जित्दाजित्दै हारेका देउवा

हिमाल प्रेस १० पुष २०७९ १८:०२
520
SHARES
जित्दाजित्दै हारेका देउवा फाइल तस्बिर

काठमाडौँ- कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्ला दुई वर्षमा केही महत्त्वपूर्ण उपलब्धि हासिल गरे। पहिलो, झन्डै दुई तिहाइ नेतृत्वको नेकपा सरकार विघटन भएपछि संसद्मा रहेका २७५ सिटमध्ये ६३ सिट हुँदा पनि प्रधानमन्त्री बन्नु। दोस्रो, पार्टी सभापतिमा निर्वाचित हुनु। तेस्रो, आफैँ नेतृत्वको सरकारले स्थानीय तह एवम् आमनिर्वाचन सम्पन्न गराउनु, चौथो, निर्वाचनमा आफ्नै पार्टीलाई संघीय संसद्मा ठूलो दल बनाउनु र पाँचौँ. संसदीय दलको नेतामा विजयी हुनु।

७६ वर्षीय देउवाले आफ्नो राजनीतिक जीवनमा हासिल गरेका उपलब्धि छोटो अवधिमा सम्भवतः कमै नेताले मात्र प्राप्त गर्नेछन्। तर चुनाव सम्पन्न गराएर छैटौँ पटक प्रधानमन्त्री बन्ने प्रयासमा रहेका देउवा अन्तिम अवस्थामा आएर असफल भएका छन्। गठबन्धनमा आबद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई स्वीकार गर्न नसक्नु नै उनको भूल बनेको छ।

२०७८ असार २९ मा पाँचौँ पटक प्रधानमन्त्री बन्नुअघि दाहालसँग आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका देउवाले अहिले त्यसलाई पालना नगरेको माओवादी पक्षको आरोप छ। आइतबार बिहानसम्म माओवादीले अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका थिए। तर देउवा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नै राख्ने पक्षमा अडिग रहे। देउवासँग कुरा नमिलेपछि प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हात मिलाउन पुगे।

झन्डै साढे दुई वर्षपछि औपचारिक भेट भएको यी नेताबीच मिलेर जाने सहमति भएसँगै छैटौँपटक प्रधानमन्त्री बन्ने देउवाको सपना तत्कालका लागि अन्त्य भएको छ।

देउवाको मात्र आफू प्रधानमन्त्री बन्ने लालसाले यस्तो अवस्था आएको बुझाइ जानकारहरूको छ। राजनीतिशास्त्र प्राध्यापक कपिल श्रेष्ठ यसपटकको चुनावमा माओवादीसँग गठबन्धन गरेर जानु नै कांग्रेसको भूल थियो।

उनले भने, ‘कांग्रेसका पक्षमा जनलहर देखिएको थियो। कांग्रेस एक्लै चुनाव लडेको भए पनि अहिलेको भन्दा बढी सिट आउने थियो।’ यस्तै कांग्रेसभित्र आफैँ नमिल्दा पनि अहिले देउवाले उल्टो नतिजा व्यहोर्नुपरेको बुझाइ श्रेष्ठको छ। उनले भने, ‘अब शेरबहादुर देउवाको राजनीति सकिएको छ।’

यस्तो छ देउवाको राजनीतिक यात्रा

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यसअघि फेलो ट्राभलर देउवा तरुण दलका तत्कालीन महासचिव कमल चित्रकारसँगको संगतमा आएपछि प्रजातान्त्रिक धारमा आएका थिए। कम्युनिस्ट पार्टीको सदस्यता लिन लागेका व्यक्तिलाई फेलो ट्राभलर भनिन्थ्यो।

विद्यार्थी राजनीतिमा लागेपछि देउवा-नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र सभापति बनेका थिए। आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएका देउवा राजा ज्ञानेन्द्र शाहको शासनकालमा पनि भ्रष्टाचार अभियोगमा केही समय जेल परेका थिए।

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनीतिक प्रमुखको भूमिकामा थिए। २०४८ सालमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।

२०५१ सालको मध्यावधि निर्वाचनमा पनि डडेल्धुराबाट दोस्रोपटक निर्वाचित भएपछि देउवा संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने।

२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए। नेपालको संसदीय व्यवस्थामा कतिपय निकै आलोचित बनेका ‘पजेरो काण्ड’ लगायतका घटना भएका थिए।

देउवालाई इतिहासमै सबैभन्दा धेरै मन्त्री सामेल गरेर मन्त्रिपरिषद् गठन गर्ने व्यक्तिका रूपमा पनि चिनिन्छ। माओवादी ‘जनयुद्ध’ पनि देउवा प्रधानमन्त्री भएका बेला सुरु भएको थियो। २०५२ सालमा उनी प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए। त्यो पूरा नभएको फागुन १ गतेदेखि माओवादीले सशस्त्र विद्रोह थालेको थियो।

देउवा २०५६ सालमा तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। त्यसपछि उनी २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। सोही वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदच्युत गरेका थिए।

देउवालाई हटाएपछि राजाको प्रतिगमनविरुद्धको आन्दोलन चर्किएको थियो। आन्दोलन चर्किएपछि राजा ज्ञानन्द्रले देउवालाई ०६१ मा फेरि प्रधानमन्त्री बनाएका थिए। २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई फेरिहटाउँदै सक्रिय शासन सुरु गरेका थिए। त्यसपछि देउवामाथि शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो।

देउवाले उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका थिए। तर देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो। सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी रिहा भएका थिए।

उनी २०७९ को निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचत भएका हुन्। २०४८ सालयता डडेल्धुराबाट लगातार निर्वाचित हुँदै आएका छन्।

पार्टीको निर्णय उल्लंघन गर्दै तत्कालीन माओवादीविरुद्ध लगाएको संकटकाल थप्ने निर्णय गरेपछि २०५९ सालमा देउवा पार्टीको कारबाहीमा परेका थिए। त्यसपछि उनले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गरेका थिए। देउवाले २०६४ मा पार्टी एकता गरेका थिए।

प्रकाशित: १० पुष २०७९ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =