टि२० विश्वकप : इतिहास दोहोर्‍याउने दबाबमा पाकिस्तान

हिमाल प्रेस २७ कार्तिक २०७९ ४:४४
टि२० विश्वकप : इतिहास दोहोर्‍याउने दबाबमा पाकिस्तान

काठमाडौँ- मेलबर्न क्रिकेट मैदान त्यही मैदानमा हो जहाँ पाकिस्तानले सन् १९९२ मा आईसीसी विश्वकप जितेको थियो। त्यो पनि इंग्ल्यान्डलाई हराएर। यो जितले कप्तान इमरान खानलाई पाकिस्तानकै सबैभन्दा ठूलो नायक बनाइदियो।

बाबर आजम त्यस्तै लोकप्रियता चाहन्छन्। उनका सामु अवसर पनि छ। तर यसका लागि इंग्ल्यान्डलाई आइतबारको उपाधि भिडन्तमा पराजित गर्नुपर्नेछ। मैदान उही, मेलबर्न क्रिकेट मैदान।

पाकिस्तान सन् २००९ को टि२० विश्वकप च्याम्पियन हो। पहिलो संस्करणमा पनि फाइनलमा पुगेको पाकिस्तान तेस्रो पटक उपाधिका लागि लड्दैछ।

यसपालिको यो विश्वकपमा पाकिस्तानको यात्रा निकै रोमाञ्चक रह्यो। सुपर १२ का सुरुवाती दुई खेल खेल हारेपछि पाकिस्तान सेमिफाइनलमै नपुग्ला कि भन्ने संशय उत्पन्न भएको थियो। बरु पाकिस्तानलाई पराजित गरेको भारत पो धेरैकाे नजरमा उपाधि दाबेदार थियो। तर भारत सेमिफाइनल भिडन्तमा इंग्ल्याडसँग पराजित भयो।

विश्वकप दोस्रो सातामा चल्दै गर्दा पाकिस्तानले नाटकीय पुनरागमन गर्‍यो। एकै खेल नहारेको दक्षिण अफ्रिकालाई ३३ रनले पन्छायो। यही जितले पाकिस्तानको सेमिफाइनल सम्भावना जीवित बनेको थियो। सुपर १२ को अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सको सिकार भएपछि पाकिस्तानले सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

क्रिकेट विश्लेषक के भन्छन् भने पाकिस्तानको प्रदर्शनबारे अनुमान गर्न सकिँदैन। नसोचेको जित निकाल्ने र आरामले जित्नुपर्ने खेल हारिदिने, पाकिस्तानको परिचय यस्तो पनि छ। न्युजिल्यान्डविरुद्ध पाकिस्तानले जसरी खेल्यो, जस्तो नतिजा निकाल्यो, अधिकांशका लागि अनुमान बाहिरका थिए।

उता इंग्लिस टिमको पनि अस्ट्रेलियन भूमिसँग सम्बन्धित मिठा नमिठा स्मृति छन्। सुरुमा कुरा नमिठो स्मृतिकै आउँछ। आईसीसी विश्वकप २०१५ को लिग चरणमा इंग्ल्यान्ड बंगलादेशसँग पराजित भएको थियो। एडलेइडमा भोगेको त्यो पराजयका कारण इंग्ल्यान्ड नकआउट चरणमा पुग्न सकेन।

ठ्याक्कै त्यही हारपछि इंग्लिस टिममा व्यापक परिवर्त गरियो। खेलाडीसँगै टिमको मानसिकतामा पनि परिवर्तन ल्याउने कोसिस भयो। आज इंग्लिस टिमको मुख्य चरित्र हो, नडराई खेल्ने। भारतविरुद्धको सेमिफाइनलमा इंग्लिस खेलाडीले त्यही चरित्र देखाए।

कप्तान जोस बट्लर, एलेक्स हेल्स, बेन स्टोक्स र मोइन अली इंग्लिस टिमको जग हुन्। यो जग हल्लाउन शाहिन अफ्रिदी, मोहम्मद वासिम र हरिस राउफ सक्छन् वा सक्दैनन्, यसले पाकिस्तानको भाग्य निर्धारण गर्नेछ।

फाइनलका लागि मेलबर्न क्रिकेट मैदानमा ठूलो संख्यामा पाकिस्तानी समर्थक उपस्थित हुनेछन्। तर बट्लर र उनका साथीहरूले यसको परवाह गर्नेछैनन्। किनभने उनीहरूले एडलेइडमा उपस्थित ४२ हजार भारतीय समर्थकका सामुन्ने जित दर्ता गरेका थिए।

सन् १९९२ को फाइनलमा वासिम अक्रमले गरेको बलिङबारे अहिले पनि चर्चा गरिन्छ। अफ्रिदी पनि त्यही स्तरको बलिङ गर्ने लक्ष्यमा छन्। आजम र रिज्वान पनि आफ्ना पूर्वकप्तान इमरान र जाबेद मियानडाडले जस्तै ब्याटिङ गर्ने दबाबमा छन्।

प्रत्येक ठूला खेलमा एक न एक खेलाडी आफ्ना साथीले भन्दा उत्कृष्ट खेल देखाउँछन् नै। सन् २०१९ विश्वकप फाइनलमा बेन स्टोक्सले त्यो अभिभारा लिएका थिए। उनी त्यही लय फेरि एकपटक दोहोर्‍याउने लक्ष्यमा हुनेछन्।

अस्ट्रेलियाको मौसमले यसपटकको विश्वकपलाई खुबै दुःख दिएको छ। आइताबरको फाइनल खेल पनि वर्षाका कारण प्रभावित बन्न सक्ने आकलन गरिएको छ। प्राविधिक समितिले कम्तीमा १० ओभर खेलाउने प्रावधान अगाडि सारेको छ। आइतबार खेल पूरा नभए बाँकी खेल सोमबार खेलाउने विकल्प पनि छ।

प्रकाशित: २७ कार्तिक २०७९ ४:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =