिया अगाडि बढिसकेको छ। निर्णयअनुसार कार्यान्वयन हुन्छ।’

विभिन्न समयमा मानव हत्या, हिंसा, आतंक, लुटपाट, अपहरणजस्ता विभिन्न मुद्दा लागेका नेकपाका नेता र कार्यकर्ताहरू हाल देशका विभिन्न कारागारमा कैद भुक्तानी गरिरहेका छन्।

तिनै मुद्दाहरूमा सफाइको माग राखेर नेकपाका शीर्ष नेताहरूले सरकारसँग वार्ता जारी राखेका छन्।

०७७ फागुन ३० मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबीच तीन बुँदे सहमति भएपछि नेकपा शान्तिपूर्ण मुलधारको राजनीतिमा आएको हो। नेकपासँग तत्कालीन सरकारले सोही सहमति कार्यान्वयन गराउन नेतहरू क्रियाशील रहँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =