साहित्यिक महोत्सवमा नेपालको अर्थतन्त्रबारे चिन्ता

हिमाल प्रेस ९ पुष २०७९ १९:३३
4
SHARES
साहित्यिक महोत्सवमा नेपालको अर्थतन्त्रबारे चिन्ता

पोखरा– पोखरामा जारी १० औं नेपाल लिटरेचर फेस्टिभलमा नेपालको अर्थतन्त्रबारे चिन्ता व्यक्त गरिएको छ। साहित्यिक महोत्सवमा विशुद्ध साहित्यमाथि बहस हुनुपर्नेमा शनिबार ‘भताभुंग काम, लथालिंग अर्थतन्त्र’ विषयमा अर्थविद्हरू डा. युवराज खतिवडा, डा. स्वर्णीम वाग्ले र पूर्वसांसद डा. विमला राई पौडेलले अर्थतन्त्रको विषयमा चिन्ता व्यक्त गरे।

उनीहरूले देशमा अनुशासनको सीमा भत्किएको, दण्डहीनता मौलाएको, शासकीय अहंकार, राजनीतिक नेतृत्वको छायाँमा कर्मचारीलगायतका कारण अर्थतन्त्र धरासायी बनेको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

पूर्वअर्थमन्त्री एवम् पूर्वगभर्नरसमेत रहेका प्रा.डा. खतिवडाले हामीहरू यही राजनीतिक प्रणालीमा बाँच्नुपर्ने र यही प्रणालीलाई अघि बढाउनु पर्ने भन्दै राजनीतिज्ञलाई सुधारेर राष्ट्र निर्माणमा लगाउनुपर्नेमा जोड दिए। उनले कानुन बलियो बनाउनुपर्ने, कर्मचारीतन्त्रलाई बलियो बनाउनुपर्ने र त्यसको आधारमा शासकीय प्रबन्ध मिलाउनुपर्ने बताए।

युवाउद्यमी निरञ्जन श्रेष्ठसँगको संवादमा उनले यहाँ असीमित हैन, सीमित श्रोतसाधन रहेको तर्क गरे। हुर्किसकेको पुस्ता (२५ वर्षमाथि) को निरक्षर र सीपविहीन रहेको उल्लेख गर्दै त्यसको हल गर्न राजनीतिक इच्छाशक्ति हुनुपर्ने बताए।

‘यहाँ उत्पादनको समस्या हो। जे उत्पादन गर्छौ, त्योभन्दा बढी आयात गर्छौं। उत्पादनको संरचना परिवर्तन गर्दै श्रोतमा आधारित अर्थतन्त्रको विकास गर्नुपर्छ,’ उनले भने।

बर्सेनि साढे चार लाख मानिस श्रमबजारमा उत्पादन हुने भए पनि आधा पनि रोजगारी पाउने अवस्था नरहेको तितो यथार्थ पोखे। उनले यहाँको अर्थनीति, मौद्रिक नीति सही हुनुपर्नेमा जोड दिंदै समष्टीगत अर्थतन्त्र व्यवस्थापन गर्नेहरू एक ठाउँमा बस्नुपर्ने बताए।
निजी क्षेत्र देश विकासको ठूलो संवाहक भएकाले गाली गर्न नहुने खतिवडाले बताए। कोही व्यवसायीले गलत गरे त्यसलाई कानुनअनुसार सजाय हुनुपर्ने उनको भनाइ थियो। देशको आर्थिक अवस्थालाई ध्वस्त हुन नदिन राजनीतिक नेतृत्वको इच्छाशक्ति अत्यावश्यक रहेको उनले बताए।

‘अति राम्रो पनि होइन, अति हामी संकटमै छौँ भन्ने पनि होइन। हामी जटिल समस्याको अवस्थामा छौँ, ती समस्या हल गर्न सक्ने अवस्थामा आजसम्म छौँ। तर, त्यसको लागि राजनीतिक नेतृत्वको इच्छाशक्ति, आर्थिक समस्या हल गर्ने प्राथमिकता, समस्या हल गर्ने क्षमता तीन वटा कुरा हुनुपर्छ। त्यो भएको नेतृत्व भयो भने राम्रो हुन्छ,’ खतिवडाले भने।

अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले हामीजस्तैजस्तै भएको देशको तुलनामा धेरै पछाडि परेको बताए। उनले भने, ‘त्यसको एउटै कारण कुशासन हो। अहिले थपिएको कुनियतसहितको कुशासन हो। योग्य नेता भएको देशमा स्वविवेकमा छोड्न सकिन्छ। तर, त्यस्तो स्तरको राजनेता नभएको देशमा नियमले नै कस्ने हो।’

उनले भने, ‘सत्पात्रहरू दुईचार जना प्रधानमन्त्री, अर्थमन्त्री हुने हो भने सही बाटोमा ल्याउन सकिन्छ। एउटा चिनियाँ उखान छ-माछा कुहिन थाल्यो भने टाउकोबाट कुहिन थाल्छ। माथिबाट ठिक हुनासाथ तल पनि मिल्छ। यति समझदार जनता भएको देशमा धेरै कुरालाई ठिक ठाउँमा ल्याउन सक्छौं।’

नेपालमा ५० वर्षअघिको सर्वेक्षणमा देशको अर्थतन्त्र कमजोर हुनुमा क्षमता कमजोर, साधन श्रोतको अधिकतम् प्रयोग हुन नसक्नु, सुशासनको पाटो, कोअर्डिनेसन अभाव, नियत खराबलगायत रहेको प्रसंगसहित उनले राजनीतिक नेतृत्व र भिजन भएको नेतृत्व आएमा देशलाई अलिकति दौडाउन सकिने बताए।

राष्ट्रियसभाकी पूर्वसांसद डा. विमला राई पौडेलले नेपालमा कानुन निर्माण नै फितलो भएको बताइन्। ‘हामीहरू कानुन बुझेर बनाउँछौ कि नबुझी बनाउँछौं ? सरकारले ल्याउने अन्य कानुनमा सांसदले आ-आफ्नो धारणा राख्न पाउँछन्। सांसदको सुझावअनुसार विधेयकको ड्राफ्टमा त्यसलाई सच्याइन्छ। तर, सरकारले ल्याएको बजेटमा भने कुनै संशोधन हुँदैन, त्यो पास हुन्छ,’ उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =