विश्वकपमा अर्जेन्टिना विजयी हुँदा बंगलादेशमा र्‍याली

हिमाल प्रेस १५ मंसिर २०७९ १४:०६
20
SHARES
विश्वकपमा अर्जेन्टिना विजयी हुँदा बंगलादेशमा र्‍याली

ढाका- अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेपछि बंगलादेशमा समेत खुसीयाली मनाइएको छ। समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्यान्डलाई हराएपछि अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरेको थियो। यो खेल सकिनसाथ बंगलादेशका फुटबल समर्थक सडकमा निस्किए।

राजधानी ढाकास्थित ढाका विश्वविद्यालयमा विश्वकपका खेल देखाउन ठूला ठूला पर्दा टाँगिएका थिए। त्यहाँ अवकास प्राप्त प्राध्यापक तथा कर्मचारीदेखि बालबालिकासम्मले अर्जेन्टिनाको खेल हेरे। यो खेल सकिएपछि विश्वविद्यालयभित्र खुसीयाली मनाइयो।

एएफपीलाई त्यहाँका स्वयसेवीले बताए अनुसार विश्वविद्यालयभित्र करिब १२ हजारसम्मले विश्वकप हेर्नमिल्ने व्यवस्था मिलाइएको छ।

बंगलादेशमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो। तर फुटबल मन पराउनेको संख्या पनि उल्लेखनीय छ। तीमध्ये अधिकांश दक्षिण अमेरिका र युरोपका टिम पछ्याउँछन्। लाखौँ बंगलादेशी जारी विश्वकपमा अर्जेन्टिना र कप्तान लियोनल मेस्सीलाई समर्थन गरिरहेका छन्।

‘सानो हुँदादेखि नै घरमा अर्जेन्टिनाको खेल हेरिन्थ्यो। बुवाले अर्जेन्टिना राम्रो टिम हो भन्नु हुन्थ्यो। पछि हुर्कदैँ जाँदा अर्जेन्टिनाबारे थाहा हुँदै गयो। मेस्सीको खेल मन पर्न थाल्यो। अब एउटै चाहना भनेको मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताउन् भन्ने हो,’ विश्वविद्यालय परिसरमा भेटिएका तावसिफ इमरानले भने।

मेस्सी पेनाल्टीमा गोल गर्न चुक्दा समर्थक शान्त रहे। तर जब एलेक्सिस म्याक एलिस्टरले गोल गरे तब पटका पड्काइयो। बुबुजुएलाको आवाजले विश्वविद्यालय गुञ्जियाे। ‘आशा छ यसपालि हामी विश्वकप च्याम्पियन बन्नेछौँ,’ अर्जेन्टिनाका समर्थक अर्का बंगलादेशी शामसुल अरेफिनले भने।

जुलियान अल्भारेजको गोलपछि त मोटरसाइकलका आवाज आउन थालिसकेका थियो। खेल सकिएपछि तिनै मोटरसाइकल सडकमा निस्किए।

बंगलादेशमा अर्जेन्टिना जत्तिकै लोकप्रिय ब्राजिल पनि छ। ब्राजिल र अर्जेन्टिनाका समर्थक कुन टिम राम्रो भन्ने बहसमा भिडिरहेका हुन्छन्। कतिपय अवस्थामा यस्ता बहस झगडामा रुपान्तरित हुन्छ।

‘म ब्राजिलको समर्थक हो। तर साथीहरुले मलाई यहाँ लिएर आए। अर्जेन्टिनाले जितेपछि मलाई माला लगाइदिए। आशा छ ब्राजिल र अर्जेन्टिना सेमिफाइनलमा भिड्नेछन्,’ विश्वविद्यालयमा भेटिएका स्थानीय व्यापारी रशिदुल इस्लाम भन्छन्।

विश्वकप चलिरहँदा ढाका सहरभर चहलपहल हुने गर्छ। जसकारण सडकमा खाजा तथा पेय पदार्थ बेच्ने व्यापारीदेखि रिक्साचालकसम्मले अरुबेला भन्दा बढी कमाइ गर्छन्। बंगालेशका गार्मेन्ट उद्योगले समेत योबेला जर्सी उत्पादन र बिक्री गरेर निकै आम्दानी गर्छन्।

‘सामान्यबेला भन्दा बढी कमाइ भइरहेको छ। यसको कारण जर्सी बिक्री हो,’ गार्मेन्ट उद्योग सञ्चालक हुमायुन काबिर भन्छन्।

एएफपीबाट

प्रकाशित: १५ मंसिर २०७९ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =