चितवनको सरकारी विद्यालय, जहाँ भर्ना हुन लिइन्छ प्रवेश परीक्षा

हिमाल प्रेस १५ पुष २०७९ १८:२५
4
SHARES
चितवनको सरकारी विद्यालय, जहाँ भर्ना हुन लिइन्छ प्रवेश परीक्षा

चितवन– साठी वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ। अध्ययनका लागि विद्यार्थीको संख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका-१० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ।

०२० साल जेठ ६ गते ४ विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार ५ सय ७० विद्यार्थी अध्ययनरत छन्। गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३दशमलव ०५ प्रतिशत अंक प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो।

हिरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ। विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार ४ वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ ‘नारायणी रात्रि हाई स्कुल’ नाम राखी यो विद्यालय स्थापना गरिएको हो। दिनभर कामले व्यस्त उमेर छिप्पिएका युवाहरूले बेलुका ५ देखि ९ बजेसम्म अध्ययन गर्ने गरेका थिए।

बिजुलीको अभावमा लालटिन, मइन्टोल र टुकीबत्ती बालेर पढ्नुपर्ने अवस्था थियो,’ उनले भने। त्यसबेला प्रौढ वा युवा अवस्थाका विद्यार्थीको पठनपाठनको नतिजा शुन्य नै थियो। रात्रिकालीन समयमा सोचेजस्तो नतिजा नआएपछि ०३७ मा विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गरियो।

बिहानी सत्रमा विद्यालय सञ्चालन गरे पछि ०३८ मा पनि विद्यालयको प्रवेशिका परीक्षा शून्य प्रतिशत नै भयो। बिहानी सत्रबाट ०४५ सालमा बिहान १० देखि बेलुका ४ बजेसम्म पठनपाठन सुरु भयो।

सञ्चालन शैलीमा केही परिवर्तन भएकाले विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार हुँदै गएको प्राचार्य दवाडीको भनाइ छ। ०४९ सालदेखि यस विद्यालयलाई व्यवस्थित ढंगले अगाडि बढाउन सामूहिक प्रयत्न र पहल भएको हो।

बिहान ९ : ५० देखि अपराह्न ४ : ३० सम्म पढाउने, अतिरिक्त अंग्रेजी/गणित पढाउने, प्रवेश परीक्षा लिनेलगायत योजनाका साथै लगबुक, गृहकार्य डायरी, दैनिक पाठ योजना आदिको व्यवस्था गर्दै ०५७ सालमा आइपुग्दा जिल्लाकै प्रथम विद्यालयका रूपमा आउन सफल भएको तत्कालीन प्रअ टेक थापाले बताए।

यस्तै उत्तीर्ण अंक ४० गर्ने, शिक्षकलाई अध्यापनमा प्रतिबद्ध गराउने, नतिजाको विश्लेषण गरी सार्वजनिक गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउने पनि उनले जानकारी दिए।

‘०५७ देखि हालसम्म यो विद्यालय जिल्लाको उत्कष्ट स्थानमै छ र ०६८ देखि राष्ट्रिय मूल्यांकनसमेत विद्यालय उत्कृष्ट हुँदै आएको छ,’ वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका उनले भने।

०७८ सालको कक्षा १० को एसइई परीक्षामा सर्वाधिक जीपीए (तीन दशमलव छ भन्दा माथि ४ जीपीएसम्म) ल्याउने ९३ विद्यार्थी यसै विद्यालयका थिए भने एकजनाले ४ जीपीए प्राप्त गरेको थियो।

कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, डिआइटी, प्री-डिप्लोमाको कक्षा सञ्चालन गरिएको छ। हाल दृष्टिविहीन र बौद्धिक अपांग गरी दुवै अपांग एकाइसमेत सञ्चालित छन्। दृष्टिविहीन ३२ र आवासीय ३४ जना बौद्धिक अपांग डे-बोडर्सका रूपमा अध्ययनरत छन्।

भौतिक व्यवस्थापनमा विद्यालय सबल छ। हरियाली, फूलबारी, सरसफाइलगायतमा विद्यालयले निकै ध्यान दिइएको पाइन्छ। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरलाई शैक्षिक क्षेत्रमा देशकै नमुना महानगरका रूपमा विकास गर्ने काममा यो विद्यालय कोसेढुंगा सावित भएको बताए।

यहाँका विद्यालय व्यवस्थापन समिति, शिक्षकशिक्षिका, विद्यार्थी र अभिभावकको मिहिनेतका कारण विद्यालय उत्कृष्ट बनेको भन्दै उनले थप गुणस्तर विकासमा जुट्न उनले आग्रह गरे।

महानगरभित्रका अन्य विद्यालयले पनि यो विद्यालयको सिको गरेर गुणस्तर सुधारमा लाग्नुपर्ने महानगरप्रमुख दाहालको सुझाव थियो। विगत ६० वर्षमा जुन उपलब्धि प्राप्त भएको छ। यसले यहाँको शैक्षिक अवस्थालाई देशभर चिनाउन सकेको चर्चा गर्दै उनले निरन्तरको मिहिनेतले नतिजा आउँछ भन्ने प्रमाण यो विद्यालयले दिएको बताए।

प्रकाशित: १५ पुष २०७९ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nine =