नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

हिमाल प्रेस १४ पुष २०७९ ७:५०
6
SHARES
नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन्।

मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी राम्रो आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन्।

चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ। नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताए।

‘स्थानीय कृषकहरुबाट खरिद र आफ्नै बगैचाको दश हजार किलोग्राम सुन्तला टिपेर चिस्यान गृहमा राखेको छु,’ उनले भने, ‘चैत–बैशाखको बेसिजनमा बजारमा सुन्तला पठाउने तयारी छ।’ गुरुङले आफ्नै बारीमा फलेका र अन्य कृषकको सुन्तला खरिद गरेर भण्डारण गरेको बताए।

अहिले प्रतिकिलो ६० देखि ७० रुपैयाँका दरले बिक्री भएको सुन्तला चैत–बैशाखसम्म राख्दा प्रतिकिलो १६० रुपैयाँ देखि २०० सम्म बिक्री हुन्छ। याममा राम्रो मूल्य र बजार नपाउने भएपछि नारच्याङका कृषकहरुले यसअघि फागुन सम्म सुन्तला बोटमै राख्ने गरेका थिए।

समयमा फल नटिप्दा उत्पादकत्व र बगैँचा व्यवस्थापनमा समस्या भएको थियो। कृषकले समयमै सुन्तला टिप्न, भनेको मूल्यमा बेच्न र बजार पाएका स्थानीय टक पुनले बताए। धेरै समय बोटमा फल लाग्दा हावाहुरीले क्षति हुने समस्या पनि हटेको छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत सुन्तलाको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) कार्यक्रमको सहयोगमा स्थापना भएको दस हजार किलोग्राम क्षमताको सो चिस्यान गृहमा यसपाली पहिलो पटक सुन्तला भण्डारण गरिएको हो।

सुन्तलाको भण्डारण सफल भएमा स्याउ, आलु र अन्य तरकारी भण्डारण गर्ने सञ्चालक गुरुङको योजना छ । चिस्यानगृहको भवनमा फलफुल र तरकारीलाई ताजा बनाइराख्ने अनुकुलित हावापानी बनाउन विद्युतबाट चल्ने उपकरण जडान गरिएको छ।

चिस्यानगृह बनाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको बेनी स्थित सुन्तला जोन कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा १३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। कुल २१ लाख रुपैयाँ खर्च भएको भएको चिस्यानगृहको पूर्वाधार र उपकरण खरिदमा सञ्चालकले आठ लाख रुपैयाँ भन्दा बढी लगानी गरेको बताए।

सुन्तला जोनका कृषि अधिकृत विक्रम बस्यालले नारच्याङमा म्याग्दी जिल्लामै पहिलो पटक आधुनिक चिस्यानगृह निर्माण भएको बताए। उनका अनुसार परियोजना मार्फत पछिल्लो तीन वर्षमा म्याग्दी, बाग्लुङ, पर्वत र मुस्ताङमा फलफुल भण्डारणका लागि ७ वटा चिस्यानगृह निर्माण भएका छन्।

चालु आर्थिक वर्ष २०७९÷८० मा ४ वटा चिस्यानगृह स्थापना गर्ने लक्ष्य छ।

प्रकाशित: १४ पुष २०७९ ७:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =