गण्डकी प्रदेशका ज्येष्ठ सदस्यको शपथ पुस १३ मा

हिमाल प्रेस ६ पुष २०७९ २०:०५
8
SHARES
गण्डकी प्रदेशका ज्येष्ठ सदस्यको शपथ पुस १३ मा

पोखरा – गण्डकी प्रदेशका निर्वाचित प्रदेशसभाका सदस्यमध्ये ज्येष्ठ सदस्यको सपथ पुस १३ गते हुने भएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ज्येष्ठ सदस्यको सपथका लागि पुस १३ गते बिहान ११ बजेको समय दिएका छन्। नेपालको संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५(१) बमोजिम प्रदेश प्रमुखले निर्वाचित प्रदेशसभाका ज्येष्ठ सदस्यलाई सपथ गराउने प्रावधान छ।

गण्डकी प्रदेशसभाका कुल ६० सांसदमध्ये मित्रलाल बस्याल सबैभन्दा ज्येष्ठ सदस्य हुन्। उनी ६५ वर्षका भए। गएको मंसिर ४ को प्रदेशसभा निर्वाचनबाट उनी नेकपा एमालेबाट पर्वत जिल्ला क्षेत्र १(ख) मा प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्।

प्रदेश प्रमुखले आफ्नै निवास पोखरा सिमलचौरमा उनको सपथ गराइसकेपछि अन्य ५९ सांसदको सपथ ग्रहणको लागि बाटो खुल्नेछ। उनै मित्रलाल बस्यालले प्रदेशसभा भवन नदीपुरमा शपथ गराउने छन्। गण्डकी प्रदेशमा मित्रलालपछि २ दिनले कान्छा सांसद कांग्रेसबाट कास्की २(ख) मा निर्वाचित बिन्दुकुमार थापा हुन्। थापा गण्डकीका सञ्‍चारमन्त्रीसमेत हुन्।

निर्वाचन आयोगले ४ पुसमा गण्डकीको निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखलाई बुझाएको हो। संसद सचिवालयले सांसदहरूलाई लोगोसहित सपथ ग्रहणको तयारी गरेको छ। स्रोतका अनुसार पुस १५ सम्ममा संसद अधिवेशन आह्वान गर्ने तयारी गरेको छ।

संविधानअनुसार निर्वाचनको अन्तिम मतपरिणाम आएको मितिले २० दिनभित्र पहिलो बैठक बोलाउनुपर्ने प्रावधान छ। निर्वाचनको अन्तिम परिणाम २८ मंसिरमा आएको हो। गण्डकीमा कुनै पनि दलले एकल सरकार बनाउन नसकेपछि संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा दलको समर्थनमा सरकार गठन हुने भएको हो।

गण्डकीको २७ सिटसहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो। यसै अंगगणितअनुसार स्वभावैले सरकारको नेतृत्वको दाबी गरेको छ। गठबन्धनकै अर्को दल नेकपा माओवादीले पनि दाबी कायमै राखेको छ। गण्डकीमा २२ सिटसहित एमाले दोस्रो र ८ सिटका साथ माओवादी तेस्रो दल बनेका छन्। राप्रपा समानुपातिकमा २ सिट जित्दै चौथो दल र नेकपा एकीकृत समाजवादी १ सिटका साथ पाँचौ ठूलो दल हो। स्वतन्त्र सांसद दीपक मनांगे मनाङबाट निर्वाचित भएसँगै एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।

प्रकाशित: ६ पुष २०७९ २०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + six =