गण्डकीमा दलको नेता छान्न सकस : कांग्रेसमा गुटगत झमेला, एमाले-माओवादीमा पनि छैन सहज

हिमाल प्रेस १० पुष २०७९ १३:१५
4
SHARES
गण्डकीमा दलको नेता छान्न सकस : कांग्रेसमा गुटगत झमेला, एमाले-माओवादीमा पनि छैन सहज

पोखरा- गण्डकी प्रदेशसभामा विभिन्न दलले संसदीय दलको नेता चयन गर्ने तयारी गरेका छन्। सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले पुस १२ गते दलको नेता छान्न निर्वाचन समिति गठन गरेको छ।

पार्टीका प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा गठित समिति सदस्यमा सहमहामन्त्री रमेश पाण्डे र कोपिला रानाभाट छन्। कानुनी सहजकर्ताका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) प्रदेश अध्यक्ष फणीन्द्र कोइराला र डीएलएकी कास्की जिल्ला अध्यक्ष कपिलमणि दाहाल छानिएका छन्।

पार्टीमा सर्वसम्मत चयनका लागि प्रदेश सभापति शुक्रराज शर्माको संयोजकत्वमा सहजीकरण समितिसमेत गठन गरिएको छ। सकेसम्म सर्वसम्मत नभए निर्वाचनमा जाने तयारी भएको पार्टीका प्रदेश महामन्त्री लामिछाने बताउँछन्।

प्रदेशसभामा कांग्रेसका तर्फबाट पार्टी केन्द्रीय सदस्यसमेत रहेका गोरखाका सुरेन्द्र पाण्डे, कास्कीका बिन्दुकुमार थापा, स्याङ्जाका भोजराज अर्याल र नवलपुरका महेन्द्रध्वज जीसी प्रमुख दाबेदार छन्। तीमध्ये पाण्डे र थापा संस्थापन पक्षका हुन् भने अरू संस्थापनइतरका हुन्।

प्रदेशसभामा कांग्रेस २७ सिटका साथ पहिलो पार्टी हो। हाल गण्डकी सरकारको नेतृत्व कांग्रेसकै कृष्णचन्द्र नेपाली पोखरेलले गरेका छन्।

दोस्रो ठूलो दल नेकपा एमालेले पनि संसदीय दलको नेता छान्ने तयारी अघि बढाएको छ। एमालेले यही पुस १० मा दलको नेता सर्वसम्मत् छान्ने तयारी गरेको हो। पार्टीका प्रदेश सचिव धनञ्जय दवाडीले केन्द्रबाट सर्वसम्मत छान्ने विगतदेखिकै अभ्यास भएकोले यहाँ चुनाव नहुने बताउँछन्। एमालेबाट को दलको नेता हुने भन्ने टुंगो छैन।

खगराज अधिकारी (कास्की)प्रमुख दाबेदार हुन्। पूर्वगृहमन्त्रीसमेत उनलाई एमालेले चुनावअघि नै भावी मुख्यमन्त्री भन्दै चुनावी प्रचार गरेको थियो। २०७४ सालको चुनावमा २७ सिटका साथ पहिलो पार्टी एमालेले यसपालि पाँचदलीय गठबन्धनसँगको प्रतिस्पर्धामा २२ सिटका साथ दोस्रोमा खुम्चिएको हो।

प्रदेशसभामा तेस्रो ठूलो दल हो, नेकपा माओवादी केन्द्र। माओवादी केन्द्रबाट हरिबहादुर चुमान ‍(तनहुँ) प्रमुख दाबेदार हुन्। गठबन्धनमा रहेको माओवादी केन्द्र कांग्रेसलाई उछिनेर पहिले नै आफूले सरकार संचालन गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ।

यद्यपि कांग्रेस पहिलो पार्टी बनेकाले प्राकृतिक न्यायको सिद्धान्तअनुरुप आफू नै सरकारको नेतृत्वको दाबेदारी प्रस्तुत गर्दै आएको छ। माओवादीको यसपालि ८ सिट छ।

६० सदस्यीय प्रदेशसभामा राप्रपाले समानुपातिकबाट २ सिट सुरक्षित गरेको छ। त्यस्तै मनाङबाट स्वतन्त्र रुपमा चुनाव जितेका दीपक मनाङे पछि एकीकृत समाजवादी पार्टी प्रवेश गरेसँगै उसको १ सिट बनेको हो।

२०७४ सालको चुनावमा माओवादी केन्द्रबाट सभामुख र एमालेबाट उपसभामुख बनेका थिए।

गण्डकी प्रदेशसभामा निर्वाचित सदस्यको पुस १४ मा शपथ ग्रहण तयारी भएको छ। त्यसअघि ज्येष्ठ सदस्य मित्रलाल बस्याल (पर्वत ६५ वर्ष)लाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अघिल्लो दिन प्रदेश प्रमुखको निवास सिमलचौरमा शपथ खुवाउने कार्यक्रम छ।

प्रकाशित: १० पुष २०७९ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 7 =