पिपुल्स क्याम्पसले मनायो ४१ औं वार्षिकोत्सव

हिमाल प्रेस ९ पुष २०७९ १८:२८
438
SHARES
पिपुल्स क्याम्पसले मनायो ४१ औं वार्षिकोत्सव

काठमाडौँ– पकनाजोलस्थित पिपुल्स कलेजले ४१ औँ वार्षिकोत्सव मनाएको छ। क्याम्पस परिसरमा शनिबार आयोजित विशेष कार्यक्रममा सहभागी शिक्षाविद्हरूले देशको वर्तमान शिक्षा अवस्थाबारे आफ्नो धारणा राखेका थिए भने कलेज स्थापनाका पुराना दिन पनि स्मरण गरे।

क्याम्पस प्रमुख मनोजबहादुर कुँवरले मुनाफा आर्जन नगर्ने शैक्षिक संस्थाका रूपमा स्थापित क्याम्पसले विद्यार्थीलाई सर्वसुलभ मूल्यमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन कटिबद्ध रहेको बताए।

विद्यार्थीको उत्कृष्ट नतिजाले आफूहरूलाई हौसला दिने बताउँदै क्याम्पस प्रमुख कुँवरले प्रयोगात्मक शिक्षा पद्धति अनुसरण गर्दै क्याम्पसले शैक्षिक भ्रमण, सेमिनार र अनुसन्धान अघि बढाउँदै आएको बताए।

‘क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तरीयताको प्रमाणपत्रका लागि आवश्यक प्रक्रिया पूरा गरिसकेको छ भने आयोगकै सहयोगले कक्षाकोठा आधुनिक प्रविधियुक्त बनेका छन्’, उनले भने। क्याम्पसका विद्यार्थीले अमेरिकामा आयोजना हुने ‘अनलाइन बिजनेस स्ट्रयाटजी कम्पिटिसन’ मा पनि भाग लिँदै आएको जनाउँदै कुँवरले गुणस्तरीय शिक्षाको लागि क्याम्पसले आफ्नो परम्परा कायम गरिरहने बताए।

पूर्वक्याम्पस प्रमुख निर्मलमणि पन्थीले सामुदायिक कलेजले विद्यार्थीविहीन हुनुपर्ने अवस्था आएको जनाउँदै आर्थिक क्षेत्रजस्तै मार अहिले सामुदायिक क्याम्पसलाई पर्न थालेको बताए। ‘हामीजस्तो गैरनाफामूलक सामुदायिक संस्थाले न त निजीको जस्तो शुल्क लिन सक्छौँ न त हामीलाई सरकारी अनुदान प्राप्त हुन्छ’, पन्थीले भने।

नेपालले शिक्षामा जति गर्नुपर्ने हो त्यति गर्न नसके पनि शिक्षा क्षेत्रमा फड्को मारेको धारणा कार्यक्रमकी प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शीलु मानन्धर व्रजाचार्यको थियो।

‘शिक्षाको आँकडा हर्ने हो भने विद्यालय स्तरमा ९८ प्रतिशत भर्नादर देखिन्छ भने वयस्कहरूको शिक्षा तहमा भर्नादर ७८ प्रतिशत देखिन्छ,’ व्रजाचार्यले भनिन्, ‘यसको अर्थ हामी शैक्षिक रुपले राम्रै अवस्थामा छौँ भन्ने हो।’

यद्यपि प्रतिवर्ष लाख–लाख विद्यार्थी अध्ययनकै लागि बिदेसिनु भने चिन्ताको विषय रहेको उनले बताइन्। ‘साना मुलुकले शिक्षालाई प्राथमिकतामा राखेका कारण ठूला मुलुकसरह प्रतिस्पर्धी रुपमा उदाएका हुन्,’ व्रजाचार्यले भनिन्, ‘त्यसैले कुनै पनि मुलुकले शैक्षिक संसाधनमा लगानी गर्नुपर्ने आवश्यकता छ। विकासमा फड्को मारेका मुलुकहरूले शिक्षामा लगानी गरेकाले नै सफलता पाएका हुन्।’

पूर्वक्याम्पस प्रमुख मंगलदास प्रधानांगले दोस्रो विश्वयुद्धपछि दुई कोरियाले शिक्षालाई नै पहिलो प्राथमिकतामा राखेकाले उन्नतिको शिखरमा पुग्न सकेको बताउँदै देशको विकासका लागि शिक्षा प्राथमिकतामा हुनुपर्ने धारणा व्यक्त गरे।

‘क्याम्पस स्थापना गर्दा धेरै दुःख गरेर सहयोग जुटाउँदै यहाँसम्म आइपुगेका हौँ,’ उनले भने, ‘अब फेरि गाह्रो दिन आउँदै गरेजस्तो देखिन्छ। खासगरी उपत्यकाका सामुदायिक कलेजहरूलाई न त स्थानीय सरकारले न त स्थानीय उद्योग वाणिज्यले नै सहयोग गर्ने गरेका छन्। शुल्ककै भरमा चल्न गाह्रो छ।’

मुनाफारहित संस्था भएकाले स्थापनाकालदेखि सहयोगमा सञ्चालित कलेजले निजीको जस्तो शुल्कवृद्धि गर्न नसक्ने हुँदा र संस्थागत सहयोग पनि नहुने हुँदा बढ्दो महँगीमा कर्मचारीलाई सन्तुष्ट पार्न नसकिएको पनि प्रधानांगले बताए।

सहायक क्याम्पस प्रखुख रोजेश पण्डितले क्याम्पसको उन्नयनमा सहयोग गर्ने दिवंगत संस्थापक तथा क्याम्पस प्रमुखहरुको योगदानको चर्चा गर्दै उनीहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका थिए।

कलेजले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पदक तथा सम्मान प्रदान गरेको छ। त्रिविवि स्नातकोत्तर तह एमबीएसतर्फका उत्कृष्ट विद्यार्थी लहना श्रेष्ठ, सिरपा शाक्य, स्नातक तह बीबीएतर्फका उत्कृष्ट रिजन खड्गी, रोहन नकर्मी, राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा क्याम्पस प्रथम हुने विद्यार्थी व्यवस्थापनतर्फ सागर जीसी, कपिलप्रसाद आचार्य, अंकिता मगरलाई सम्मान तथा पुरस्कार प्रदान गरियो।

यस्तै लहना श्रेष्ठ, सिरपा श्रेष्ठ, रिजन खड्गी, रोहन नकर्मीले गुडविल फाइनान्स एन्ड इन्भेस्टमेन्ट लिमिटेडका तर्फबाट नगद पुरस्कार पनि पाए। चारै जना विद्यार्थीले लक्ष्मीदेवी मानन्धर स्मृति नगद पुरस्कार तथा प्रमाणपत्र पनि पाउन सफल भए।

एमबीएसतर्फ फाइनान्स विषय लिई क्याम्पस प्रथम हुने सिरपा शाक्यले मनोहरकृष्ण श्रेष्ठ पदक पाइन्। क्याम्पसमा पन्ध्र वर्ष सेवा गरेका कर्मचारीहरू रामकृष्ण थापा, शंकर ढोडारी र रामकृष्ण राजवाहकलाई पनि वार्षिकोत्सव कार्यक्रमका अवसरमा सम्मानित गरिएको थियो।

त्रिविबाट सम्बन्धन प्राप्त उक्त कलेजमा बीबीएस, बीएमएस गरी १६ सय विद्यार्थी क्याम्पसमा अध्ययनरत छन्।

प्रकाशित: ९ पुष २०७९ १८:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =