पढ्दै खेल्दै रमाउँदै

हिमाल प्रेस १८ कार्तिक २०७९ ४:०५
पढ्दै खेल्दै रमाउँदै

पाल्पा- गंगा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ। भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर र उज्ज्वल बन्छ। यही भनाइको सुरुआत गंगा माविबाट भएको छ।

बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका-८ स्थित गंगा माविमा सो अभ्यासको थालनी भएको छ। यहाँको शैक्षिक वातावरणले विद्यालयभित्र पुग्ने जो–कसैलाई पनि लोभ्याउँछ। बालबालिका खेल्दै, पढ्दै गरेको दृश्यले उनीहरूको सुन्दर भविष्यको रेखा कोरिएको छ।

गाउँका शैक्षिक संस्थामा यस्तो व्यवस्था खासै पाइँदैन। त्यसमा पनि सामुदायिक विद्यालयमा निर्माण भएको बाल उद्यानले शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ। यहाँको विद्यालयमा बालविकासलाई प्राथमिकता दिँदै उनीहरूको खेल्ने र मनोरञ्जन गर्ने अधिकारलाई प्रत्याभूत गराउँदै बाल उद्यान अर्थात् बालसंसार निर्माण गरेपछि शैक्षिक क्षेत्रमा यसले नौलो आयाम थपेको छ।

स्थानीयवासी तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक कर्मचारी कृष्णप्रसाद पौड्याल र गोविन्दप्रसाद पौड्यालद्वारा स्व. पिता जयलाल एवं माता कौशल्यदेवीको सम्झनामा बाल उद्यान तयार पारिएको हो। करिब २० लाखको लगानी परेको बाल उद्यानमा पौड्याल परिवारको १३ लाख बराबरको सहयोग छ। बाँकी रकम आवश्यक खेलजन्य सामग्रीमा विद्यालयले खर्चेको छ। बाल उद्यानको संरचना सबै पौड्यालकै लगानीमा बनेको हो।

यहाँ निर्माण गरिएको बाल उद्यानको गत असोज २३ गते जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)ले उद्घाटन गरेका थिए। उद्यान विद्यालयलाई हस्तान्तरण गरिएको छ। सो उद्यानमा आठ पिङ, चिफ्लेटी, बिगप्ले स्टेशनलगायत विभिन्न खेलका सामग्री छन्। तल्ला कक्षाका बालबालिकालाई लक्षित गरेर उद्यान तयार पारिएको हो। एकैपटकमा ५० देखि ६० जनासम्म साना बालबालिका अट्ने क्षमता छ। यस उद्यानले खेल संस्कारको विकास भएको छ।

समाज परिवर्तन गर्नका लागि बालबालिकाबाट सुरु गर्नुपर्छ भनेर समाजमा सकारात्मक सन्देश दिन र उनीहरूको सर्वाङ्‍गीण विकासका लागि बाल उद्यानमा लगानी गरेको पूर्व राष्ट्रसेवक कर्मचारी पौड्याल बताउँछन्।

विद्यालयबाट होस् या घरपरिवार, समाजबाट बालबालिकालाई महत्त्व दिएर काम गरियो भने विकासको सुरुआत त्यहीँबाट हुने उनको भनाइ छ। सानैदेखि नै बालबालिकालाई राम्रो वातावरण दिन सकियो भने भविष्यमा ठूलो मान्छे बनेर उनीहरूबाट हामीले धेरै फाइदा लिन सक्ने भएकाले लगानी गर्न पछि नहट्न सम्बन्धित निकाय, व्यक्तिसँग उनको आग्रह छ।

महिला तथा बालबालिका विभागको महानिरीक्षक पदमा रहँदा नै बालबालिकामा लगानी गर्नुपर्छ भन्ने अवधारणाको सुरुआत गरेको र सो अवधारणालाई अहिले सेवा निवृत्त भएपछि सामाजिक, शैक्षिक क्षेत्रमा अगाडि बढाएको उनी बताउँछन्।

गंगा माविबाट सुरुआत गरेको अभियानलाई अब अतिक्रमणमा परेका सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नुपर्ने उनको भनाइ छ।

असल नागरिक तयार पार्नलाई बालबालिकालाई खेलतर्फ आकर्षित गर्न अतिआवश्यक छ। सो बाल उद्यानमा अहिले बालबालिका रमाउँदै पढ्ने, खेल्ने गर्दा विद्यालयको शैक्षिक माहोल नै बदलिएको शिक्षक कृष्णप्रसाद घिमिरेले बताए। बाल उद्यानले विद्यालय आउन अप्ठ्यारो मान्ने, पढाइमा चासो नदिने बालबालिकाको पठनपाठनप्रति रुचि बढाएको उनको भनाइ छ। -सुशीला रेग्मी/रासस

प्रकाशित: १८ कार्तिक २०७९ ४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =