सेनेगलमा किन भइरहेको छ विश्वकप खेलेका खेलाडीलाई पुरस्कार दिने निर्णयको विरोध?

हिमाल प्रेस ७ पुष २०७९ २१:३६
18
SHARES
सेनेगलमा किन भइरहेको छ विश्वकप खेलेका खेलाडीलाई पुरस्कार दिने निर्णयको विरोध?

सेनेगलका राष्ट्रपति माकी सालले त्यहाँको राष्ट्रिय फुटबललाई नगद पुरस्कार दिने निर्णय गरेपछि देशभर आलोचना भइरहेको छ। कतार विश्वकपको क्वार्टरफाइनलमा पुगे सेनेगलका खेलाडीलाई नगद पुरस्कार दिने राष्ट्रपति सालले घोषणा गरेका थिए। विश्वकप तयारी र पुरस्कारका लागि भन्दै सेनेगल सरकारले दुई करोड ३० लाख ओरिकी डलर बराबरको कोष स्थापना गरेको थियो।

अहिले त्यही कोषबाट २६ सदस्यीय टिमलाई राष्ट्रपति सालले पुरस्कार दिने बताएका हुन्। तर क्वार्टरफाइनल पुग्न नसकेको टिमलाई किन पुरस्कार दिने भन्दै प्रश्न उठिरहेको छ।

‘जितेपछि पुरस्कार दिने हो, हार्दा होइन। हार यो टिमका लागि शिक्षा हो,’ सेनेगलका पूर्वफरवार्ड डिओमान्सी कामाराले स्थानीय अखबार स्टाडेससँग भनेका छन्। सेनेगलकाे क्वार्टरफाइनल पुग्ने लक्ष्य कतारमा सफल भने भएन। उसलाई प्रिक्वार्टरफाइनलमा इंग्ल्यान्डले पराजित गरेकाे थियो।

खेलप्रेमी रहेका राष्ट्रपति साललाई सेनेगलको खेलकुद जगतले मन पराउँछ। तर विश्वकपका लागि राखिएको लक्ष्य पूरा नहुँदा पनि राष्ट्रिय फुटबल टिमलाई पुरस्कृत गर्ने उनको निर्णयलाई स्वागत गरिएको छैन। विशेषगरी फुटबलबाहेकका खेलका खेलाडीहरूले राष्ट्रपतिको विरोध गरिरहेका छन्।

कयौँ खेलका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदा आफ्नै पैसा खर्च गर्नुपर्ने स्थिति रहेको तर फुटबल खेलाडी भने असफल हुँदा पनि पुस्कृत हुने व्यवस्था ठिक नभएको उनीहरुको भनाइ छ।

सेनेगलका कयौँ यस्ता खेलाडी छन् जो प्रतिभावान् हुनुका बाबजुद पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनबाट वञ्चित भइरहेका छन्। यसको कारण हो, अर्थिक अभाव। उनीहरुले सरकारबाट समेत सहयोग पाइरहेका हुँदैनन्।

यस्तै एक खेलाडी हुन्, हामाडाल डिआए। उनी सेनेगलका ट्रायथलान च्याम्पियन हुन्। उनी विश्व च्याम्पियनसिप र ओलिम्पिकमा छनोट हुने प्रयासमा छन्। हाल बेलायतमा क्यामराम्यानको काम गर्ने उनी छनोट खेलमा भाग लिन जान सक्दैनन्। किनभने उनीसँग हवाइ टिकट खरिद गर्न पर्याप्त पैसा हुँदैन।

सेनेगल सरकारले सेनेगलिज टिमलाई समर्थन गर्न कतार जान चाहनेका लागि सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो। यो खबर सुनेर आफू स्तब्ध बनेको डिआएले बीबीसी अफ्रिकासँग बताएका छन्।

‘सन् २०१९ र २०२१ मा सेनेगल फर्किएर राष्ट्रिय प्रतियोगितामा भाग लिने प्रयास गरेको थिए। राजधानी डकारसम्मको हवाई टिकट त खरिद गर्नसके। तर सँगै लिएर जानुपर्ने साइकलको भाडा तिर्न सकिनँ। हामी जस्ताका लागि प्रतियोगितामा भाग लिन नै मुस्किल छ,’ डिआएले भनेका छन्।

डिआएकै जस्तो भनाइ छ हाइजम्प खेलाडी साङ्गोन कान्जीको। उनले अफ्रिकन च्याम्पियनसिपमा पदक हासिल गरेवापत असाध्यै कम पुरस्कार दिइएको गुनासो गरिन्।

ओलिम्पियन तथा फेन्सिङ खेलकी सेनेगल च्याम्पियन डेये बिन्टा डियोङगे आफूले दैनिक जीवनयापनमै अप्ठ्यारो भोग्नु परिरहेको बताउँछिन्। सन् २००८ मा राष्ट्रिय पदक जितेवापत उनलाई गत वर्षमात्रै पुरस्कार दिइएको थियो।

‘यो वर्ष मैले अप्रिकन च्याम्पियनसिपमा रजत पदक जितेको छु। तर मलाई सरकारले कुनै पुरस्कार दिएको छैन। हामी खेलाडी र हाम्रो खेलका लागि सरकारले पर्याप्त बजेट दिँदैन, फुटबलमा भने जति पनि लगानी गर्न तयार हुन्छ,’ डियोङगे भन्छिन्।

उनका अनुसार अन्त्र्राष्ट्रिय फेन्सिङ प्रतियोगिता जित्ने खेलाडीलाई सेनेगल सरकारले ६ सय ५० अमेरिकी डलर दिनेगर्छ। फुटबल खेलाडीका लागि यति रकम नगण्य हो।

अन्तर्राष्ट्रिय पदक दिलाउने मामलामा फुटबलभन्दा अरु खेल अगाडि रहेको भए पनि ती खेल र खेलाडीमाथि भेदभाव गरिने गुनासो छ। उसो त पछिल्लो यो विषयमा सेनेगलको संसद्मा बहस हुँदै आएको छ। विपक्षी पार्टीका सांसद मारियस साग्नाले खेलकुदमन्त्रीले फुटबललाई प्राथमिकतामा राखेर ल्याएको खेलकुद बजेटप्रति असन्तुष्टि जाहेर गरेका थिए।

‘उनी फुटबलमन्त्री हुन् कि समग्र खेलकुदको मन्त्री?’ साग्नाले खेलकुदमन्त्रीप्रति कटाक्ष गरेका थिए। ‘कराते र तेकवान्दो जस्ता खेलले अन्तर्राष्ट्रिय पदक ल्याउने गरेका छन्। तर यी खेललाई फुटबल जस्तो महत्त्व दिइँदैन। एथ्लेटिक्स संघलाई वर्षभरीको बजेटका लागि ५० हजार डलर दिइन्छ। जबकि फुटबलको एउटा मैत्रीपूर्ण खेलको बजेट चार लाख ८५ हजार डलर हुनेगर्छ,’ साग्नाले भनेका थिए।

डियोङगे लगायतका धेरै खेलाडी विदेशमा बस्छन्। डियोङगे आफैँ चाहिँ फ्रान्समा बस्छिन्। जहाँ उनी टे«निङ र जागिरलाई सँगै अघि बढाइरहेकी छिन्। उनलाई तालिम भने स्थानीय प्रशिक्षकले सित्तैमा दिन्छन्। ओलिम्पिक्स २०२० मा भाग लिएकी उनी भन्छिन्, ‘मेरा गुरुलाई थाहा छ, म उहाँलाई शूल्क तिर्न सक्दिनँ।’

ओलिम्पिक्सलगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन लामो तयारी गर्नुपर्ने र त्यस दौरान काममा ध्यान दिन नसक्ने भएकाले आर्थिक समस्यामा पर्ने गरेको डियोङगेको गुनासो छ।

सेनेगलले सन् २०२६ मा युथ ओलिम्पिक्स आयोजना गर्दैछ। अफ्रिका महादेशमा पहिलो पटक हुन लागेको यो पहिलो ओलिम्पिक्स इभेन्ट हो। यसका लागि राजधानी डकार र वरपर पूर्वाधार निर्माण भइरहेका छन्।

सेनेगलका नौ खेलाडीले टोकियो ओलिम्पिक्समा भाग लिएका थिए। तर कसैले पनि पदक जित्न सकेनन्। सेनेगलले सन् १९९८ यता पदक जित्न सकेको छैन। सेनेगलले खेलकुद पूर्वाधारमा सक्दो लगानी गरिरहे पनि कमजोर व्यवस्थापनका कारण तिनको उचित प्रयोग हुन नसकिरहेको डिआएको बुझाई छ।

बीबीसी अफ्रिकाबाट

प्रकाशित: ७ पुष २०७९ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =