कार्यकर्तालाई निराश नबन्न कांग्रेस नेता डा. शेखर कोइरालाको आह्वान

हिमाल प्रेस ११ पुष २०७९ १८:१४
286
SHARES
कार्यकर्तालाई निराश नबन्न कांग्रेस नेता डा. शेखर कोइरालाको आह्वान

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भनेर निराश नहुन आह्वान गरेका छन्। उनले सोमबार वक्तव्य जारी गर्दै यस्तो आह्वान गरेका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘साथीहरूमा तत्कालका लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वाभाविक होइन। साथीहरु निराश हुनुपर्ने कुनै कारण छैन।’ उनले अब आफूहरू निरन्तर संवाद र सम्पर्कमा रहँदै नेताकार्यकर्ताको घरआँगनमा आउने आश्वासन दिएका छन्। उनले भनेका छन्, ‘किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्वसमक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ।’

कोइरालाले कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्ने पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘कांग्रेस केन्द्रदेखि प्रदेश सबैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात् आएको छ। यसबाट हामी निराश हुने छैनौँ यहाँबाट हामी सबैको परीक्षा सुरु भएको ठानी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ।’ यस्तै उनले पार्टीको गल्ती कमजोरीका लागि माफी माग्ने पनि प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘जनतासँग संवाद सुरु गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुट्नुको हामीसँग विकल्प छैन।’

सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको र थप सशक्त भएर कांग्रेस सशक्तीकरण अभियानमा जुट्ने दृढसंकल्प पनि उनले व्यक्त गरेका छन्।

सरकारको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्तारोहण अपेक्षित नभए पनि संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नरहेको उनको भनाइ छ। उनले भनेका छन्, ‘यसलाई सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ।’

‘राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्त्वहीन ठानियो।’

उनले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन भन्ने प्रश्न गम्भीर रूपमा अगाडि आएको उनको भनाइ छ।। डा. कोइरालाले भनेका छन्, ‘हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आमनेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु।’

उनले कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको स्मरण गरेका छन्। उनले भनेका छन्, ‘राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्त्वहीन ठानियो।’

यस्तै गठबन्धनको प्रकरणमा कैयन् कांग्रेसजनको राजनीतिक हत्या भएको विषय बिर्सन नसक्ने भन्दै डा. कोइरालाले दुःख व्यक्त गरेका छन्। ‘विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो।’ यस्ता घटना नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो नरहेको उनको भनाइ छ। कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिनुपर्नेमा पनि उनले जोड दिएका छन्।

यस्तै उनले कांग्रेस संसद्को सबैभन्दा ठूलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको र गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदांगिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘हामीबीच रहेको सिद्धान्तभन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ। अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान् र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन।’

कोइरालाले संसद्को तेस्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई प्रधानमन्त्री नियुक्त भएकामा प्रचण्डलाई बधाई र शुभकामना दिएका छन्।

 

नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति कांग्रेस नेता शेखर कोइरालाको दृष्टिकोण

मिति  २०७९ पुस ११ गते

विज्ञप्ति

संविधानसभावाट जारी संविधान अन्तर्गत मुलुकमा दोश्रो आम निर्वाचनको माध्यमवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाललाई पाएको छ । सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।

संसदवाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।

संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन हाम्रो अगाडि यो प्रश्न गम्भीर रूपमा अगाडि आएको छ । हामीले यसको चित्तबुझ्दो जवाफ कांग्रेस कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत सबै आम नेपाली माझ दिनुपर्छ भन्ने मान्यता म राख्छु ।

कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको थियो । राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानियो ।

गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ। विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसवाट शिक्षा लिन सक्नुपर्छ ।

कांग्रेस संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि विपक्षमा पुगेको छ । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको छ । हामी बीच रहेको सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको छ । अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प छैन ।

साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन । साथीहरु निरास हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरुको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ ।

कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्दैछ । कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँवाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन ।

अन्तमा, सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ ।

जय नेपाल ।

डा.शेखर कोइराला

प्रकाशित: ११ पुष २०७९ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =