आफ्नै टिमका नेताले किन पत्याएनन् गगनलाई?

सन्तोष अधिकारी ६ पुष २०७९ १६:३१
464
SHARES
आफ्नै टिमका नेताले किन पत्याएनन् गगनलाई?

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भए। देउवा महामन्त्री गगन थापालाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाका ८९ सांसदमध्ये देउवाले ६५ र थापाले २५ मत पाए। मंगलबार साँझसम्म शेखर कोइराला-गगन थापा समूहमा कम्तीमा ३२ सांसद रहेको आकलन गरिएको थियो। उक्त समूहको बबरमहलस्थित बसेरा बुटिक होटलमा बसेको भेलामा पनि ती सांसद उपस्थित थिए।

मंगलबार सो समूहका एक नेता भन्दै थिए- हाम्रो टिममा सांसद ३२ छन्। अब यसमा सात जना थपिँदैछन्। उनले भने अनुसार थापाका पक्षमा ३९ मत आउनुपर्ने थियो। तर निर्वाचन परिणाम भने त्यस्तो आएन। बरु शेखर-गगन समूहमा खुलेका सात जनाले देउवालाई मत खसाले। यिनीहरू शेखर-गगनको भेलामा भने नियमित सहभागी हुँदै आएका थिए।

महामन्त्री थापाले आफूले सोचेको र नेताहरूको बुझाइ फरक भएकै कारण चुनाव हारेको स्वीकारे। ‘संसदीय दलमा नेतृत्व बदलियोस्, काम गर्ने शैली र भूमिका बदलियोस् भन्ने मेरो प्रस्ताव थियो,’ उनले भने, ‘बहुसंख्यक साथीहरू मेरो पक्षमा उभिनुभएको रहेनछ। मेरो बुझाइ र उहाँहरूको बुझाइ फरक रहेछ।’

जानकारहरू महामन्त्री थापा पार्टी राजनीतिमा अझै खारिन बाँकी रहेकाे बताउँछन्। महाधिवेशनमा पार्टीका युवापंक्तिले मतदान गरेर महामन्त्री बनाए पनि संसद्‌मा त्यसले काम नगरेको उनीहरूको बुझाइ छ।

लामो समय कांग्रेस बिटमा समाचार लेखेका पत्रकार किरण पोखरेलले थापाले पार्टीभित्र थुप्रै काम गर्न बाँकी रहेको देखिएको बताउँछन्। पार्टीको चाैधौँ महाधिवेशनमा थापाको लोकप्रियताले काम गरे पनि संसदीय दलको नेता बन्न त्यत्तिले नपुगेकाे उनको विश्लेषण छ।

‘कांग्रेस महामन्त्रीका रूपमा एक कार्यकाल पूरा गरिसकेको भए थापाका क्रियाकलाप, प्रतिबद्धता र भूमिकाका आधारमा मूल्यांकन गर्न सहज हुने थियो।’

‘महामन्त्री थापाले पार्टीभित्र क्रियाशीलता बढाउनुपर्ने देखियो। उहाँ लोकप्रियताकै कारण महामन्त्री बन्न सफल हुनुभयो। संसदीय दलको नेता बन्न पार्टीभित्र पकड बढाउन अझै काम गर्नुपर्ने देखियो,’ पोखरेलले भने।

केही नेताले भने सभापति देउवाले नै जित्ने निश्चित देखेर थापालाई मत नदिएको उनको आकलन छ। उनले भने, ‘शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्छ। उहाँ प्रधानमन्त्री हुने सुनिश्चत ठानेर पनि कतिपयले थापालाई भोट नहालेका हुन सक्छन्।’

राजनीतिशास्त्रका प्राध्यापक सुरेन्द्र चन्द महामन्त्री गगन थापाले पार्टीभित्र खेलेको भूमिका र कामको मूल्यांकन हुनै बाँकी रहेकाले पनि उनलाई मत कम आएको बताउँछन्। थापाप्रति पुराना पुस्ता विश्वस्त नदेखिएको उनको बुझाइ छ। चन्द भन्छन्, ‘कांग्रेस महामन्त्रीका रूपमा एक कार्यकाल पूरा गरिसकेको भए थापाका क्रियाकलाप, प्रतिबद्धता र भूमिकाका आधारमा मूल्यांकन गर्न सहज हुने थियो।’

महामन्त्री भएको थोरै अवधिमा उनको मूल्यांकन भइनसकेकाले विश्वास गरिहाल्ने अवस्था नदेखिएको उनले बताए। कांग्रेसमा पुराना पुस्ता र नयाँ पुस्ताबीच चुनाव हुनु आफैँमा उपलब्धिमूलक रहेको उनी बताउँछन्। उनी भन्छन्, ‘पुराना नेताले आफ्नो राजनीतिक भूमिका र संस्कारमा केही परिवर्तन गर्नुपर्ने देखियो। नयाँले पनि पुरानाको योगदानलाई सम्बोधन गर्नुपर्ने पनि देखियो।’

जिम्मेवार पदमा बसिसकेका पुराना पुस्ताका नेताहरूलाई सीधै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सहज हुँदैन। महामन्त्री थापाले विश्वासको वातावरण बनाउन बाँकी रहेको उनले बताए। चन्दले भने, ‘संसदीय दलको चुनावले पुराना पुस्ता पनि रहोस् र नयाँ पुस्ता पनि अगाडि बढोस् भन्ने चाहेको देखियो। यो पार्टीका लागि मात्रै होइन व्यवस्थाका लागि पनि सकारात्मक विषय हो।’

‘सांसदहरूले शेरबहादुरलाई भोट हालेको मतपत्रको फोटो खिचेर आरजुलाई पठाए। आरजुले ती तस्बिर संसदीय दलको कार्यालयमा बसिरहेका देउवालाई पठाएकी थिइन्।’

थापाले चुनाव हार्नुमा अन्य कारणको पनि खोजी हुन थालेको छ। कांग्रेसका एक नेता आरजु देउवा र मञ्जु खाणका गतिविधि थापा हार्नुको कारण रहेको सुनाउँछन्। आरजु प्रधानमन्त्री देउवाकी पत्नी हुन् भने मञ्जु गृहमन्त्री बालकृष्ण खाणकी पत्नी हुन्। यी दुवै समानुपातिक सांसद छन्। ती नेताले भने, ‘समानुपातिक सांसद बनेका केही महिलालाई आरजु र मञ्जुले प्रलोभनमा पारेको देखियो। यही कारणले पनि थापाको भोट कम आयो।’

बुधबार बिहान मतदानमा आरजु र मञ्जुको सक्रियता बढी नै देखिन्थ्यो। मतदानस्थलमा मोबाइल लैजान नपाइने सहमति भए पनि उनीहरूले केही सांसदलाई जबरजस्ती फोटो खिच्न दबाब दिएका थिए। एक सांसद भन्छन्, ‘सांसदहरूले शेरबहादुरलाई भोट हालेको मतपत्रको फोटो खिचेर आरजुलाई पठाए। आरजुले ती तस्बिर संसदीय दलको कार्यालयमा बसिरहेका देउवालाई पठाएकी थिइन्।’

महामन्त्री थापा पनि आरजु र मञ्जुले ११ जना सांसदलाई दबाब दिएर मतपत्रको तस्बिर खिच्न लगाएको आरोप लगाएका छन्। उनले भने, ‘मतदान केन्द्रमा केही सांसदले फोटो खिच्नुभयो। त्यो अशोभनीय देखियो। १०-११ जना सांसदले यस्तो गर्नुभएको छ।’ थापाले मतपत्रको फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा सेयर गर्न आग्रह गरेका छन्।

थापा समूहका नेता अर्जुनरसिंह केसीले भोट नहाल्ने तर समूहमा छु भन्नेमाथि छानबिन हुने बताए। यद्यपि आफूहरूले निर्वाचन परिणाम स्वीकार गर्ने उनले  बताए। नेता केसीले भने, ‘भोट कसले कसले खसालेन भन्ने छानबिन हुन्छ।’ उनले अब नेतृत्वले जनताको अपेक्षा सम्बोधन गर्न नयाँ सोच र व्यवहार गर्नुपर्ने बताए। केसीले भने, ‘पार्टीले नयाँ बाटो तय गर्नुपर्छ। बासी सोच र विचारले अब चल्दैन।’

कांग्रेस सहमहामन्त्री तथा शेखर-गगन समूहका नेता जीवन परियार पनि सोचेअनुसारको भोट नआएको बताउँछन्। उनी भन्छन्,’सोचेअनुसार भोट आएन। परिवर्तन बिस्तारै हुन्छ। ककसले भोट हालेन र किन हालेन भनेर भन्ने अवस्था भएन। गोप्य मतदान हो। तर समीक्षा हुन्छ।’

परिवर्तन र नेतृत्व पुस्तान्तरणको नारा अघि सार्दै महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, नेता प्रदीप पौडेललगायतले समर्थन गरेका थिए। शेखर कोइराला आफू पछि हटेर थापालाई दलको नेताको उम्मेदवार बनाउन प्रस्ताव गरे।

देउवालाई उपसभापति पूर्णबहादुर खड्काले प्रस्ताव गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थक बसे। देउवालाई प्रकाशमान सिंह, शशांक कोइराला, विमलेन्द्र निधिको साथ थियो।

शेखर-गगन समूहका ३२ सांसद, यीमध्ये ७ जनाले थापालाई भोट हालेनन्

डा.शेखर कोइराला
गगन थापा
विश्वप्रकाश शर्मा
अर्जुननरसिंह केसी
दीपक गिरी
सञ्जय गौतम
चन्द्र भण्डारी
योगेश शेरचन थकाली
सन्तोष चालिसे
राजेन्द्रकुमार केसी
हृदयराम थानी
प्रदीप पौडेल
राजेन्द्र बजगाईं
दिलेन्द्रप्रसाद बडू
दिक्पालकुमार शाही
देव तिमिल्सिना
रामनाथ अधिकारी
रामकृष्ण यादव
सुरेन्द्रराज आचार्य
सुनिलकुमार शर्मा
तेजुलाल चौधरी
डिगबहादुर लिम्बू
जीवन परियार
सरिता प्रसाईं
प्रतीमा गौतम
मैना रावल कार्की
लीला बोखिम
सीता मिजार
बिनाकुमारी थनेत
सपना राजभण्डारी
कुसुम थापा
मुक्ताकुमारी यादव


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + twenty =