जलविद्युत्‌काे केन्द्र बन्यो कालीकोट

हिमाल प्रेस १२ पुष २०७९ १५:०४
8
SHARES
जलविद्युत्‌काे केन्द्र बन्यो कालीकोट

कालीकोट- भौतिक विकासका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युतको केन्द्र बनेको छ। कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण हुने भएका छन्।

कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णालीलगायत सानाठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोला छन्। ४२० मेगावाटको तिला–१, ४४० मेगावाटको तिला–२, ४८० मेगावाटको फुकोट कर्णाली र १६ मेगावाटको पादमघाट जलविद्युत् आयोजनाले निर्माणका लागि ऊर्जा मन्त्रालयबाट अनुमति पाएका छन्। यी सबै आयोजना बनेमा कालिकोटबाट मात्रै १५५६ मेगावाट विद्युत् उत्पादन हुनेछ।

४८० मेगावाट विद्युत् उत्पादन क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए)का लागि स्वीकृति भइसकेको छ। यो आयोजना निर्माणको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको ऊर्जा उत्पादन कम्पनी लिमिटेडले लिएको छ।

आयोजनाको विस्तृत डिजाइन, अध्ययन, आयोजनाका लागि जग्गा अधिग्रहण र मुआब्जा वितरणको काम पूरा भइसकेको आयोजना प्रमुख हिरामान वाइवाले जानकारी दिए। उनका अनुसार लगानीको ‘मोडालिटी’ भने तय हुन बाँकी छ। आयोजनाका लागि ९२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। निर्माण थालेको पाँच वर्षमा आयोजना पूरा गर्न लक्ष्य राखिएको छ।

आयोजनाका लागि १ हजार ७५ रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म करिब १ हजार रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाले जनाएको छ। आयोजनाबाट कालीकोट जिल्लाका पचालझरना गाउँपालिका, रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका र खाँडाचक्र नगरपालिका प्रभावित हुनेछन्।

तिला–१ र २ जलविद्युत् आयोजनाको क्षमता ८६० मेगावाट क्षमता छ। खाँडाचक्र नगरपालिका–२ मा तिला–१ जलविद्युत् आयोजना निर्माण हुनेछ भने तिलागुफा नगरपालिका–५ खल्लामा तिला–२ जलविद्युत् आयोजना बन्नेछ।

दुवै आयोजनाको निर्माणको जिम्मा एससी पावर कम्पनीले कम्पनीले लिएको छ। नेपाल विद्युत् प्राधिकरणको तिला–१ र तिला–२ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौताका लागि समझदारी भइसकेको छ। दुवै आयोजनाको ईआईए र आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ।

कालीकोटमा उत्पादन भएको विद्युत् निकासीका लागि ४०० केभी प्रसारण लाइन निर्माण हुने भएको छ। कालीकोटदेखि दैलेख–सुर्खेत हुँदै कैलालीको लम्कीसम्म प्रसारण लाइन जडान हुने भएको हो। प्रसारण लाइन निर्माणका लागि करिब रु १६ अर्ब लगानी लाग्ने प्राधिकरणले जनाएको छ। ठूला आयोजना निर्माण सुरु भए पनि दर्जनौँ लघु जलविद्युत् आयोजना भने अलपत्र अवस्थामा छन्।

तिलागुफा नगरपालिका फाइमहादेव नाग्मगाडस्थित ५७ किलोवाट, नरहरिनाथ गाउँपालिकाको माल्कोटको ३० किलोवाट क्षमताको उच्छव खोला लघुजलविद्युत् आयोजना, ३० किलोवाट क्षमताको तिलागुफा नगरपालिकाको छाप्रेस्थित वालिगाड खोला लघु जलविद्युत् आयोजना, तीन किलोवाट क्षमता भएको चिल्खायाको घट्टेखोला लघुविद्युत् आयोजना मर्मतसम्भारको अभावमा बन्द भएका छन्।

त्यस्तै ३० किलोवाट क्षमताको कालिका गाउँपालिकाको हाउडीगाड लघु जलविद्युत् आयोजना, ३० किलोवाटको बालिगाड खोला लघु जलविद्युत् आयोजनालगायत दर्जनौैँ आयोजना रकम अभावका कारण सञ्चालनमा आउन सकेका छैनन्।

शुभकालिका गाउँपालिकाकै घट्टेगाड जलविद्युत आयोजना (१८ किवा), थिर्पुगाड जलविद्युत् आयोजना (२० किवा), साना लघुजलविद्युत् आयोजना (१५ किवा), नरहरिनाथ गाउँपालिकाको माल्कोट लघु लघुजलविद्युत् (३० किवा) आयोजनाहरु काम अगाडि बढेको भए पनि रकम अभावका कारण पूरा भएका छैनन्।

हाल ५०० किलोवाटको सान्नीगाड साना जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ। महावै गाउँपालिकाको गेलास्थित ७० किलोवाट क्षमताको भ्याकुनेगाड जलविद्युत् आयोजना, पचालझरना गाउँपालिकाको ७० किलोवाटको लाफा गाउँ लघुजलविद्युत् आयोजना, ५० किलोवाट क्षमता भएको शुभकालिका गाउँपालिकाको भर्तागाड लघुजलविद्युत् आयोजना पनि सञ्चालनमा आउन सकेका छैनन्।

यस्तै भर्ता, तिलागुफा नगरपालिकाको एक सय किलोवाट क्षमता भएको बच्चुगाड लघुजलविद्युत् आयोजना चिल्खाया, ७० किलोवाट औलाखोला लघुजलविद्युत् आयोजना खिन, ५२ किलोवाट क्षमता भएको बालीगाड लघुजलविद्युत् आयोजना सुकाटिया अलपत्र अवस्थामा रहेका छन्। -रासस

प्रकाशित: १२ पुष २०७९ १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =