मोरङ-३ : ढकाल र शर्मालाई रेखाको चुनौती

हिमाल प्रेस ३० कार्तिक २०७९ ११:४९
मोरङ-३ : ढकाल र शर्मालाई रेखाको चुनौती

मोरङ- प्रतिनिधिसभा सदस्यमा  मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। सत्ता गठबन्धन र  एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी वातावरण रोचक बनेको छ।

२०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो। ढकालले ४२ हजार चार सय १३ मतसहित चुनाव जित्दा शर्माले ४० हजार पाँच सय छ मत पाएका थिए।

नायिका थापाको उम्मेदवारीले यसपटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। एमालेलाई बलियो संगठनको भरोसा छ। शर्मा गठबन्धनको भर परेका छन्।

नायिका थापा मोरङ-३ मा मतदाताले आफूलाई साथ दिने बताउँछिन्। जनताको सेवा गर्ने भावनाले नै चलचित्र क्षेत्रलाई केही समयका लागि थाँती राखेर चुनाव लड्न आएको उनको भनाइ छ। कांग्रेसका जयराज संयोकले बागी उम्मेदवारी दिएका छन्।

मोरङ क्षेत्र नं ३ मा संघीयय र प्रदेशमा गरी ३३ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये १९ जना स्वन्तन्त्र उम्मेदवार छन्।

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका चौबीस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता छन्।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत संख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ। एकल मतमा भने एमाले थोरै अगाडि छ। निर्वाचनमा एमालेको ३७ हजार चार सय १० र जनता समाजावादी पार्टीको चार सय ६३ मत आएको थियो।

जसपा-एमाले गठबन्धनमा ३७ हजार आठ ७३ मत देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई हजार एक सय २१ मत छ। कांग्रेसको ३६ हजार नौ सय १६, माओवादी केन्द्रको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत रहेको छ। सत्ता गठबन्धनको कुल मत ४६ हजार एक सय ४१ रहेको छ।

गत स्थानीय तहको निर्वाचनलाई हेरेर यो पटक अनुमान लगाउन सकिने अवस्था छैन । किनकि चलचित्र क्षेत्रमा सफलता हात पारेकी थापाको उपस्थितिले आगामी निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने पक्का छ।

यतीबेला संगठनको आडमा निर्वाचनको नतिजा हात पार्न दाउमा एमालेका ढकाल देखिन्छन् भने शर्मा गठबन्धनको साथ भएकाले ६० हजार मत ल्याएर जित्ने दाबी गरिरहेका छन्। यता थापा पनि मोरङ ३ ले परिवर्तन रोजेर युवा विद्रोहमा साथ दिने दाबी गरिरहेकी छन्।

ढकालको विवादित छवि

पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भने हरेक ठाउँमा एउटै आरोप लाग्ने गरेको छ। त्यो आरोप हो ‘ढकाल भ्रष्टाचारी हो’। ढकाल माथि लाग्ने गरेको उक्त आरोपका कारण उनको छवि विवादित बनेको छ। त्यति मात्रै हैन उनीमाथि आफ्नो सिट सुरक्षित गराउन तेह्रथुमबाट मोरङ आएर जितेको तर जित पछि फर्किएर आफ्नो क्षेत्रमा नआएको भन्ने आरोप पनि छ।

स्वास्थ्य मन्त्री बनेको बेला ओम्नी प्रकरणमा ढकालको संलग्नता रहेको आरोप रहेको छ। त्यस विषयमा उनले कुनै प्रकारको प्रतिक्रिया दिएका छैनन्। उनको आफ्नै निर्वाचन क्षेत्रमा पार्ने सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १ मा भएको एमालेको कार्यकर्ता भेलामा ढकालको विरुद्धमा कार्यकर्ताले नै नाराबाजी गरेको एमालेका स्थानीय नेता बताउँछन्।

एमाले कार्यकर्ता भन्छन् ‘पार्टीले विवादित छवि भएका ढकाललाई फेरि निर्वाचनको लागि खडा गर्नाले कार्यकर्ताहरू रुष्ट छन्। हामी त कार्यकर्ता हौ पार्टीको निर्देशन मान्नै पर्छ। तर काम भन्दा बढी आरोप लागेका व्यक्तिलाई फेरि भोट हाल्नुहोस् भन्दै जनतासँग कसरी जाने ? लाजमर्दो अवस्था छ ।’

त्यसो त अघिल्लो निर्वाचनमा निकै दौडधुप गरेर जनताको घर आँगनमा पुगेका ढकाल यस पटक खुलेर जनतामाझ जान सकेका छैनन्। उनी प्राय कार्यकर्ता भेटघाट र उनीहरूलाई परिचालन गराउनमै व्यस्त देखिन्छन्।

अन्तर्घातको चपेटामा शर्मा

यस अघिको प्रतिनिधि सभा निर्वाचनमा एमालेका ढकालसँग करिब २ हजार मतले पराजित भएका शर्मा यस पटक गठबन्धनको साथ भएकाले ६० हजार मत ल्याएर जित्ने दाबी गरिरहेका छन्। तर मैदानमा देखिएको यथार्थ भने फरक छ। शर्मा माथि शक्तिको आडमा आफूले चुनावको टिकट हात पारेको आरोप छ। गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस भित्रै भएको अन्तर्घातको कारण पनि शर्मालाई गठबन्धनको पूर्ण समर्थन रहनेमा अन्यौलता छ।

स्थानीय तहको निर्वाचनमा पार्टी भित्रै अन्तर्घात भएका कारण गठबन्धनले सुनिललाई समर्थन नगर्ने हो कि भन्न डर नेपाली काँग्रेस भित्रै छ। यता मोरङ ३ (क) का काँग्रेसका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि थापाको स्थान उनकै श्रीमती लक्ष्मी कार्की थापाले पाउनुपर्ने आवाज नेपाली काँग्रेस भित्रै उठेको थियो।

तर शर्माले शक्तिको आडमा आफ्नै मान्छेलाई खुसुक्कै टिकट दिएको भन्दै कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन आयोगको कार्यालय बेलबारीमा शर्मा विरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले ‘तानासाही मुर्दावाद, पथरीशनिश्चरे एक हौँ’ लगायतको नारा लगाएका थिए।

प्रदेश १ का वन तथा वातावरण मन्त्री समेत रहेका थापाको स्थान शर्माले अर्कै व्यक्तीलाई दिएकाले पथरी नगरपालिकाका काँग्रेसहरू शर्मालाई मत नहाल्ने पक्षमा उभिएका छन्। उक्त घटना पछि शर्माका सहयात्रीहरू रेखा थापाको घरदैलोमा उपस्थित भएको दृश्यहरू समेत देखिएको थियो।

नेपाली काँग्रेसका प्रदेश १ उपसभापति बाबुराम दाहालले मृतक थापाको पारिवरसँग सल्लाह नगरी खुसुक्कै उम्मेदवारी दर्ता गराएको र पीडितहरूलाई थप पीडा दिएको बताएका छन्।

निर्वाचन आयोगमा नयाँ उम्मेदवारको उम्मेदवारी दर्ता हुँदै गर्दा उनी लगायतको टिमले काँग्रेस नेतृत्वको विरोधमा नारावादी गरेको थियो। उनले भने ‘शेखरचन्द्र थापाको श्रीमतीले मेरो श्रीमानको प्रतिनिधित्व मैले गर्छु भनिरहँदा उहाँलाई एक वचन नसोधी, उहाँलाई साहनुभूती पनि नदिई अर्कै व्यक्तिको उम्मेदवारी दर्ता गरिएकाले हामीले विरोध गरेका हौँ। क्षेत्रीय सभापतिलाई समेत जानकारी नभएको व्यक्तिको नाम आएको छ। म स्वयम निर्वाचन परिचालन कमिटीको उपसंयोजक हुँ तर मलाई नै जानकारी छैन। यो निर्णय नसच्याए हामी निर्वाचनमा सहभागी नै हुँदैनौ।’

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका हेमन्त सुवेदीले प्रतिनिधि सभाका उम्मेदवार सुनिल शर्माले उम्मेदवार चयनमा सल्लाह गर्ने आश्वासन दिएर एकलौटी निर्णय गरेको आराेप लगाएका छन्। उनले भने ‘हिजो सल्लाह गर्ने आश्वासन दिएर रातारात चलखेल गरेर मानबहादुर लिम्बुलाई टिकट किन दिइयो? कसरी दिइयो? पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई समेत जानकारी नदिई तानासाह देखाइएको छ। जबरजस्ती मानबहादुरको नाम आएको छ। यो हामीलाई मान्य हुँदैन।’ शेखर चन्द्र थापाको निधन पछि प्रदेशको टिकट पाउने मानबहादुर लिम्बु सुनिल शर्माका खास मान्छे हुन्। २०७४ सालको निर्वाचनमा शर्माको दायाँ हात बनेर उनले काम गरेका थिए।

गठबन्धनको भागबन्डामा टिकट पाउन नसकेका लिम्बुलाई शर्माले पहिलो प्राथमिकतामा राखेको पथरीशनिश्चरेका काँग्रेस कार्यकर्ताहरूको आरोप रहेको छ। यो घटनासँगै पथरिमा कमजोर देखिएका शर्मा माथि गत स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्र देखिएको अन्तर्घात र काँग्रेस भित्रको गुटगत द्वन्द्वले पनि थप चुनौती थपिदिएको छ।

रेखाले मार्लिन् त बाजी ?

मोरङ ३ मा संगठनात्मक हिसाबले अत्यन्त कमजोर देखिएको राप्रपाको तर्फबाट उम्मेदवार बनेकी रेखा थापाको लागि संगठन नै सबैभन्दा ठुलो कमजोरी हो। यो क्षेत्रमा जित हात पार्नका लागि उनको संगठनको मत १० गुण भन्दा बढीले बढाउनुपर्ने हुन्छ।

चलचित्र क्षेत्रमा प्रतिष्ठा कमाएकी उनी निष्कलङ्क, युवा साथै महिला हुनु उनको बलियो पक्ष हो। मोरङ ३ ले इतिहासमै पहिला पटक महिला प्रतिनिधि पाउने भन्दै महिलाहरू थापाको पक्षमा उभिएका छन्। थापा यसै क्षेत्रमा जन्मिएको र हुर्किएको हुनाले उनको पारिवारिक मत साथै उनका शुभेच्छुकहरूको मत समेत उनको साथमा छ।

त्यस्तै अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्वासी बस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ क्षेत्र नं ३ का करिब एक हजार घर परिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका थिए जसमा कानेपोखरी, बेलबारी र परिशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्वासी बस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दबाब स्वरूप आफ्नो हस्ताक्षर संसद् भवनमा पुर्‍याउन आग्रह गर्दै उक्त संकलित हस्ताक्षर रेखा थापालाई बुझाएका छन्।

त्यसमा पनि थापाको सुन्दरहरैंचा ९ मा रहेको घरको समेत धनी पुर्जा नभएकाले सुकुम्वासी समस्या मेरो आफ्नै समस्या हो भन्दै थापाले मतदातामाझ सामीप्ययता बढाएकी छन्।

करिब १ लाख ५० हजार मतदाता रहेको यो क्षेत्रमा ४० हजारको हाराहारीमा सुकुम्वासी रहेका छन्। जसको मत हरेका निर्वाचनमा निर्णायक बन्दै आएको छ। नयाँ मतदाता र युवा पुस्ताको मात्रै हैन विभिन्न कारण एमाले र काँग्रेससँग रुष्ट रहेका पार्टी भित्रैका एकाध कार्यकर्ताले पनि खुलेरै रेखालाई समर्थन गरिरहेका छन्।

जसले पनि पछिल्लो समय एमाले र काँग्रेसबीचको उन्तद्वन्दमा थापाले नतिजा हात पार्ने हो कि भन्ने विश्लेषण पनि हुन थालेको छ। यसबीच छोटो समयमा आफूलाई विकल्पको रूपमा स्थापित गर्न सफल भएकी रेखाले पुराना दल र व्यक्ती प्रतिको आम मतदाताको असन्तुष्टिको मत आफूतर्फ केन्द्रित गराएको देखिन्छ।

गठबन्धन र एमालेले एक अर्काको विरोध गरिरहँदा थापा भने २६ वटै वडामा घरदैलो कार्यक्रम सकेर क्षेत्र परिक्रमा गर्ने र विशेष बैठक गर्ने कार्यमा व्यस्त रहेकी छन्। उनी संगठन कमजोर भए पनि स्थानीयहरूले नयाँ अनुहार छान्नेमा विश्वस्त रहेकी छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =