आगलागी पीडितलाई फुटबल संघको राहत संकलन अभियान

हिमाल प्रेस १६ पुष २०७९ ८:४३
2
SHARE
आगलागी पीडितलाई फुटबल संघको राहत संकलन अभियान

खोटाङ- जिल्ला फुटबल संघ खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ राहत संकलन अभियान सुरु गरेको छ।

यही पुस ४ गते साँझ बाक्सिला बजारमा भएको आगलागीमा फुटबल संघका जिल्ला उपाध्यक्ष समिर राई र बाक्सिला फुटबल क्लब बाक्सिलाका सचिव पवन श्रेष्ठसमेत पीडित भएपछि जिल्ला फुटबल संघले राहत संकलन अभियान सुरु गरेको हो।

बाक्सिला बजारका दीपक गुरुङको घरमा विद्युत् सर्ट हुँदा सुरु भएको आगोले डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, रमेश परियार र अकबर राईको घर जलेर नष्ट भएको थियो। सो आगलागीमा फुटबल संघका उपाध्यक्ष एवं गाउँपालिका प्रमुख राईको एक करोड २५ लाख रुपैयाँ र बाक्सिला फुटबल क्लबका सचिव श्रेष्ठको २० लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

अभियानअन्तर्गत हालसम्म १४ दाताबाट एक लाख ४२ हजार दुई सय रुपैयाँ राहत संकलन भइसकेको फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिए। आगलागी पीडितका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा समाजसेवी हटमिलन राईले एक लाख एक हजार एक रुपैयाँ सहयोग गरेका छन्।

फुटबल संघका अध्यक्ष राईले दश हजार एक, सुमन पुमाले पाँच हजार, कमल चाम्लिङले पाँच हजार, काजीमान राईले पाँच हजार, प्रकाश राई ‘पिके’ले तीन हजार, विनोद तिरुवाले तीन हजार, हिरन राईले दुई हजार, सनम राई ‘जोजो’ले दुई हजार, रोशेस श्रेष्ठले दुई हजार, अमर श्रेष्ठले एक हजार एक सय, मनोज थापले एक हजार एक सय, गंगाबहादुर विश्वकर्माले एक हजार र पर्शुराम विश्वकर्माले एक हजार सहयोग गरेका छन्। संकलित रकम केही समयपछि अग्नी पीडितलाई हस्तान्तरण गर्ने अध्यक्ष राईले बताए।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो । आगलागी पीडित परिवार अहिले पनि आफन्तकामा आश्रय लिएर बसिरहेका छन्।

बाक्सिला बजारका आगलागी पीडितका लागि विभिन्न संघसंस्थाले पनि राहत संकलन अभियान सञ्चालन गरिरहेको जनाइएको छ । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा विभिन्न संघसंस्था सम्मिलित समितिले सञ्चालन गरेको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम संकलन गरेको उद्योग वाणिज्य संघ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताएका छन्।

 

प्रकाशित: १६ पुष २०७९ ८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =