कपिलवस्तु १ : सहज छैन चक्रपाणिको जित, बलरामलाई गठबन्धन बागीको आड

हिमाल प्रेस १ मंसिर २०७९ ११:४२
कपिलवस्तु १ : सहज छैन चक्रपाणिको जित, बलरामलाई गठबन्धन बागीको आड गठबन्धनका उम्मेदवार चक्रमणि खनाल(बायाँ), स्वतन्त्र उम्मेदवार ललित गुरुङ (बीच) र एमाले उम्मेदवार बलराम अधिकारी (दायाँ)

कपिलवस्तु- कपिलवस्तुका तीन प्रतिनिधिसभामध्ये क्षेत्र नं १ मा सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका चक्रपाणि खनाल उम्मेदवार छन्। खनालको उम्मेदवारीविरुद्ध नेपाली कांग्रेसका ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्। बागी उम्मेदवार उठ्दा एमाले यही मौकामा चुनाव जित्ने रणनीतिमा लागेको छ। एमालेले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ।

गत वैशाख ३० मा सम्पन्‍न स्थानीय तहको निर्वाचनमा कांग्रेसले २८ हजार २ सय ७१ मत पाएको छ। तर गठबन्धनले माओवादी केन्द्रका केन्द्रीय सचिव खनाललाई उम्मेदवार बनाएको छ।

२०७४ मा तत्कालीन वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित खनाल सत्ता गठबन्धनबाट पुनः दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन्। त्यो चुनावमा खनालले २९ हजार ७ सय ९९ मत ल्याएर विजयी हुँदा कांग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८ सय ५३ मत ल्याएका थिए।

तत्कालीन संघीय समाजवादी फोरम नेपालका अब्दुल रसिद खाँले ११ हजार ८ सय १२ मत ल्याएर तेस्रो बने। मत संख्या आधारमा माओवादी केन्द्र यहाँ चौथो शक्ति हो। स्थानीय तहमा माओवादी उम्मेदवारले पाएको मत ९ सय हजार ३ सय ३८ छ।

यहाँ जनता समाजवादी पार्टी जसपाले १३ हजार ५ सय १० मत पाउँदा नेकपा एकीकृत समाजवादीको मत यहाँ ३ हजार ७ सय २२ थियो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ३ हजार ४ सय २४ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ४ सय ८० मत थियो।

गठबन्धनविरुद्ध कांग्रेसका जिल्ला सदस्य गुरुङले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रचार अभियान जारी राखे। गुरुङले गठबन्धनभित्रको मत काट्ने अड्कलबाजी छ। स्वतन्त्र रूपमा उम्मेदवारी दिएका गुरुङ आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। कांग्रेसलगायत अन्य पार्टीको समर्थनबाटै आफूले चुनाव जित्ने उनको दाबी छ।

यस्तो छ विगत

एमालेले गत स्थानीय तहको निर्वाचनमा यहाँ २६ हजार ८ सय २३ मत ल्याएको थियो। २०५६ को निर्वाचनमा एमाले र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट चुनाव जितेका दानबहादुर चौधरी हाल एमालेमा छन्। हालै एमाले प्रवेश गरेका चौधरी पछिल्लो समय नेपाल समाजवादी पार्टी (नेसपा) मा छन्। चौधरीको आवगमनले एमाले बलियो देखिएको छ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधु सुदनशरण चौधरी पनि एमालेमा आएका छन्। प्रदेशसभा ‘२’ का उम्मेदवार समेत रहेका चौधरीको एमाले प्रवेशले अवस्था मजबुद  बनाएको आकलन गरिएको छ।

सत्ता गठबन्धन, एमाले र स्वतन्त्र उम्मेदवारजस्तै चर्चामा जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरी पनि छन्। जनमत पार्टीबाट प्रतिनिधिसभा १ मा उम्मेदवार बनेका चौधरीले दक्षिणी भेगको बढी मत ल्याउने अनुमान गरिएको छ।

यस्तो छ अंकगणित

वाणगंगा नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिका-५ वडा यो निर्वाचन क्षेत्रमा पर्छन्।

स्थानीय तहमा वाणगंगा नगरपालिकाका प्रमुख, उपप्रमुख एमालेले जितेको थियो। मायादेवी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष कांग्रेसले जित्दा शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ।

कपिलवस्तु नगरपालिका भने जसपाले मेयर र उपमेयर जितेको छ। कपिलवस्तुका बहुसंख्यक वडा भने क्षेत्र नं २ मा पर्छन्।

वडागत आधारमा वाणगंगा नगरपालिकाका-११ वडामध्ये वडा नं २, वडा नं ४, वडा नं ७, वडा नं ८, वडा नं ९, वडा नं १० एमालेले जितेको छ। कांग्रेसले वडा नं १, वडा नं ५, वडा नं ६ र वडा नं ११ मा जित हात पारेको छ। माओवादीले वडा नं ३ मात्र जितेको छ।

मायादेवी गाउँपालिकामा आठ वडा छन्। जहाँ जसपाले चार वडा जितेको छ। जसपाले वडा नं ३, वडा नं ४, वडा नं ६, वडा नं. ७ जितेको छ। माओवादी वडा नं १, वडा नं ५ र वडा नं ८ जितेको छ। कांग्रेसले भने वडा नं २ मात्र जितेको छ।

शुद्धोधन गाउँपालिकाका छ वडा मध्ये वडा नं १, वडा नं ४ र वडा नं ५ मात्र कांग्रेसले जितेको छ। जसपाले वडा नं २ र वडा नं ६ मा जित हात पारेको छ। वडा नं ३ मा माओवादीले जितेको छ। कपिलवस्तु नगरपालिकाका ५ वडामध्ये वडा नं ७ र वडा नं ११ जसपाले जितेको छ। वडा नं ८ र वडा नं १० कांग्रेसले जित्दा वडा नं ९ एमालेले जितेको छ।

प्रकाशित: १ मंसिर २०७९ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =