‘अन्तिम’ विश्वकपलाई यादगार बनाउने लक्ष्यमा स्वारेज र काभानी

हिमाल प्रेस २४ कार्तिक २०७९ ४:३७
‘अन्तिम’ विश्वकपलाई यादगार बनाउने लक्ष्यमा स्वारेज र काभानी

काठमाडौँ- लुइस स्वारेज र एडिन्सन काभानीबीच निकै समानाता छन्। उनीहरू लगभग एकै समयमा उरुग्वेको सिनियर टिममा पर्न थालेका हुन्। यी दुईको उमेरमा २१ दिनको फरक छ। दुवै उरुग्वेको उत्तरपश्चिमी सहर साल्टोका हुन्। दुवैको फुटबल करियर उस्तै ढंगमा अघि बढेको छ। युरोपका ठूला क्लबहरूका लागि खेलेका छन्।

स्वारेज र काभानी पछिल्लो १५ वर्ष वर्षदेखि उरुग्वेका मुख्य स्ट्राइकर हुन्। स्वारेजले १३४ खेल खेलिसकेका छन्। काभानीले चाहिँ स्वारेजको भन्दा एक खेल कम। गोल गर्ने मामलामा स्वारेज अघि छन्। उनले ६८ गोल गर्दा काभानीको नाममा ५८ गोल छ।

विश्वकपसँग उरुग्वेको नाता विशेष छ। किनभने विश्वकपको पहिलो आयोजक नै उरुग्वे हो। पहिलो संस्करणको विजेता पनि उही। चौथो संस्करणको विश्वकप पनि जितेको उरुग्वे सन् २०१० मा सेमिफाइनलमा पुगेको थियो। त्यसको एक वर्षपछि उरुग्वेले कोपा अमेरिका जित्यो। यी दुई सफलतामा स्वारेज र काभानीको भूमिका कस्तौ थियो, भन्नै पर्दैन।

कतार विश्वकप स्वारेज र काभानीका लागि चौथो विश्वकप हुनेछ। सायद अन्तिम पनि। किनभने यी दुवै स्ट्राइकर करियरको उत्तराद्र्धमा छन्। क्लब फुटबलमा अझ केही वर्ष सक्रिय रहने मनसाय भएका यी दुईको राष्ट्रिय टिमसँगको नाता विश्वकपपछि अन्त्य हुनसक्छ।

स्वारेज र काभानी दुवै ३५ वर्ष पुगिसके। उमेर अनुसार यी दुईको ‘स्पिड’ मा अवश्य पनि कमी आएको छ। तर पनि उनीहरू प्रतिभाको कमी नभएको उरुग्वेको टिममा पर्न सक्षम छन्। दुवै जना नयाँ पुस्ताका खेलाडीका लागि नायक हुन्। दक्षिण अमेरिकी फुटबल जानकार डिएगो मुनोज उनीहरूलाई उरुग्वेको इतिहासकै सर्वोत्कृष्ट स्ट्राइकर जोडी मान्छन्।

‘स्वारेज र काभानीको सबैभन्दा बलियो पक्ष टिमप्रतिको प्रतिबद्धता हो। व्यक्तिगत भन्दा टिमको प्रदर्शनलाई महत्त्व दिन्छन्। यस्ता खेलाडीको आवश्यकता उरुग्वेलाई थियो,’ मुनोजले एएफपीसँग भनेका छन्।

स्वारेज र काभानीको जोडी मतलब गोलको ग्यारेन्टी। उरुग्वेको ६० वर्षको इतिहासमा यत्तिको डरलाग्दो ‘स्ट्राइकिङ जोडी’ देखिएको थिएन। यसकारण भन्न कर लाग्छ, उरुग्वेले यी दुईलाई ‘मिस’ गर्नेछ।

‘यो जोडीको विशेषता आपसी समझदारी हो। स्वारेजका कयौँ गोल काभानीका पासमा भएका छन्। काभानीका लागि स्वारेजले पनि उत्तिकै असिस्ट निकाल्छन्,’ दक्षिणी अमेरिकी पत्रकार लुइस प्राट भन्छन्।

उरुग्वेले लगभग १५ वर्ष ओस्कार टाबारेज प्रशिक्षणमा खेल्यो। उनले नै हो उरुग्वेको उपाधि खडेरी तोडेको। नत्र त उरुग्वेले सन् १९९५ यता कुनै उपाधि जितेको थिएन। उनले उरुग्वेलाई सन् २०११ मा कोपा अमेरिका च्याम्पियन बनाए। अनि दक्षिण अफ्रिकामा भएको विश्वकपको सेमिफाइनलमा पुर्‍याए। उरुग्वे सन् १९७० देखि विश्वकप सेमिफाइनलमा पुग्न सकेको थिएन।

उरुग्वेको पुनःउत्थान गर्ने टाबारेजले सन् २०२१ को अन्त्यमा संन्यास लिए। उनको स्थान डिएगो अलन्सोले लिएका छन्।

विश्वकपले आफूहरूलाई सधै उत्साहित गराउने काभानीको भनाइ छ। ‘हाम्रो लागि विश्वकपभन्दा अर्को महत्त्वपूर्ण प्रतियोगिता छैन। चाहे पाँचौँ पटक होस् वा पहिलो पटक, विश्वकप खेल्न हामी सधै उत्साहित हुन्छौँ,’ काभानीले उरुग्वेको एक रेडियो स्टेसनसँग भनेका छन्।

काभानी हाल भ्यालेन्सियाबाट स्पेनिस ला लिगा खेलिरहेका छन्। म्यानचेस्टर युनाइटेडमा दुई वर्ष बिताएपछि काभानी भ्यालेन्सिया पुगेका हुन्। सन् २००० दशकको सुरुवातमा स्पेनिस फुटबलमा दबदबा कायम गरेको भ्यालेन्सिया अहिले कमजोर बनेको छ। तर काभानीको गोल गर्ने क्षमतामा भने कमी आएको छैन। तब त उनले सात खेलमा चार गोल गरिसकेका छन्।

उता स्वारेजको उत्साहमा पनि कुनै कमी आएको छैन। ‘यसपालि विश्वकपमा उरुग्वेले राम्रो गर्नसक्छ। किनभने यो टिममा अनुभवी र युवा खेलाडीको समिश्रण छ,’ भर्खरै उरुग्वेको नासिओनलबाट उरुग्वेली लिग जितेका स्वारेजले भनेका छन्।

नयाँ प्रशिक्षक अलन्सोले उरुग्वेको टिम पुनः निर्माण गरिरहेका छन्। रियल म्याड्रिडका फेडेरिको भाल्भार्डे, लिभरपुलका डार्विन नुनेज र टोटनहमका रोड्रिगो बेन्टानकुर अलोन्सोले भरोसा गरेका नयाँ युवा खेलाडी हुन्।

उरुग्वे फुटबलका लागि ‘क्रेजी’ देश हो। प्रत्येक वर्ष युवा प्रतिभा उदाइरहेका छन्। युरोपका ठूला ठूला क्लबमा उरुग्वेली खेलाडीको माग छ। तर पनि नयाँ स्वारेज वा काभानी भेट्न सजिलो छैन।

प्रकाशित: २४ कार्तिक २०७९ ४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =