ओलीलाई ‘हिरो’ र आफैँलाई ‘जिरो’ बनाउने देउवाको एउटा भूल

चन्द्रशेखर अधिकारी ११ पुष २०७९ १९:०५
794
SHARES
ओलीलाई ‘हिरो’ र आफैँलाई ‘जिरो’ बनाउने देउवाको एउटा भूल एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर- दिपेश श्रेष्ठ/हिमाल प्रेस

काठमाडौँ- चेस (बुद्धिचाल) मा गोटी चाल्दा ‘स्टेप-स्टेप’ ख्याल गरिन्छ। एक स्टेप बिग्रियो भने खेल नतिजा आफ्नो पक्षमा आउन निकै कठिन हुन्छ। राजनीतिमा पनि त्यही हुँदो रहेछ भन्ने ज्वलन्त उदाहरण बनेका छन् कांग्रेस सभापति शेरबहादुर देउवा।आइतबार बिहानसम्म नेपालको राजनीति देउवाकै वरिपरि थियो। सायद उनले चेसमा क्यासल गर्ने भने झैँ चाल फेर्न जानेनन् र राजनीतिको केन्द्र बालकोट पुग्यो र बालकोटको साथमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवालाई चेक गरे। जहाँबाट देउवाले तीन वर्षअघिको अवस्थामा पुगेकाे महसुस गरे।

अनि फर्केर हेर्ने हो भने २०७७ पुसमा देउवाले पछिल्लो राजनीतिक चाल चल्न सुरु गरेका थिए, जति बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचन घोषणा गरेका थिए। त्यसकै विरोधमा देउवाले थालेको राजनीतिक ‘चालबाजी’ एक प्रकारले सफल हुँदै अगाडि बढेको थियो। उनको चालमा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले साथ दिएका थिए। स्थानीय, प्रदेश र संघको चुनावमा पनि यी दलको गठबन्धन कायमै रह्यो।

चुनाव सकिएर संघीय सरकार गठनमा पनि गठबन्धनले निरन्तरता पाउने नेताहरूको सहमति थियो। तर पुस १० गते एउटा ‘स्टेप ख्याल नगर्दा’ देउवाले मुखमै आउन लागेको शक्ति क्षणभरमै गुमाएका छन्। सोही कारण देउवा सोमबार बालुवाटारबाट बिदा भएर बूढानीलकण्ठ निवास फर्किएका छन्। यसै बेला अर्का खेलाडी एमाले अध्यक्ष केपी शर्मा ओली भने  नेपाली राजनीतिमा ‘हिरो’ बनेका छन्।

देउवा विश्वस्त थिए पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीसँग सहकार्य गर्न तयार हुँदैनन्। गठबन्धनको बैठक चलिरहँदा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले अब प्रचण्ड आफूहरूसँग सहकार्यका लागि आउने समय घर्किसकेको बताएका थिए।

ओलीले प्रचण्डको प्रधानमन्त्री हुने सपना लगभग सकिएको भन्ने अभिव्यक्ति क्यारमबोर्डमा ‘टंकी’ हानेझैँ भयो। अर्थात् ओलीको ‘टंकी’ देउवाले बुझ्न सकेनन्। न त उनका आसेपासेले बुझाउने प्रयास गरे। ओलीको भनाइमा देउवा थप विश्वस्त भएर प्रधानमन्त्री र राष्ट्रपति माओवादीलाई नदिने अडानमा रहिरहे। जब दाहाल आइतबार बालुवाटारको बैठक छाडेर बालकोटतर्फ लागे त्यसपछि देउवा छाँगाबाट खसेजस्तै भए।

कतिखेर गठबन्धन फुट्ला र नयाँ चाल चालौँला भनेर पर्खिरहेका ओलीले दाहाललाई करिब दुई वर्षपछि रातो कार्पेटमा स्वागत मात्रै गरेनन् सत्ता समीकरणको ‘कोर्स’ परिवर्तन गरिदिएर सत्ताको साँचो नै सुम्पिदिए। आफैँ बन्नुपर्छ भन्ने देउवाको अडान बुद्धिचालको ‘स्टेप’ भूल साबित भयो।

परिणामस्वरूप देउवाले संघ र सातै प्रदेशको सरकारमा नेतृत्व गर्न पाउने अवसर गुमाएका छन्। देउवाले आफ्नो घेराभित्रका केही पात्रहरूको कुरा मात्रै सुन्दा कांग्रेसको भागमा ‘हात लाग्यो शून्य’ भएको हो। यसै बेला सामाजिक सञ्जालमा भाइरल बनेको केपी ओलीले बाघचाल हेरिरहेको तस्बिरलाई सांकेतिक रूपमा उनको जितको रूपमा प्रस्तुत गरिएको छ।

हुन पनि अहिलेको सत्ता समीकरणको खेलमा ओली ‘हिरो’ भएका छन्। प्रचण्डलाई आफूले चाहेअनुसार गर्ने गरी प्रधानमन्त्री बनाएका ओलीले आफ्नो दल एमालेलाई प्रदेशमा पनि शक्तिशाली बनाएका छन्। यसमा देउवाको मात्र असफलता छैन यसमा देउवाको किचेन क्याबिनेटमा रहेका डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, रमेश लेखक र आरजु राणा पनि उत्तिकै जिम्मेवार छन्।

बढी जिम्मेवार त कांग्रेसका पदाधिकारी छन्। यसै सन्दर्भमा साथै स्थानीय निर्वाचनअघि नै कांग्रेस महामन्त्री गगन थापाले भनेको कुरा पनि स्मरणीय छ। थापाले भनेका थिए, ‘हामी प्रचण्डसँग मिलेर जानु हुँदैन। हामी एक्लै निर्वाचनमा जानुपर्छ।’ यस विषयमा नेतृत्वले ध्यान दिन सकेन या थापाले नेतृत्वलाई यसबारे सचेत गराउन सकेनन्, त्यो चासोको विषय छ।

राजनीति क्षेत्रका जानकारहरू प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई जे गरेका थिए अहिले शेरबहादुरलाई पनि त्यही गरेको टिप्पणी गर्छन्। दाहालले देखिने गरी खेल खेलिरहँदा आँखा चिम्लेर बस्ने सभापति देउवा र पार्टीका पदाधिकारीबाट कस्तो कांग्रेस खोज्ने भन्ने गम्भीर प्रश्न खडा भएको उनीहरूको बुझाइ छ।

कांग्रेस नेता अर्जनुनरसिंह केसीको विश्लेषण छ, ‘म नै पार्टी म नै राज्य हुँ भन्ने अहंकार, स्व:केन्द्रित निर्णय, चरम सत्तालिप्साको दूषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै पाँच दलीय गठबन्धन टुटेको छ।’ उनले सत्ता साधन मात्र रहेको र जनता नै सर्वोपरि साध्य र शक्ति रहेकाले अब कांग्रेस यही मूलमन्त्रमा हिँड्नुपर्ने तर्क गरेका छन्।

प्रधानमन्त्री प्रचण्डको शपथ ग्रहण समारोहमा सहभागी भएर शीतल निवासबाट बाहिरिँदै कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिर : दिपेश श्रेष्ठ/हिमालप्रेस

ओलीले सरकार जोगाउन नसकेर निर्वाचन घोषणा गर्दा कांग्रेसबाट देउवा सत्तामा पुगेका थिए। यसमा उनलाई प्रचण्डको साथ थियो। प्रचण्डले अहिले देउवाबाट त्यस्तै साथ खोजेका थिए। देउवाले अडान नछाडेपछि संसद्‌मा तेस्रो पार्टी रहेको माओवादी एमालेको साथ लिएर सत्ताको नेतृत्वमा पुगेको छ।

धेरैलाई लाग्न सक्छ, प्रचण्डले देउवालाई ‘साइड’ लगाएर तेस्रोपटक प्रधानमन्त्री बने। तर यसमा ‘किङमेकर’ बनेका छन् ओली। आफूले गरेको संसद् विघटनलाई सर्वोच्चले उल्टाइदिँदा खल्ती रित्तिएको जुवाडेजस्तै भएका ओलीले अब पाँच वर्षसम्म शक्तिमा रहने लगभग निश्चित भएको छ।

राजनीतिक मामिलामा कलम चलाउँदै आएका पत्रकार ध्रुव सिम्खडा ओलीको चाललाई कांग्रेसले बुझ्न नसकेको बताउँछन्। उनी भन्छन्, ‘पहिला गिरिजाप्रसादलाई प्रचण्डले जे गरे अहिले देउवालाई पनि त्यही गरे। अर्थात् अन्तिम समयमा आएर छोडिदिए। देउवाको अडानलाई उनले वास्ता गरेनन्।’

देउवा आसपास अलिकति पनि दूरदृष्टि राख्न नसक्ने मानिस नहुँदा कांग्रेसजनले शिर निहुराउनुपर्ने अवस्था आएको उनको बुझाइ छ। उनी भन्छन्, ‘राजनीतिक चाल बुझ्न सक्ने मानिस थिए भने त्यो अवस्था आउने थिएन।’ राजनीतिशास्त्री हरि शर्मा अरूको कुरा नसुन्ने र भित्रियाको कुरामा दंग पर्ने देउवाको बानी यति बेला घातक बनेको टिप्पणी गर्छन्। उनको प्रश्न छ, ‘सामान्य जोडघटाउमा समेत ध्यान नदिनेले कसरी पाँचपटक मुलुकको नेतृत्व गरेको होला भनेर घोत्लिन पर्ने भएको छ।’

शक्ति ओलीकै पोल्टामा

करिब एक दशकदेखि राजनीतिको केन्द्रमा रहँदै आएका छन् ओली। केही समय राजनीति देउवामा सरेको थियो। फेरि ओलीकै पोल्टामा गएको छ। अब फेरि कुनै पनि विषय अघि बढाउँदा ओली सम्झनुपर्ने भएको छ। ओली गिरिजाप्रसाद कोइरालाबाट प्रभावित नेता हुन्।

ओलीले उपप्रधान र परराष्ट्रमन्त्री हुँदा नेपालमा मात्र होइन विदेशमा समेत गिरिजाप्रसादको प्रशंसा गरेका थिए। भारतीय नाकाबन्दीका बेला ओलीले राखेको अडान पनि धेरै नेपालीको मानसपटलमा ताजै छ।ओलीका आगामी दिन सहज भने छैन। राष्ट्रपति र सभामुख पद एमालेको भागमा परेको छ।

त्यसका आकांक्षी धेरै छन्। यस्तै प्रदेशमा सरकार बनाएर आफ्नालाई व्यवस्थापन गर्नुपर्नेछ। यो दुवै कार्यमा उनलाई त्यति सहज छैन। किनकि सत्तामा सात दलसहित केही स्वतन्त्र सांसदको समेत समर्थन छ। ती सबैको स्वार्थ पूरा गर्ने जिम्मा पनि ओलीकै काँधमा पुगेको छ। तर पनि यतिबेला ओली नै नेपाली राजनीतिको हिरो साबित भएका छन्। समकालीन राजनीतिकर्मीले उनलाई निकै चलाख राजनीतिज्ञको संज्ञा दिन्छन्।

प्रकाशित: ११ पुष २०७९ १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =