गण्डकीका मुख्यमन्त्रीको सनसनी भिडियो सार्वजनिक गर्ने पूर्वमन्त्री खड्काको चेतावनी

हिमाल प्रेस १ मंसिर २०७९ ११:५६
गण्डकीका मुख्यमन्त्रीको सनसनी भिडियो सार्वजनिक गर्ने पूर्वमन्त्री खड्काको चेतावनी

पोखरा- मतदानको दिन नजिकँदै गर्दा एकपछि अर्को मन्त्री बर्खास्त गरेका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलमाथि राज्यकोषको चरम दुरुपयोग गरेको आरोप लागेको छ। 

नेपाली कांग्रेससहितको गठबन्धनलाई चुनावमा असहयोग गरेको आरोप लगाउँदै पोखरेलले २२ कात्तिकमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीबाट हरिशरण आचार्य र २९ कात्तिकमा सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री कुमार खड्कालाई स्पष्टीकरण समेत दिने मौका नदिई एक्कासि बर्खास्त गरेका थिए।

पहिले बर्खास्तगीमा परेका नेपाल समाजवादी पार्टीका सांसद आचार्य सत्ता गठबन्धनका डा। बाबुराम भट्टराई र प्रचण्डप्रति रोष प्रकट गरे पनि मुख्यमन्त्रीप्रति भने नरम देखिएका थिए। तर त्यसको ठिक एक सातापछि बर्खास्तगीमा परेका खड्काले भने मुख्यमन्त्रीको कार्यशैलीप्रति कडा टिप्पणी गरे। आफ्नो अपमानजनक बहिर्गमनमा मुख्यमन्त्रीको नियत खराब हैन भन्ने प्रमाणित गर्न चुनौती दिए।

खड्काले बिहीबार पत्रकार सम्मेलन गरेर आफू बर्खास्तगीमा पर्नुको चित्तबुझ्दो र स्पष्ट जवाफ मुख्यमन्त्रीले नदिए उनले राज्यकोषको दुरुपयोग गरेको ‘सनसनी भिडियो’ सार्वजनिक गर्ने चेतावनी दिएका छन्। 

कास्की २ ९२० बाट पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका बिन्दुकुमार थापालाई हराउन ‘चलखेल’ गरेको आरोपमा मुख्यमन्त्रीले बर्खास्तगी गरेको भनिए पनि त्यस्तो हुन नसक्ने उनको दाबी छ। 

आफू कांग्रेसप्रति प्रतिबद्ध रहेको बताउँदै उनले मन्त्री पदमा रहँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेर कीमार्थ आफू अघि बढ्न नसक्ने स्पष्ट पारे। ‘कानुनले मन्त्रीको पदमा बस्ने, जनताका प्रतिनिधि भनेर कसम खाने तर कानुन तोड्दै हिँड्ने। म कीमार्थ गर्न सक्दिनँ। मन्त्री पद त के कांग्रेसको साधारण सदस्य नै किन नजाओस्,’ उनले भने।

पछिल्लो समय मुख्यमन्त्रीसँग सम्बन्ध चिसिएकोमा सहमति जनाउँदै उनले भने, ‘पछिल्ला समयमा जतिजति समय घर्किँदै गयो, त्यतित्यति संयमका बाँधहरू फुट्दै गयो।’

‘माइतीघाट १ सय करोडको पुल बनाउन उहाँले चाहनु भाको छ। जबकि त्यही नजिकै एउटा मोटरेबल पुल छ। प्रदेशले १ सय करोडको पुल बनाउनु हुँदैन। ५–५ करोडका २० वटा पुल बनाउँ मुख्यमन्त्रीज्यू भन्दै प्रतिवाद गरेँ। मैलेमात्र हैन, मेरो पूरै टिमले प्रतिवाद गर्‍यो,’ उनले पत्रकारहरूसँग भने, ‘करदेखि सबै कुरामा म मुछिन थालेँ। जबकि यसमा म संलग्न छैन। प्रवक्ता भएपछि बोल्नै पर्‍यो। यसो गर्दा प्रहार जति मलाई आयो। जबकि म भित्रभित्रै विरोध गरिरहेकै छु। यस विषयमा मुख्यमन्त्री र अर्थ मन्त्रालय जिम्मेवार हो भन्ने कुरा बुझ्नुपर्छ।’

पूर्व पदाधिकारीलाई गाडी लगायतका थुप्रै सुविधा दिने कुरामा आफूलगायत अर्का मन्त्रीले यो प्रस्ताव आयो भने तत्क्षण राजीनामा दिएर पत्रकार सम्मेलन गरेर जनतामा जाने चेतावनी दिएकोमा बर्खास्तगीको कारण हुन सक्ने उनले आशंका गरे।

उनले भने, ‘निर्वाचन आचारसंहिता सकिने बित्तिकै त्यो प्रस्ताव आउँछ र एक डेढ करोडका गाडी खरिद गर्ने प्रक्रियाहरू अघि बढाएको पनि गन्धहरू हामीले पाइरहेका छौं। ती प्रस्तावहरूमा हाम्रो विमति पनि मन्त्री पदबाट बर्खास्तगीका कारण हुन् कि भन्ने आशंका छ।’

उनले आफ्नो कार्यकालमा गण्डकी प्रदेशमा विभिन्न विकास आयोजना सफल पार्न मुख्य भूमिका खेलेको दाबी गरे। उनले यातायात व्यवस्था कार्यालय गण्डकीमा लाइसेन्सलगायत विभिन्न झन्झटिलो प्रक्रिया सुधार्नु महत्त्वपूर्ण उपलब्धि हो भने।

मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा खड्का आफैँ कास्की २ ९२० बाट टिकट चाहन्थे। तर उनले सुरुमै गुटगत भेला डाकेर आफू मुख्यमन्त्रीको दाबीसहित टिकट माग गरे पनि कांग्रेस नेतृत्वले बिन्दुलाई पुनः दोहोर्‍याएको हो। टिकट नपाएपछि उनमा असन्तुष्टि चुलिएको थियो। आगामी चुनावमा भने बिन्दुकुमार थापा र एमालेकी मीना गुरुङसँग कडा प्रतिस्पर्धा छ।

२०७८ जेठ २९ मा मुख्यमन्त्री पोखरेल नेतृत्वमा सरकार गठन भएको थियो। त्यस दिन नै मुख्यमन्त्री पोखरेलले विश्वास पात्रको रुपमा खड्कालाई मन्त्री नियुक्ति गरेकोमा उनलाई ११ असारमा शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि एवं सामाजिक विकास मन्त्रीको जिम्मेवारी थमाएका थिए। 

पछि ८ साउनमा खड्का भौतिक पूर्वाधार मन्त्री नियुक्ति भएका हुन्। १२ सदस्यीय रहेको गण्डकीको मन्त्रिमण्डल २ मन्त्रीको बहिर्गमनसँगै १० सदस्यीयमा झरेको छ।

प्रकाशित: १ मंसिर २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =