प्रचण्डको जिद्दीले लागेन प्रधानमन्त्रीको टुंगो

चन्द्रशेखर अधिकारी ९ पुष २०७९ २१:३१
104
SHARES
प्रचण्डको जिद्दीले लागेन प्रधानमन्त्रीको टुंगो

काठमाडौँ- राष्ट्रपतिले संविधानको धारा ७६ (२) प्रधानमन्त्री नियुक्तका लागि दाबी पेस गर्न आह्वान गरेको सात दिन बित्दा पनि दलहरूले प्रधानमन्त्री चयन गर्न सकेका छैनन्। दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको एक साता अवधि आइतबार अपराह्न सकिनेछ।दलहरूका गतिविधि हेर्दा राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि कसैले पनि दाबी पेस गर्न अवस्था देखिँदैन।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफैँ पहिला प्रधानमन्त्री बन्न पाउनुपर्ने जिद्दीले गठबन्धन दलमा सहमति नजुटेको हो। दोस्रो ठूलो दल एमाले भने तत्काल सरकारमा जानु भन्दा गठबन्धन भत्काउने रणनीतिमा छ। सोही कारण सात दिनसम्म प्रधानमन्त्रीको टुंगो लाग्न नसकेको नेताहरू बताउँछन्।

निर्वाचनमा माओवादी केन्द्र खुम्चिए पनि अध्यक्ष दाहाल सरकारको नेतृत्वका लागि जिद्दी गरिरहेका छन्। कांग्रेसबाट प्रधानमन्त्री बन्ने संकेत नपाएपछि उनले एमालेसँग पनि वार्ताको ढोका खोलेका छन्।

२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दाहाल-ओली सम्बन्ध पानी बारबारजस्तै थियो। निर्वाचनपछि भने यी नेताहरूबीच सम्बन्ध सुधार हुन थालेको छ। यद्यपि दाहाल र ओलीबीचको वार्ता कुन स्तरमा पुगेको छ भन्ने विषय सार्वजनिक भएको छैन।

ओलीले दाहाल तत्काल प्रधानमन्त्री बन्न नसक्ने अभिव्यक्ति दिइसकेका छन्। उनले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो मैले देखिरहेको छु। उहाँको चाहना पूरा हुने देख्दिनँ।’

माओवादी नेताहरू पनि दाहालले यसपटक सहजै सरकारको नेतृत्व गर्ने अवस्था नरहेको बताउँछन्। माओवादीका एक नेता भन्छन्, ‘कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आफैँमा नबोल्ने खेलाडी हुन् भने एमाले अध्यक्ष ओली पनि सामान्य खेलाडी होइनन्। यी दुवैलाई प्रचण्डको चाल र हेराइसमेत थाहा हुन्छ। तर पनि अध्यक्षज्यू प्रधानमन्त्री बन्छु भनेर ढिपी गरिहनुभएको छ।’

‘समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो मैले देखिरहेको छु। उहाँको चाहना पूरा हुने देख्दिनँ।’

माओवादी कांग्रेससँग गठबन्धन गरेर चुनाव गएको थियो। दाहालले चुनावमा भोट माग्दा पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका थिए। चुनाव परिणामअनुसार कांग्रेस दल पहिलो बन्यो। त्यसैले ठूलो दलका नाताले कांग्रेसले सरकारको दाबी गर्नु स्वाभाविक हो। कांग्रेसले नसक्ने अवस्था आएमा दोस्रो ठूलो दल एमाले छ। तेस्रो दलका नेताले सरकारको नेतृत्व गर्ने अवसर विरलै पाउँछन्।

दाहालले आफू प्रधानमन्त्री बन्न देउवालाई राष्ट्रपतिको प्रस्ताव गरेको कांग्रेसका एक पदाधिकारीले बताए। ती नेताले भने, ‘सभापति देउवालाई फकाएर राष्ट्रपतिमा लैजाने र आफू प्रधानमन्त्री हुने दाहालको प्रस्ताव छ।’ देउवाले राष्ट्रपतिमा जान इन्कार गरेपछि दाहालले अर्को प्रस्ताव गरेका छन्। ती नेताका अनुसार त्यो प्रस्ताव हो, देउवा पत्नी आरजुलाई राष्ट्रपति बनाएर आफू प्रधानमन्त्री बन्ने। दुवै प्रस्तावमा देउवा सकारात्मक नभएपछि दाहाल एमालेसँग नजिकिन थालेको बताइएको छ।

देउवा राष्ट्रपति बन्ने मुडमा नरहेको कांग्रेका ती पदाधिकारीले बताए। उनले भने, ‘त्यो मनसाय भएमा उहाँ (देउवा) ले संसदीय दलको नेतामा अरूलाई नै अघि सार्नुहुन्थ्यो।’ अहिले अन्तर्राष्ट्रिय समुदायले पनि देउवालाई कार्यकारीमा हेर्न चाहेको बुझाइ ती नेताको छ। देउवाको कमजोरी भनेकै विदेशीको सुझाव ग्रहण गर्नु रहेको जानकारहरू बताउँछन्।

देउवाको यस्तो आशय बुझेपछि दाहालले देउवालाई राष्ट्रपति र श्रीमती आरजुलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी दिन प्रस्ताव गरेका थिए। यसो भएमा विदेशीको स्वार्थ पूरा हुने दाहालको विश्वास थियो। उक्त प्रस्तावमा आरजु पनि सहमत भएको सन्देश दाहालले दिइसकेका छन्।

दाहाल तेस्रोपटक सरकारको नेतृत्व गर्न लालायित भएका हुन्। उनले पहिलोपटक २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनपछि सरकारको नेतृत्व गरेका थिए। त्यति बेला माओवादी प्रत्यक्षतर्फ १२० सिटमा निर्वाचित भएको थियो। अहिले माओवादी प्रत्यक्ष र समानुपातिक गरी ३२ सिटमा खुम्चिएको छ। कांग्रेसका अर्का एक नेता भन्छन्, ‘प्रचण्डमा अझै पनि १२० सिटकै धङधङी छ। त्यस्तै उनमा युद्धकालीन दम्भ पनि देखिन्छ।’

‘अध्यक्षज्यूको सत्ता र परिवार मोहका कारण माओवादी आफैँ छिन्नभिन्न अवस्थामा पुगेको हो। अब यसलाई कसरी सुधार गर्ने भन्ने चिन्ता कसैलाई छैन।’

माओवादी दोस्रो संविधानसभा २०७० मा प्रत्यक्षतर्फ २६ सिटमा झरेको थियो भने २०७४ को निर्वाचनमा एमालेसँग सहकार्य गरेर प्रत्यक्षतर्फ ३६ सिट पुर्‍याएको थियो।
प्रचण्ड दोस्रोपटक २०७३ साउनमा प्रधानमन्त्री बनेका थिए। आलोपालो सहमतिअनुरुप सत्ताको नेतृत्व गरेका दाहालले केही समयपछि शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरेका थिए। २०७४ को चुनाव देउवा नेतृत्वको सरकारले गराएको थियो।

२०७७ मा केपी शर्मा ओलीले संसद् विघटन गरेसँग एमाले र माओवादी केन्द्र अलगअलग भएका थिए। ओलीलाई प्रतिगमनकारीको संज्ञा दिँदै दाहालले प्रधानमन्त्रीका रूपमा अघि सारेपछि गठबन्धन बनेको थियो। गठबन्धनका बेला आलोपालोको सहमति भएकाले दाहाल यति बेला आफू प्रधानमन्त्री हुन पाउनुपर्ने अडान राखेका हुन्। तर जनमतको अपमान हुन्छ भन्दै प्रचण्डलाई पहिलो चरणमा प्रधानमन्त्री नदिने निष्कर्षका कांग्रेस नेताहरू पुगेका छन्।

माओवादीको ओरालो यात्रा

पार्टी निरन्तर ओरालो लाग्दा पनि अध्यक्ष दाहालमा सत्तामोह कायमै रहेको माओवादीका अर्का एक नेता बताउँछन्। ‘सांगठिनक रूपमा माओवादी समस्यामा छ। सरकारमा मात्र जान आतुर देखिँदा नेतृत्वलाई पार्टी र संगठनबारे कुनै चिन्ता छैन’, ती नेताले भने।

विगतमा माओवादी आन्दोलनलाई उचाइमा पुर्‍याउन सक्रिय नेता अहिले अन्यत्रै लागेका छन्। माओवादी पार्टी पनि छिन्नभिन्न अवस्थामा पुगेको छ। २०६२÷६३ पछि निरन्तरजसो सत्तामा रहे पनि माओवादीले उल्लेख्य काम गर्न सकेको छैन।

माओवादीका ती नेता भने, ‘अध्यक्षज्यूको सत्ता र परिवार मोहका कारण माओवादी आफैँ छिन्नभिन्न अवस्थामा पुगेको हो। अब यसलाई कसरी सुधार गर्ने भन्ने चिन्ता कसैलाई छैन।’

कांग्रेसजस्तै माओवादीमा पनि सरकारका रहँदा गरेको कामको जस लिने प्रवृत्ति नरहेको जानकारहरू बताउँछन्। यसमा माओवादीका नेता पनि स्वीकार गर्छन्।

माओवादी एक नेता भन्छन्, ‘डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गर्दा बिप्पा सम्झौता भएको थियो। राजधानीका सडक फराकिलो बनाउने काम पनि भएकै हो। कर प्रशासनमा पनि केही सुधार भएका थिए। जनार्दन शर्मा ऊर्जामन्त्री हुँदा लोडसेडिङ हटाउने काम भएको थियो। तर हामीले त्यसको जस लिन जानेनौँ।’

सरकारमा गएर पार्टी बचाउने दाहालको चाहना

सरकारमा गएर पार्टीलाई गतिशील बनाउने चाहना माओवादी अध्यक्ष दाहालको छ। द्वन्द्वकालीन मुद्दाका कारण उनी सरकारबाहिर बस्न चाहँदैनन्। माओवादीका अधिकांश नेतामाथि द्वन्द्वकालीन मुद्दा छन्। यसलाई निरुपण गर्ने प्रयास सफल हुन सकेको छैन।

द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्‍याउनका लागि गठित संक्रमणकालीन न्यायका संयन्त्र पनि प्रभावकारी बन्न सकेका छैनन्। माओवादीका एक नेता भन्छन्, ‘नेतृत्व नपाए पनि सरकारमा जाने प्रयास भने अन्तिमसम्म जारी हुन्छ।’ ती नेताका अनुसार दाहालको अर्जुनदृष्टि भने सरकारमा पहिला आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्ने छ। ती नेताले प्रश्न गरे, ‘यसरी दुई डुंगामा खुट्टा राखेर नेतृत्व गर्दा मुलुकको हालत के होला?’

हिस्स रामचन्द्र!

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटमा पनि दाहालले आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान दोहोर्‍याएका थिए। त्यति मात्रै होइन, दाहालले पौडेललाई राष्ट्रपतिको प्रस्ताव गरेका छन्। शनिबार दाहाल निवास खुमलटार पुगेका पौडेललाई दाहालले यस्तो प्रस्ताव गरेका हुन्।

‘मैले खुमलटार पुगेर सत्तागठबन्धन जोगाऔँ भन्न नपाउँदै उहाँ दाहालले कांग्रेस इमानदार हुनुपर्छ भन्नुभयो। प्रचण्डजीले आफू प्रधानमन्त्री बन्ने अडान राख्दै तपाईं राष्ट्रपति बन्नुपर्छ भन्नुभयो। मैले यो कुरा छलफलको विषय हो भनेर आएको छु’, पौडेलले हिमालप्रेससँग भने।

भेटमा पौडेलले देउवालाई प्रधानमन्त्री बनाउन र गठबन्धन नटुटाउन दाहालसँग आग्रह गरेका थिए। तर दाहालले उल्टै देउवालाई राष्ट्रपति बनाउने प्रस्ताव राखेपछि पौडेल हिस्स परेर फर्किएको दाहाल निकट स्रोतले बतायो।

पौडेलले बाहिर आएर चाहिँ राष्ट्रपतिमा दाहालले आफूलाई प्रस्ताव गरेको भनेर प्रचार गरे माओवादीका एक नेताले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =