उत्कृष्ट एक पाठकलाई हरेक महिना १० हजार पुरस्कार

हिमाल प्रेस २६ कार्तिक २०७९ ४:२०
उत्कृष्ट एक पाठकलाई हरेक महिना १० हजार  पुरस्कार

कैलाली- कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना १० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन्। पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतिअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो।

सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले  शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरु मध्येबाट प्रत्येक महिना एकजना पाठकले सो पुरस्कार पाउने भएका हुन्।

समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताए। ‘काठमाडाैँदेखि न्यूयोर्कसम्म पढ्ने बानी हराएको र स्मार्ट फोनमा हलुका विषयवस्तु हेर्ने र पढ्ने बानी बसेको छ’,  अर्यालले भने, ‘पुस्तकालय आएर गहन विषय अध्ययन गर्न सके असल चरित्र भएको व्यक्तित्व निर्माण हुन्छ।’

उनले पठन संस्कृति प्रवर्द्धन गर्न सुरुमा एक वर्ष यो कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताए।

पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन्। अहिले दैनिक ३० देखि ३५ जना नियमित पाठक रहेको बताइएको छ। २०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ।

बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ। पुस्तकालयमा करिब दुई दर्जन  ल्यापटप र कम्प्युटर रहेको सूचना प्रविधि कक्ष छ। यहाँ बालबालिकालाई कम्प्युटर सिक्ने व्यवस्था पनि मिलाइएको छ।

टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ। ‘मंसिरदेखि अर्कोमंसिर महिनासम्मका लागि पहिलो चरणका लागि सम्झौता भएको छ’, समूहका सचिव नवराज भट्टराईले भने, ‘पुरस्कार वितरणलाई कार्यविधि बनाएर कार्यान्वयन गर्छौँ।’

प्रकाशित: २६ कार्तिक २०७९ ४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =