अपर अरुण आयोजना प्रभावितलाई मुआब्जा वितरण सुरु

हिमाल प्रेस १६ पुष २०७९ १५:३९
8
SHARES
अपर अरुण आयोजना प्रभावितलाई मुआब्जा वितरण सुरु फाइल तस्बिर।

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ।

अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका २, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए।

अप्पर अरुण आयोजनाका लागि भोटखोलामा २ हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ। १ हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढाइएको छ।

आयोजनाले प्रभावित क्षेत्रका ३ सय ३५ घरपरिवारलाई मुआब्जा वितरण गरिने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए।

उनका अनुसार हालसम्म भोटखोला २ हटियाका १५ घरपरिवारलाई करिब साढे ४ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ।

उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया ६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया ६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ। जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो।

यस्तै हटिया ८, ९ र चेपुवा–१ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ तथा ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी ७ लाख कायम गरिएको छ।

आयोजना निर्माणकार्य २ वर्षपछिदेखि सुरु हुने भएको छ। आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा २ र ४ मा हुनेछ। सरकारको स्वामीत्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो।

जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्बभन्दा बढी छ। सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ। हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ।

प्रकाशित: १६ पुष २०७९ १५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 18 =