‘म्याराडोना युग’ पछिकै उत्कृष्ट नापोली टिम

हिमाल प्रेस २७ कार्तिक २०७९ ४:४५
‘म्याराडोना युग’ पछिकै उत्कृष्ट नापोली टिम

काठमाडौँ- नोपालीले जम्मा दुई पटक इटालियन लिग सिरी ए जितेको छ। दुवै अवसरमा कप्तान थिए, डिएगो म्याराडोना। उनले नापोलीलाई सन् १९८९/९० मा दोस्रो पटक च्याम्पियन बनाए। त्यसपछि एक सिजन मात्र खेलेर स्पेन पुगे। त्यहाँ पनि एकै सिजन रोकिएका म्याराडोना अन्ततः अर्जेन्टिना फर्किए।

म्याराडोनाले छाडेपछि नोपालीले कहिल्यै लिग जितेन। यद्यपि केही पटक नजिक भने पुग्यो। यसपालि पनि नापोली त्यही बाटोमा छ। शनिबार उडिनेसेलाई हराएपछि नापोलीले शीर्षस्थानमाथिको पकड झनै बलियो बनायाे। किनभने नापाेली र दोस्रो स्थानमा रहेको लाजियोबीच ११ अंकको दूरी कायम भएको छ।

लाजियोको १४ खेलबाट ३० अंक छ। मिलानको पनि ३० अंक नै छ। यी दुई टिमले नापोलीको भन्दा एक खेल कम खेलेका छन्।

उडिनेसेमाथि जित निकाल्न नापोलीलाई सजिलो भएन। एक घण्टाभित्र ३–० को अग्रता बनाएको नापोलीले उत्तराद्र्धमा दुई गोल खायो। उडिनेसेले ७९ र ८२ औँ मिनेटमा गोल फर्काएको थियो। पराजित टिमका लागि इलिजा नेस्टोरोभस्की र लाजार सामारडिचले गोल गरेका थिए।

त्यसअघि स्टाडियो म्याराडोना रंगशालामा भिक्टर ओसिमहेन, पिटर जेलेन्स्की र एलिफ एल्मासले गोल गर्दै नापोलीलाई अघि बढाएका थिए।

उडिनेसेले आठ मिनेटभित्र दुई गोल फर्काएपछि ५० हजार नापोली समर्थक ‘नर्भस’ बने। ती समर्थकझैँ आत्तिएका नोपोली प्रशिक्षक लुसियानो स्पालेट्टीले आफ्नो टिमले अन्तिम १५ मिनेट बढी मेहनत गर्नु परेको प्रतिक्रिया दिए।

‘मेहनतबिना जित सम्भव छैन। अन्तिमको १५ मिनेट हामीले जसरी खेल्यौँ, त्यसको सन्देश थियो, कुनै सफलता सजिलै हात पर्दैन,’ स्पालेट्टीले भने।

सिरी ए मा नापोलीले लगातार ११ औँ जित हासिल गरेको हो। आइतबार लाजियो र मिलानले आआफ्ना खेल खेल्दैछन्। यी दुवैले जित दर्ता गरे पनि उपाधि होडमा नापोली आठ अंकले अघि रहनेछ।

इटालीमा सबैखाले प्रतियोगितामा अपराजित रहेको नापोलीले १५ खेलबाट जम्मा चार अंक मात्र गुमाएको छ। यो बीचमा उसले ३७ गोल गरेको छ। जुन सिरी ए मा कुनै पनि टिमले गरेको सबैभन्दा धेरै गोल हो।

नापोलीलाई इटालीकै सबैभन्दा आक्रामक टिम बनाउन नाइजेरियन स्ट्राइकर ओसिमहेनको भूमिका महत्त्वपूर्ण छ। उनले लिगमा नौ गोल गरिसकेका छन्। यही सिजन नापोली पुगेका भिचा करासखेलियाको नाममा ६ गोल छन्। एलिस एल्मासले भने तीन गरेका छन्। असिस्ट गर्ने मामलामा करासखेलिया, जेलेन्स्की र मारियो रुई समान छन्। यी तीनै जनाले पाँच–पाँच असिस्ट दर्ता गरेका छन्।

यो सिजन नापोलीले सुरुबाटै आक्रामक शैलीमा खेलिरहेको छ। स्पालेट्टीले कुनै पनि खेलमा यो शैलीलाई परिवर्तन गरेका छैनन्। नापोली जत्तिको आक्रामक खेल्ने अर्को टिम सिरी ए मा छैनन्। न त एउटै शैलीलाई निरन्तरता दिएका टिम छन्। यो अर्थमा नापोली इटालीको विशेष टिम बनेको छ।

सिरी ए मा अब जनवरी ५ सम्म विश्राम छ। जब यो लिग फेरि सुरु हुनेछ तब नापोलीले यही लय जारी राखे, ऊ उपाधिको थप नजिक पुग्नेछ।

नापोलीका मालिक एउरेलियो डे लउरेन्टिसले हालको टिमलाई आफ्नो कार्यकालकै उत्कृष्ट टिम भनेका छन्। आर्थिक संकटमा फसेको नापोलीलाई लउरेन्टिसले सन् २००४ मा खरिद गरेका थिए। नापोली सन् २०१८ मा सिरी ए उपाधि नजिक पुगेको थियो। माउरिजियो सारी नेतृत्वको त्यस टिमलाई म्याराडोना युगपछिको उत्कृष्ट नापोली टिम भनिएको थियो।

प्रकाशित: २७ कार्तिक २०७९ ४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =