झलनाथले पार्टी बैठकमा भने- वैचारिक हतियार चुस्त पार्ने बेला आयो

हिमाल प्रेस १६ पुष २०७९ १७:२५
24
SHARES
झलनाथले पार्टी बैठकमा भने- वैचारिक हतियार चुस्त पार्ने बेला आयो फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई थप क्रान्तिकारी रूपमा अघि बढाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको १४ औं बैठकलाई सम्बोधान गर्दै खनालले उक्त निर्देशन दिएका हुन्।

सम्मानित नेता खनालले क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि आवश्यक पर्ने राजनैतिक तथा वैचारिक हतियार चुस्त पार्दै पार्टी सञ्‍चालनका सबै विषयमा वृहत्त समीक्षा गर्नुपर्नेमा जोड दिए।

बैठकमा अध्यक्ष माधव नेपालले पार्टीलाई नयाँ शिरावाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक छलफल गर्न आग्रह गरेका छन्। नेपालले पार्टीको शक्ति सुढृढीकरणका लागि सशक्त एजेन्डाका साथ देशव्यापी अभियानमा जाने तयारी गर्नसमेत कार्यकर्तालाई निर्देशन दिए।

महासचिव डा. वेदुराम भुसालले संगठन निर्माण र पूनर्ताजगीका लागि पेस गरेको प्रस्तावमाथि बैठकमा छलफल भएको छ। बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, पार्टी निर्माणको दिशा, पार्टी निर्माणको आगामी दृष्य, वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, संगठन निर्माणका योजना र वामपन्थी एकतासँग सम्बन्धित विषयमा विविध कोणवाट छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

अहिलेसम्म १६ जना नेताहरूले आ-आफ्ना धारणा राखेका छन्। बैठक आइतबार (भोलि) बिहान ११ बजेवाट पुन सञ्चालन हुने बताइएको छ। माधव नेपालको अध्यक्षतामा बसेको बैठकलाई महासचिव भुसालले सञ्चालन गरेका हुन्।

प्रकाशित: १६ पुष २०७९ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =