तराई-मधेशमा शीतलहरबाट बालक वृद्धवृद्धा बढी प्रभावित

हिमाल प्रेस १४ पुष २०७९ २१:१३
4
SHARES
तराई-मधेशमा शीतलहरबाट बालक वृद्धवृद्धा बढी प्रभावित फाइल तस्बिर।

जनकपुरधाम– तराई-मधेसका जिल्लामा बाक्लो कुहिरोसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ। पश्चिम दिशाबाट चलेको चिसो हावाले अत्यधिक जाडो बढेपछि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन्।

चिसोले बालबालिकामा निमोनियाको समस्या बढेको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक एवम् वरिष्ठ बालरोग विशेषज्ञ डा. प्रमोद यादवको भनाइ छ। रुघा खोकी, निमोनियाजस्ता समस्याबाट पीडित भएर अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढेको बताइएको छ।

चिसो बढेपछि बिहानीपखको चहलपहलमा कमी आएको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले बताए। चिसोबाट जोगिन ठाउँठाउँमा आगो बालिएको जनकपुरधाम उपमहानगरपालिका-१६ का परमेश्वर साह बताउँछन्।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आजको तापक्रम आठ डिग्रीमा झरेको र अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन भएको छ। चिसो बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको श्री जनता माविका शिक्षक वीरेन्द्र यादव बताउँछन्। ‘कतिपय विद्यालयमा अर्धवाषिक परीक्षा चलेकाले विद्यार्थी परीक्षाका लागि आएका छन्,’ उनले भने।

मधेस प्रदेशमा रहेका अतिविपन्न वर्गका व्यक्तिलाई पर्याप्त मात्रामा लुगाफाटा तथा ओढ्ने ओछ्याउने कपडा नभएकाले समस्यामा परेका दलित अभियन्ता रामप्रित दास बताउँछन्। कुहिरोले जनकपुरधाम-काठमाडौँ र काठमाडौँ-जनकपुरधाम विमान सेवा आंशिकरूपमा प्रभावित बनेको बुद्ध एयरका जनकपुरधाम प्रमुख विजय सिंहले बताए।

प्रकाशित: १४ पुष २०७९ २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =