राजनीतिमा पूर्वप्रधानमन्त्रीहरूले एकअर्कालाई धोका दिने बाहेक केही भएन : गगन थापा

हिमाल प्रेस ११ पुष २०७९ १५:१७
8
SHARES
राजनीतिमा पूर्वप्रधानमन्त्रीहरूले एकअर्कालाई धोका दिने बाहेक केही भएन : गगन थापा

पोखरा- अप्रत्यासित रूपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २४ घण्टा नपुग्दै पोखरामा नेपाली कांग्रेसका दुई महामन्त्रीले गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिट्‍रेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार वसन्त बस्नेतले संवादको सहजीकरण गरे।

पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई सुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’

‘केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्‍याङ चढेर अलि माथि पुगेको विश्वप्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप चढौँला भन्ठानेको एकैचोटि तल झरेजस्तो भयो,’ उनले भने,  ‘नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ।’

उनले आइतबार दिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुरेको बताए। उनले भने, ‘म पार्टीको महामन्त्री, निर्वाचित सांसद् म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको।’

अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भने, ‘जितेर पनि हारेर आएको हो। वर्ल्डकपमा सबैभन्दा गोल एम्बापेले हाने। एम्बापेले बुट जिते तर कप अर्कैले जित्यो। कांग्रेस त्यस्तै भयो जितेर पनि कप पाएन।’

कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गरे।

थापाले भने, ‘एउटा पूर्वप्रधानमन्त्रीले अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ। कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको। यो हेर्दा समान्य लाग्छ। हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या यही हो। सबै पार्टीमा एक जना व्यक्ति कब्जा जमाएर बसेको अवस्था छ।’

छलफलमा नेता थापाले आफूले पार्टीको केन्द्रीय बैठकमा पटकपटक निर्वाचनअघि गठबन्धन नगरौँ भनेको स्मरण गरे। उनले भने, ‘नगर्नुपर्ने गठबन्धन भएको थियो, भइसकेपछि कम्तीमा त्यसको धर्म पालना गर्नुपर्थ्यो।’

कार्यक्रममा दुवै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले निर्वाचन प्रणाली र संविधानमै सुधारको आवश्यकता औँल्याए।

छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्यो। जसको जवाफ थापाले दिए। उनले भने, ‘हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउने भन्नेबारे सोचिरहेका छौँ।’

यसैमा नेता शर्माले फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ। यो नेपाली कांग्रेसको लागि टर्निङ प्वाइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्याम्पियनलाई हराउँछौँ। हामी जित्छौँ।’

प्रकाशित: ११ पुष २०७९ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =