काभ्रेपलाञ्चोकमा स्थानीयलाई मतदाता शिक्षा

हिमाल प्रेस १ मंसिर २०७९ ११:५५
काभ्रेपलाञ्चोकमा स्थानीयलाई मतदाता शिक्षा

काभ्रे- आसन्‍न निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकले मतदाता शिक्षा कार्यक्रममा प्रभावकारी ढंगले सञ्चालन गरिरहेको छ। 

आयोगको निगारानीमा कात्तिक १८ देखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भइरहेको निर्वाचन अकिारी उमेश राईले जानकारी दिए। 

निर्वाचनको निष्ठा र औचित्य जोगाउँदै मर्यादितरुपमा निर्वाचन सम्पन्न गर्नका लागि घर/घरमा पुगी मतदातालाई शिक्षा दिइएको उनको भनाइ छ। विगतका निर्वाचनमा जस्तो मतबदर नहोस् र सबै मत गणनायोग्य बनाउने उद्देश्य मतदाता शिक्षा कार्यक्रम लागु गरिएको उनको भनाइ छ।

जिल्लाका सबै स्थानमा स्थानीय स्वंयमसेविकाहरुको अग्रसरतामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो। हाल जिल्लाका सबैजसो ठाउँमा नमूना मतदान भइसकेको र परिणाम सन्तोषजनक रहेको आयोगको भनाइ छ। 

स्थानीय स्रोतको परिचालनबाट सञ्चालित कार्यक्रमको अनुगमन स्थानीय तहले तोकेका निर्वाचन सम्पर्क व्यक्तिले गरिरहेका छन्। स्थानीय वडा सचिवको संयोजकत्वमा सञ्चालन भएको मतदाता शिक्षा कार्यक्रम प्रभावकारी र फलदायी भएको रोशी गाउँपालिकाका निर्वाचन सम्पर्क व्यक्ति धनबीर तामाङले बताए।

निर्वाचन सफल बनाउन स्थानीयस्तरबाटै मतदाता शिक्षामा जोड दिइएको नवबुद्ध नगरपालिका वडा नम्बर २ का सचिव मुरारी सत्यालको भनाइ छ। साथै, भुम्लू गाउँपालिकामा भने मतदाता शिक्षा तुलनात्मक रुपमा कम प्रभावकारी भएको सम्पर्क व्यक्ति प्रेमकुमार पुरीले बताए। 

‘गाउँपालिकाका माझी समुदायका मतदातामा शैक्षिक अवस्था कमजोर हुँदा कार्यक्रम अपेक्षाकृत रुपमा प्रभावकारी हुन सकेको छैन’, उनले भने। 

जिल्लामा १३ वटा स्थानीय तह छन्। ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका रहेको जिल्लामा अधिकांश मानिसहरू कृषिमा आबद्ध छन्। दिउँसोको समयमा व्यक्तिहरु काममा हुने भएकाले बिहान र दिउँसोको समयमा घरदैलो गर्दै शिक्षा दिइरहेको तामाङको भनाइ छ। 

निर्वाचन आयोग काभ्रेका अनुसार जिल्लामा तीन लाख १० हजार ६३ मतदाता छन्। जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि निर्वाचन हुँदैछ। आसन्न निर्वाचनमा ३१ वटा राजनीतिक दल तथा केही स्वतन्त्रहरुले उम्मेदवारी दर्ता गराएका छन्। 

जिल्लामा तीन सय ८९ मतदान केन्द्र रहनेछन् भने निर्वाचनमा तीन हजार एक सय १२ जना कर्मचारी खटाइने आयोगको भनाइ छ। प्रतिनिधिसभा र प्रदेश सभाका ६ पदका लागि दुई महिला र एक दलितसहित ६४ जना उम्मेदवार छन्।

प्रकाशित: १ मंसिर २०७९ ११:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =