विश्‍वभर १० वर्षमाथिका तीन चौथाइ मानिस मोबाइल चलाउँछन् : राष्ट्रसंघ

हिमाल प्रेस १४ मंसिर २०७९ २१:५६
6
SHARES
विश्‍वभर १० वर्षमाथिका तीन चौथाइ मानिस मोबाइल चलाउँछन् : राष्ट्रसंघ सांकेतिक तस्बिर।

काठमाडौँ–  संयुक्त राष्ट्र संघले १० वर्षभन्दा माथिका करिब तीन चौथाइ मानिससँग मोबाइल फोन रहेको र यसले इन्टरनेटको व्यापक प्रयोगको बाटो खोलेको जनाएको छ।

संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले सन् २०२२ को अन्त्यसम्ममा १० वर्षभन्दा माथिका विश्वका ७३ प्रतिशत जनसंख्यासँग मोबाइल फोन भएको देखाएको छ।

‘मोबाइल फोन इन्टरनेट प्रयोगको लागि सबैभन्दा सहज ढोका हो। मोबाइल फोन स्वामित्वको प्रतिशतले इन्टरनेट उपलब्धता र पहुँचको सूचकको रूपमा सेवा गर्दछ,’ आईटीयूले विश्वव्यापी सूचना सम्पर्कबारे आफ्नो वार्षिक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको छ।

रिपोर्टमा मोबाइल फोनको उपलब्धता इन्टरनेट प्रयोगको तुलनामा उच्च रहेको र विशेष गरी कम आय भएका देशहरूमा सामान्यतया ब्रोडब्यान्ड सेवा र सेलुलर सेवाहरू भन्दा महँगो रहेको उल्लेख गरिएको छ।

आईटीयूले हालैका वर्षहरूमा मोबाइल फोनको स्वामित्व लगातार बढेको र सन् २०१९ मा यो संख्या ६७ प्रतिशतभन्दा कम रहेको अनुमान गरेको छ।

आईटीयूका वरिष्ठ अर्थशास्त्री थियरी गीगरले एएफपीलाई बताएअनुसार सन् २०२० मा कोभिड-१९ महामारीको पहिलो वर्षमा अनलाइन प्रगोग गर्ने जनसंख्यामा ठूलो वृद्धि भएको छ।

आईटीयूका अनुसार, धनी देशहरूमा मोबाइलको उपलब्धता सबैभन्दा बढी छ। यी मुलुकहरूमा हाल औषत ९५ प्रतिशत मानिसहरूसँग मोबाइल फोन छ । कम आय भएका देशहरूमा सबैभन्दा थोरै केवल ४९ प्रतिशत मानिससँग मात्र फोन छ।

प्राविधिक अँध्यारो

संयुक्त राष्ट्र संघको दूरसञ्चार एजेन्सीका अनुसार पृथ्वीको करिब एक तिहाइ भाग अहिलेसम्म पनि अनलाइनमा छैन।

तर अनलाइन जनसंख्या बढ्दै गएको छ र अनुमानित ५ अर्ब ३० करोड मानिस अर्थात् विश्वका ६६ प्रतिशत मानिसले अहिले इन्टरनेट प्रयोग गरिरहेका छन्।

प्रकाशित: १४ मंसिर २०७९ २१:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =