इंग्ल्यान्ड अन्तर्राष्ट्रिय टि२० क्रिकेटको नयाँ च्याम्पियन

हिमाल प्रेस २७ कार्तिक २०७९ ४:४७
इंग्ल्यान्ड अन्तर्राष्ट्रिय टि२० क्रिकेटको नयाँ च्याम्पियन

काठमाडौँ- इंग्ल्यान्ड अन्तर्राष्ट्रिय टि२० क्रिकेटको नयाँ च्याम्पियन बनेको छ। आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै इंग्ल्यान्ड विजेता बनेको हो।

इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप जितेको हो। यसअघि सन् २०१० मा इंग्ल्यान्ड अस्ट्रेलियालाई पराजित गर्दै विजेता बनेको थियो।

सन् २०१९ आईसीसी विश्वकप जितेको इंग्ल्यान्डले वेस्ट इन्डिजको सर्वाधिक पटक टि२० विश्वकप जितेको कीर्तिमान बराबर गर्याे।

सन् २०१६ मा पनि इंग्ल्यान्डले फाइनल यात्रा तय गरेको थियो। तर वेस्ट इन्डिजसँग ४ विकेटले पराजित भएपछि इंग्ल्यान्डको दोस्रो पटक च्याम्पियन बन्ने सपना पूरा हुन सकेकाे थिएन।

नयाँ च्याम्पियन बन्न पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डलाई जिताउन बेन स्टोक्सले अविजित ५२ रन बनाए।

उनले मोइन अलीसँग पाँचौँ विकेटका लागि ४७ रनको साझेदारी गरे। उनले ह्यारी ब्रुकसँग गरेको ३९ रनको साझेदारी पनि इंग्ल्यान्डका लागि महत्तवपूर्ण साबित भयो। ब्रुकले २० र अलीले १९ रनको योगदान गरे।

त्यसअघि इंग्ल्यान्डले खराब सुरुवात गरेको थियो। ओपनर एलेक्स हेल्स एक रनमा आउट भएका थिए। अर्का ओपनर जोस बट्लरले भने १७ बलमा २६ रन जोडे।

टस हारेर ब्याटिङ गरेको पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडेका थिए। उनी र कप्तान बाबर आजमबीच ३९ रनको साझेदारी बनेको थियो। मसुदले शादाब खानसँग मिलेर ३६ रन बनाएका थिए।

मोहम्मद रिज्वान र कप्तान आजमले पहिलो विकेटका लागि २९ रनको साझेदारी गर्दै पाकिस्तानलाई मध्यम सुरुवात दिलाएका थिए। रिज्वानले १५ रन जोडे भने आजमले २८ बलमा ३२ रन बटुले।

दोस्रो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको पाकिस्तानको इनिङ्स धराशयी बनाउन इंग्लिस बलर साम कुरानले १२ रन खर्चिएर तीन विकेट हात पारे। त्यसैगरी आदिल रशिद र क्रिस जोर्डनले दुई–दुई विकेट लिए।

प्रकाशित: २७ कार्तिक २०७९ ४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 4 =