मीनेन्द्र रिजाल र घनश्याम भुसालसँग हारको चर्चा

हिमाल प्रेस ११ पुष २०७९ १७:५१
24
SHARES
मीनेन्द्र रिजाल र घनश्याम भुसालसँग हारको चर्चा

पोखरा– खेलकुद होस् वा राजनीति दुवैमा हार–जीतको प्रतिस्पर्धा रोचक हुन्छ। दुवैमा प्रायः जित्नेको चर्चा हुन्छ। तर नेपाल लिट्रेचर फेस्टिभलको अन्तिम दिन ‘हार्नेहरूको चर्चा’ भयो।  नेकपा (एमाले) पार्टी परित्याग गरी चुनाव लडेका घनश्याम भुसाल र चुनाव लड्ने अवसरबाट वञ्चित नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालको हार छलफलको मुख्य विषय बनेको हो। लेखक विजय कुमारले सञ्चालन गरेको यो सत्रमा उनले आफ्नो चिरपरिचित शैलीअनुसार सुरुमै घनश्याम भुसाललाई सोधे– ‘तपाईं अहिले के पार्टीमा हुनुहुन्छ घनश्यामजी?’

एक चरण दर्शक स्रोता हाँसिसकेपछि भुसालको जवाफ सुनियो, म ‘अहिले नेकपामा छु।’

अनि विजय कुमारले भने, ‘ए!’

त्यसपछि विजय कुमारले अर्का वक्ता रिजाललाई सोधे– तपाईं राजनीतिको कुन स्थानमा हुनुहुन्छ?

डा. रिजालले जवाफ दिए– ‘म पार्टीको निर्वाचनमा महामन्त्रीमा मज्जैले पराजित भएँ। रक्षामन्त्रीबाट राजीनामा गरेँ।’

दुवै नेताले पालैपालो आफ्नो हारलाई संघर्षका रूपमा व्याख्या गर्ने अवसर पाए। रिजालले भने, ‘हरेक मान्छे विजेता, हरेक मान्छे हार व्यहोर्छ। मैले पटक पटक संसद्मा हुँदा ओलीजीको प्रतिपक्षमा हुँदा भनेको थिएँ हारमा शानका साथ हार्न सक्नु भएन भने जितमा विनयशीलता भएन भने मानिस, मानिस हुन्न। आज फेरि भन्छु– ओलीजी प्रचण्डजी विनयशीलता नगुमाउनुस्।’

उनले राजनीति र चुनावमा जित्नेभन्दा हार्ने धेरै हुने टिप्पणी गरे। एउटा निर्वाचन क्षेत्रबाट फगत एक जनाले जित्ने भन्दै उनले भने, ‘चुनाव लड्न नपाएका पहिल्यै हार्छन्। चुनाव लडिसकेका पनि एक जनाबाहेक सबै हार्छन्।’

नेता भुसालले हारजीत एकदम बृहद् विषय भन्दै आफ्नो हार्ने स्वतन्त्रताको रक्षा गर्न सफल भएको दाबी गरे।

‘म हार्ने स्वतन्त्रताका लागि खडा भएको थिएँ। यो आज भन्दै छैन। एक वर्ष अगाडि सौराहामा हाम्रो महाधिवेशन भएको थियो। त्यहाँ हाम्रो अध्यक्षले लिस्ट पढेर सुनाउनुभयो र अब यहाँ कसैको कुनै विमति हुन सक्दैन भन्नुभयो,’ भुसालले भने, ‘मैले मञ्चमा गएर उहाँलाई विनम्रतापूर्वक भनेको थिएँ, यहाँबाट हामीले जितेर जान दिनुहुन्न तपाईंले। तर हामीलाई हाम्रो हार्ने स्वतन्त्रता चाहिँ दिनुस्।’

उनले हार्ने स्वतन्त्रताको रक्षा गर्ने क्रममा आफूले जितेको भन्दै आफूलाई ‘भाग्यमानी’समेत भने। छलफलमा राजनीतिमा साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर जित्नैपर्ने मूल्य स्थापित भएकोमा दुवै नेताले चिन्तासमेत व्यक्त गरे।

रिजालले यसबारे भने, ‘हामीले एउटा संस्कृति निर्माण गर्यौं त्यहाँ पुग्नै पर्छ। जसले जसलाई जतिबेला झुक्याएर पनि त्यहाँ पुग्नै पर्छ। हाम्रो भाष्य के थियो? नमिली जितिन्छ? एक्लै लडेर जितिन्छ? जित अन्तिम सत्य बन्यो हाम्रो। आज कांग्रेससँग जीत पनि छ, हार पनि छ।’

यही विषयमा नेता भुसालले पैसा, लोकप्रियता र विचारका लागि राजनीति गर्ने तीन थरी अभ्यास रहेको बताए। उनले राजनीतिमा पैसा कमाउन र चर्चा कमाएर शान देखाउनेहरू हाबी भएको टिप्पणी गरे। यसबाहेक विचार र मूल्यमा रहेर, त्यो मूल्यलाई समाजमा सम्प्रेषित गर्न राजनीति गर्नेहरू पनि सानो संख्यामा रहेको उनले बताए।

हारजीतमा केन्द्रित छलफलमा पछिल्लो राजनीतिक प्रकरणपछि नेता भुसालले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहको ट्विटबारे पनि आफ्नो धारणा पोखे।
मेयर शाहले नयाँ सत्ता समीकरणबारे ट्विटमा लेखेका थिए—

राजा फर्काउँछु भन्ने,
राजा चाहिन्न भन्ने,

राजा मार्छु भन्ने तीनवटै सरकारमा
हामी प्रजा सधैँ सास्तीमा ।

‘बालेनजीले त्यो ट्वीट किन गर्नुभयो उहाँलाई थाहा होला। केही छ भने क्रमशः अगाडि आउँलान्,’ उनले भने, ‘यदि छैन भने उहाँले छोटो कविता लेख्नुभयो त्यसमै सकियो।’

प्रकाशित: ११ पुष २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + six =