पहिलो संसद्‌ : सांसदले मध्यरातमा लिएका थिए शपथ

सन्तोष खडेरी ६ पुष २०७९ १९:०७
2.5k
SHARES
पहिलो संसद्‌ : सांसदले मध्यरातमा लिएका थिए शपथ

प्रतिनिसभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको शपथ ग्रहण पुस ७ गते बिहीबारका लागि तय भएको छ। संघीय संसद् सचिवालयले दिनको १ बजे प्रतिनिधिसभा बैठक कक्ष नयाँबानेश्वरमा शपथ ग्रहणको कार्यक्रम राखेको हो।

नेपालमा संसदीय अभ्यासको इतिहास झन्डै ६ दशक लामो भए पनि त्यो अनवरत रुपमा सञ्चालन हुन सकेन। २०१५ सालमा सम्पन्न पहिलो आमनिर्वाचनपछि पहिलो पटक २०१६ असारमा संसद् सुरु भएको थियो। उक्त संसद् १६ महिनासम्म पनि चल्न सकेन। २०१७ पुस १ गते राजा महेन्द्रले सैन्य बलका आधारमा कु गरी विघटन गरे।

तीन दशकपछि वि.सं. २०४८ मा संसदीय अभ्यासको अर्को शृंखला सुरु भएको हो। त्यसपछि २०५९-६२ सम्म संसद् नरहेको भए पनि २०६२-६३ सालको दोस्रो जनआन्दोलनपछि प्रतिनिसभा पुनर्स्थापना भयो। त्यसयता मुलुकमा निरन्तर संसदीय अभ्यास भइरहेको छ। यसै सन्दर्भमा यहाँ २०१६ सालको पहिलो संसद्का प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण समारोहका बारेका चर्चा गरिएको छ।

२०१५ सालको निर्वाचन

२०१५ साल फागुन ७ मा पहिलो आमनिर्वाचन सुरु भएको थियो। विभिन्न चरणमा भएको उक्त निर्वाचन सोही २१ चैतमा सम्पन्न गर्ने लक्ष्य थियो। अन्तिम चरणका लागि तोकिएको बाग्लुङको एक मतदान केन्द्रमा हिमपातका कारण मतदान हुन सकेन। उक्त मतदान केन्द्रमा वैशाख २५ मा निर्वाचन सम्पन्न भएको थियो र त्यसको नतिजा सोही २७ वैशाखमा मात्र सार्वजनिक गरिएको थियो। त्यतिबेला प्रतिनिधिसभातर्फ कुल १०९ वटा सिटका लागि मतदान भएको थियो।

२०१६ वैशाख २८ गते उक्त निर्वाचनको अन्तिम मत परिणाम जारी भएको थियो। जसअनुसार नेपाली कांग्रेस ७४ सिट, नेपाल राष्ट्रवादी गोरखा परिषद् १९ सिट, संयुक्त प्रजातन्त्र पार्टी ५ सिट, नेपाल कम्युनिस्ट पार्टी ४ सिट, नेपाल प्रजापरिषद् (आचार्य गुट) २ सिट, नेपाल प्रजापरिषद् (मिश्र गुट) २ सिट र स्वतन्त्र उम्मेदवारले ४ सिट हासिल गरेका थिए। (नेपालको संसदीय निर्वाचन दर्पण, निर्वाचन आयोग; २०६३)

सरकार गठन र शपथग्रहण

निर्वाचनमा २ तिहाई बहुमत प्राप्त दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा बीपी कोइराला निर्वाचित भएका थिए। कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ गते मन्त्रिमण्डल गठन भएको थियो। उक्त मन्त्रिमण्डलले २००७ सालको अन्तरिम संविधानअनुसार शपथ लिएको थियो। २०१५ सालको नयाँ संविधान २०१६ साल असार १५ सम्म पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको थिएन।

संविधानको भाग-२ मा ‘तोकिएको दिन’ भन्ने प्रावधान राखिएको थियो। त्यस प्रावधानअनुसार संविधानको पूर्ण कार्यान्वयनका लागि राजाबाट शाही घोषणाद्वारा निधो गरिएको दिनबाट लागू हुने व्यवस्था थियो। जसलाई ‘तोकिएको दिन’ भनिएको थियो। असार ४ गतेको सूचनाअनुसार त्यही तोकिएको दिन असार १६ लाई निधो गरिएको थियो। असार १६ गते बिहान ०४:५९ बजे बाट मात्र पूर्ण रुपमा कार्यान्वयनमा आउने घोषणा गरिएको थियो। असार ४ कै अर्को सूचनाअनुसार राजदरबारले सूचना जारी गरी प्रतिनिधिसभाको पहिलो अधिवेशन सोही असार १६ गते राति ११:४५ बजेका लागि आह्वान गरेको थियो। (नेपाल राजपत्रका वि.सं. २०१६ असारका विभिन्न अंक)

असार १६ गतेकै दिन १५ मिनेटको समय फरक पारेर दुईवटा शपथ ग्रहण समारोह आयोजना गर्ने कार्यतालिका थियो। पहिले राति ११:३० मा नारायणहिटी राजदरबारमा मन्त्रिपरिषदको शपथ ग्रहण आयोजना गरिएको थियो। दोस्रो ११:४५ मा प्रतिनिधिसभा आह्वान गरिएको थियो। जहाँ प्रतिनिधिसभा सदस्यहरूले शपथ लिँदै थिए।

असार १६ गते राति साढे ११ बजे नारायणहिटी राजदरबारमा पहिले बीपी कोइरालाको मन्त्रिपरिषद्ले नयाँ संविधानअनुसार राजाबाट शपथ लिएका थिए। शपथ ग्रहण समारोह भइरहँदा टेलिफोनका माध्यमबाट सिंहदरबारस्थित रेडियो नेपालको प्रसारण केन्द्रमा जोडेर प्रत्यक्ष प्रसारण गरिएको थियो। (पहिलो संसद बीपी-महेन्द्र टकराव, जगत नेपाल; २०७२)

ग्यालरी बैठकमा प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण

असार ४ गतेको राजदरबारको सूचनाअनुसार सोही असार १६ गते मंगलबार रातको ११:४५ बजे सिंहदरबारको ग्यालरी बैठकमा बैठक आह्वान गरिएको थियो। त्यतिबेला भोजपुर मध्य, क्षेत्र नम्बर १९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित खड्गबहादुर कार्कीलाई पठाइएको आह्वान सूचनापत्र ट्विटरमा माधव कार्कीजीबाट प्राप्त भएको छ। उक्त आह्वान सूचनापत्रमा संसदका सचिव कुलशेखर शर्माको हस्ताक्षर छ। त्यस्तै पत्र पठाइएको स्थान र मितिका रूपमा ग्यालरी बैठक, काठमाडौँ ४ असार २०१६ लेखिएको छ। पत्रको व्यहोरा यस्तो छ :

‘नेपाल अधिराज्यको संविधान धारा २६ अनुसार श्री ५ बाट प्रतिनिधिसभालाई संवत् २०१६ साल, असार १६ गते, रोज ३ मा रातको ११:४५ बजे, ग्यालरी बैठक काठमाडौँमा आह्वान गरिबक्सेकाले तपाईँलाई सूचना गरिएको छ।’

यसरी नारायणहिटीमा सरकारको शपथ ग्रहण सकिएपछि संसद्को अर्को शपथ ग्रहण निर्धारित समयमा ग्यालरी बैठकमा सुरु भएको थियो। आआफ्नो डेरामा बेलुकाको खाना खाएर अधिकांश सांसद प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण समारोहका लागि पैदलै हिँडेर दरबार पुगेका थिए। कार्यक्रम सकिएपछि पनि दरबारबाट हिँडेरै सिंहदरबारस्थित ग्यालरी बैठक पुगेका थिए। केही सांसद मन्त्रीहरूको मोटर चढेर ग्यालरी बैठक पुगेका भए पनि अधिकांश सांसद हिंडेरै पुगे। त्यो बेलासम्म काठमाडौँमा सार्वजनिक यातायातको सुविधा थिएन। त्यस्तै आफ्नो निजी मोटर हुने सांसद नगण्य थिए। (पहिलो संसद् बीपी-महेन्द्र टकराव, जगत नेपाल; २०७२)

निर्धारित समय ११:४५ बजे नै ग्यालरी बैठकमा प्रतिनिधिसभा सदस्यहरू जम्मा भएपछि प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक सुरु भयो। त्यसपछि प्रतिनिधिसभाका सचिव कुलशेखर शर्माले दरबरबाट राजा महेन्द्रका प्रमुख सचिव हंसमान सिंहले पठाएको पत्र सबै सदस्यसमक्ष पढेर सुनाएका थिए। पत्रको व्यहोरा यस्तो थियो :

‘प्रतिनिधिसभाको नियमावली २०१६ को दफा १३ अनुसार नियमित रूपले प्रतिनिधिसभाको सभामुखको निर्वाचन नभएसम्म प्रतिनिधिसभाको कामकाज चलाउनालाई गुल्मी उत्तर पूर्व क्षेत्र नं. ८९ गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनीत गर्ने श्री ५ महाराजाधिराजका हजुरमा श्री प्रधानमन्त्रीज्यूले मौखिक बिन्ती गर्नुभएकोमा प्रतिनिधिसभाको काम चालू गर्नालाई श्री गिरीप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनीत गर्ने स्वीकृति प्रदान गरिबक्सेको छ।’ (प्रतिनिधिसभाको १६ असार २०१६ को अभिलेख)

त्यसपछि त्यहाँ प्रतिनिधिसभाका सचिवले प्रतिनिधिसभा सदस्य गिरीप्रसाद बुढाथोकीलाई पद तथा गोपनीयताको शपथ दिलाए। गिरी प्रसाद बुढाथोकीले सभाको अध्यक्षता ग्रहण गरे। बुढाथोकीले अध्यक्षता ग्रहण गरेपछि सभाका थप १०५ जना सदस्यलाई उनै सचिवद्वारा शपथ ग्रहण गराइएको थियो। प्रतिनिधिसभाको उक्त दिनको अभिलेखअनुसार बुढाथोकीपछि सदस्यहरूमा सबैभन्दा पहिले प्रधानमन्त्री बीपी कोइरालाले शपथ लिएका थिए।

क्रमसंख्याबमोजिम राखिएको नामावलीअनुसार पहिले मन्त्रिपरिषद्का सदस्यहरूले शपथ लिएका थिए। त्यसपछि अन्य सदस्यहरूले शपथ लिँदा उक्त दिन सबैभन्दा अन्तिममा भीमबहादुर कार्कीले शपथ लिएका थिए। कार्की पश्चिम १ नम्बरको निर्वाचन क्षेत्र नम्बर १०९ नुवाकोट दक्षिणबाट नेपाल राष्ट्रवादी गोर्खा परिषदका तर्फबाट निर्वाचित भएका थिए।

निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार शिवराज पन्त निर्वाचन क्षेत्र नम्बर ७० र ७१ दुबै ठाउँबाट निर्वाचित भएका थिए। पन्तले ७० बाट राजीनामा गरेपछि त्यहाँ उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए। जोशीलाई २०१६ साल चैत २४ गतेको बैठकमा सभामुख कृष्णप्रसाद भट्टराईले सदनभित्रै शपथ दिलाएका थिए।

त्यस्तै नेपाली कांग्रेसका अर्का उम्मेदवार सुवर्णशमशेर जबरा क्षेत्र नम्बर ५२ (बारा मध्य उत्तर), क्षेत्र नम्बर ५३ (बारा पर्सा पूर्वान्त) र क्षेत्र नम्बर ९१ (गुल्मी दक्षिण-पश्चिम) बाट निर्वाचन जितेका थिए। पछि नियमानुसार सुवर्णले क्षेत्र नम्बर ५३ लिएर अन्य दुई क्षेत्र छोडेका थिए। उनले छाडेका ती २ निर्वाचन क्षेत्रमा पछि फेरि उपनिर्वाचन भएको थियो। त्यहाँ उपनिर्वाचनबाट निर्वाचित सदस्यहरूलाई पनि पछि सभामुख भट्टराईले सदनभित्रै शपथ दिलाएका थिए।

उक्त शपथ ग्रहणबारे अन्तराष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार :

नेपालमा असार १६ गते एउटै दिन मन्त्रिपरिषद् र निर्वाचित सांसदहरूले शपथ लिएको विषयमा अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले समेत समाचार सम्प्रेषण भएको थियो। अन्तराष्ट्रिय समाचार संस्था यूपीआईमार्फत अमेरिकाको लोवा राज्यबाट प्रकाशित हुने ‘दी सिडर र्यापिड्स गजेट’ को सन् १९५९ को २ जुलाईको अंकमा प्रकाशित समाचार अंश :

‘यस प्राचीन हिन्दु अधिराज्यको जनप्रतिनिधि सम्मिलित पहिलो सरकार र निर्वाचित लोकप्रिय संसदले बुधबार शपथ लिए। त्यही समयमा राजा महेन्द्रले देशको पहिलो संविधान लागू गरे, जसअन्तर्गत पुरानो हिन्दु राजतन्त्रात्मक शासनशैलीलाई ब्रिटिस शैलीको संवैधानिक राजतन्त्रले प्रतिस्थापन गर्नेछ।’ (दी सिडर र्यापिड्स गजेट लोवा २-जुलाई-१९५९)

नेपालमा दुवै शपथ ग्रहण कार्यक्रम मंगलबार १६ असारमा आयोजना गरिएको भए पनि सांसदहरूले शपथ लिँदा भने अर्को दिन बुधबार १७ असार भइसकेको थियो। त्यसैले पहिलो संसद् अधिवेशन २०१६ असार १६-१७ उल्लेख गरेको पाइन्छ। यो समाचारमा बुधबारमा शपथ लिए भनी भनिएको छ। त्यस्तै असार १६ गते बिहान ०४:५९ बजे बाट मात्र २०१५ सालको संविधान पूर्ण रुपमा कार्यान्वयनमा आएको थियो।

पहिलो सभामुखको निर्वाचन

असार १६ गतेको उक्त शपथपछि फेरि प्रतिनिधिसभाका सचिव शर्माले राजाका प्रमुख सचिव सिंहबाट प्राप्त अर्को पत्र पढेर सुनाएका थिए। पत्रको व्यहोरा यस्तो थियो :

‘श्री संसद् सचिवालय सिंहदरबार, प्रतिनिधिसभा नियमावली २०१६ को भाग ३ को दफा ९ को १ बमोजिम प्रतिनिधिसभाको सभामुखको निर्वाचनलाई २०१६ असार १८ गते रोज ५ का दिन निर्वाचन गर्नु भन्ने हुकुम बक्सेको छ।’ (प्रतिनिधिसभाको १६ असार २०१६ को अभिलेख)

उक्त पत्रपछि सभा बैठक २०१६ साल असार १८ गते बिहीबार दिउँसो ३ बजे सम्मका लागि स्थगित गरिएको थियो। उक्त अभिलेखमा १८ गते सम्मका लागि स्थगित गरिएको उल्लेख भएपछि तल समय २ बजेर १० मिनेट लेखिएको थियो। त्यसबाट असार १६ गते राति ११:४५ बजे सुरु भएको सभा अर्को दिन १७ असार बिहान २:१० बजेसम्म चलेको देखिन्छ। भारतीय दूतावासले त्यतिबेला दिल्लीस्थित विदेश मन्त्रालयमा पठाएको प्रतिवेदनमा दुई घण्टाभन्दा बढी समयसम्म चलेको उक्त प्रतिनिधिसभा बैठकमा जननिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले राजा र संविधानप्रति निष्ठाको शपथ लिएको उल्लेख गरेको थियो।

असार १८ गतेको बैठकमा सभामुख चयन भएका थिए। कार्यकारी अध्यक्ष बुढाथोकीको अध्यक्षतामा दिउँसो ३:०५ बजे बैठक प्रारम्भ भएको थियो। उक्त बैठकमा पहिले नेपाल राष्ट्रवादी गोरखा परिषद्‌बाट मृगेन्द्रशमशेर जबराले देववीर पाण्डेलाई सभामुख चुनियोस् भनी प्रस्ताव गरे जसलाई अर्का सदस्य बेनीबहादुर कार्कीले समर्थन गरे।

नेपाली कांग्रेसबाट विश्वबन्धु थापाले कृष्णप्रसाद भट्टराईलाई सभामुख चुनियोस् भनी प्रस्ताव गरे जसलाई अर्का सदस्य रुद्रप्रसाद गिरीले समर्थन गरे। त्यसपछि मृगेन्द्रशमशेर जबराले देववीर पाण्डेको नाम फिर्ता लिएपछि एकमात्र प्रस्ताव बाँकी भएकाले सभामुखमा कृष्णप्रसाद भट्टराईको नाम स्वीकृत भयो। यसरी कृष्णप्रसाद भट्टराई मुलुकको पहिलो प्रतिनिधिसभाको पहिलो सभामुख चुनिए।

असार १९ गतेको अर्को बैठकमा प्रतिनिधिसभाका सचिव कुलशेखर शर्माले नवनिर्वाचित सभामुख कृष्णप्रसाद भट्टराईलाई पद तथा गोपनीयताको शपथ दिलाए। सोही दिन दिउँसो २ बजेर ४ मिनेट जाँदा नवनिर्वाचित सभामुख भट्टराईले सभामुखको अध्यक्षता गरे। (प्रतिनिधिसभाको १८ र १९ असार २०१६ को अभिलेख)

प्रकाशित: ६ पुष २०७९ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =