हेर्दा राम्रो माछापुच्छ्रे …

हिमाल प्रेस ११ पुष २०७९ १७:५६
10
SHARES
हेर्दा राम्रो माछापुच्छ्रे …

पोखरा– पोखराबारे थुप्रै गीत लेखिएका छन्, गाइएका छन्। गीतकै कारण पोखरा मानिसका हृदयहरूमा बसिरहन्छ। पोखरा, फेवाताल वा माछापुच्छ्रे सर्जकका सिर्जनामा आइरहन्छन्। नेपाल लिटरेचर फेस्टिभलमा ‘हेर्दा राम्रो माछापुच्छ्रे’ सेसनमा सजकर्ता दीपक परिवार कवि तीर्थ श्रेष्ठलाई पहिलो प्रश्न सोध्छन्, ‘काठमाडौँभन्दा बढी गीत पोखराबारे गाइएका छन्। साँच्चै ती गीतले पोखराको वास्तविक प्रतिबिम्बन गरेका छन्?’

कवि तीर्थ श्रेष्ठ भन्छन्, ‘एउटै गीतमा सिंगो पोखराको प्रतिनिधित्व हुन सक्दैन। कुनै गीतमा पोखराको प्राकृतिक सौन्दर्य र कुनै गीतमा सांस्कृति सौन्दर्य जोडिएको हुन्छ। कुनै गीतले इतिहास पनि जोडिदिएको छ। गीतले जिज्ञासालाई पनि जीवन्त बनाउने रहेछ।’

कार्यक्रममा कवि तीर्थ श्रेष्ठसँगै गायक धर्मेन्द्र सेवान र गायिका रज्नी ‘रिदम’राई पनि सहभागी थिए। तीर्थ गीतले इतिहासका कुरालाई कसरी जोड्छ भन्ने प्रसंगमा थप्छन्, ‘एउटा गीतमा ढुंगेसाउँको मेला बाँचेको छ। तर अहिले त्यो त बाँकी छैन नि।’

तीर्थ गीतले स्रष्टालाई पनि जीवन्त राखेको बताए। यद्यपि, पोखरालाई अझै लेखिन बाँकी रहेको उनी बताउँछन्। धर्मेन्द्र आफूले ०५५ सालमा ‘नेपाली तारा’ रियालिटी शो चल्दा पोखराले निकै माया गरेको सम्झन्छन्।‘भर्खर उदाएका युवा पुस्ताका कलाकारलाई पोखराले सधैं मञ्च प्रदान गरेको छ,’ उनी भन्छन्। धर्मेन्द्र आफूले ‘हेर्दा राम्रो माछापुच्छ्रे’ गाउँदा ‘पोखरेली कान्छो’भनेर पाउको माया कहिल्यै बिर्सन्नन्।

तर धर्मेन्द कामको शिलशिलामा काठमाडौँ छन्। तर उनलाई बस्ने रहर पोखरामै छ। ‘तर जता लागे पनि संगीतमा भने सधैं रहन्छु,’ उनी भन्छन्। दार्जिलिङबाट आएर पोखरामा कर्मथलो बनाएकी रजनी रिदम राई पोखराबारे गाएका गीतका कारण चर्चित छिन्। उनी आफू पोखरा आउँदा पहिलो पटक पाएको अवसरबारे सझिन्छिन्। आफू संघर्षरत् कलाकार हुँदा पहिलो पटक अवसर दिने सर्वज्ञमान शाक्यलाई सम्झन्छिन्। आफूले गाएको पहिलो गीतले नै अवार्ड दिएकोमा फुरुङग भएको उनी सम्झन्छिन्।

तीर्थलाई दीपक जिज्ञासा राख्छन्, ‘हरिदेवी कोइरालाकै पहिलो रेकर्डेड गीतमा बैदाम ताल सुन्छौँ। धेरैलाई बैदाम ताल र फेवातालको सन्दर्भ थाहा छैन। फेवा र बैदामको प्रसंग भनिदिनुस् न?’

फेवातालको पुरानो नाम हो बैदाम ताल। यहाँ तालनजिकै बदाम खेती हुने हुनाले बैदाम ताल नामाकरण गरिएको प्रसंग उनी कोट्याउँछन्। फेवाताल कसरी रहन गयो भन्ने कुरा अनुसन्धानको विषय रहेको तीर्थ बताउँछन्।

प्रकाशित: ११ पुष २०७९ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =