काठमाडौँ २ : ‘आमन्त्रित’ ओनसरीलाई सजिलो छैन संसद् प्रवेश

विपिन पोखरेल २१ कार्तिक २०७९ १२:०६
काठमाडौँ २ : ‘आमन्त्रित’ ओनसरीलाई सजिलो छैन संसद् प्रवेश

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ २ ‘आमन्त्रित’ उम्मेदवार जित्दै आएको क्षेत्र हो। १० वटा निर्वाचन क्षेत्र भएपछि काठमाडौँ २ मा जिल्लाबाहिरका उम्मेदवार मात्रै विजयी हुँदै आएका छन्।

२०६४ सालको संविधानसभा चुनावमा झक्कुप्रसाद सुवेदी, २०७० मा एमालेका माधवकुमार नेपाल र २०७४ मा पनि नेपाल विजयी भएका थिए। यसपटकको निर्वाचनमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्ती ‘आमन्त्रित’ हुन्। ओनसरी रोल्पाबाट आएकी हुन्। २०७० को निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट विजयी घर्ती पूर्वसभामुखसमेत हुन्।

एमालेले भने प्रदेशसभाका पूर्वसदस्य मणिराम फुयाँललाई मैदानमा उतारेको छ। राप्रपाको पनि प्रभाव रहेको यस क्षेत्रमा कुन्ति पोखरेल आक्रामक रूपमा घरदैलो अभियानमा सक्रिय छिन्।

सत्ता गठबन्धनको साथ पाएकी घर्ती यति बेला चुनावी घरदैलोमा सक्रिय छिन्। जिल्लाबाहिरका उम्मेदवार रहेकाले ओनसरीलाई त्यति सहज नरहेको मतदाता बताउँछन्।

माओवादी कार्यकर्ता भने ओनसरी सत्ता गठबन्धनबाट चुनाव लडेकाले उनलाई चुनाव जित्न कठिन नरहेको दाबी गर्छन्।

काठमाडौँ २ मा शंखरापुर नगरपालिका, काठमाडौँ महानगरका ९ र ३२ वडा तथा कागेश्वरी मनोहरा नगरपालिकाका ४,५,६,७,८ र ९ वडा पर्छन्।

स्थानीय उम्मेदवार भएकाले पनि ओनसरीलाई पाखा लगाउन सहज रहेको एमाले कार्यकर्ता बताउँछन्। एमालेका स्थानीय नेता राजेश कट्टेल अब आमन्त्रित उम्मदेवारले यस क्षेत्रमा चुनाव जित्ने नसक्ने बताउँछन्।

उनी भन्छन्, ‘हामी निरन्तर घरदैलो अभियानमा छौँ। यस क्षेत्रका जनताले हामीलाई विजयी गराउनेमा हामी ढुक्क छौँ। स्थानीय उम्मेदवारसँग बाहिरबाट आएर प्रतिस्पर्धा गर्दैमा यहाँका जनताले साथ दिन्छन् भन्ने हुँदैन।’ उनले नेकपा एमालेले यस क्षेत्रको विकासका लागि उठाएका एजेन्डाका कारण पनि जनताले साथ दिने दाबी गरे।

ओनसरीले पनि मतदातालाई विश्वासमा लिन विभिन्न एजेन्डा अघि सारेकी छन्। काठमाडौँ २ लाई पर्यटकीय हबका रूपमा विकास गर्ने, कृषि पर्यटनको विकासका लागि पूर्वाधारमा जोड दिने, युवालाई स्वदेशमै रोजगारीको व्यवस्था दिलाउने र स्थानीय संस्कार, संस्कृति र रीतिरिवाजको रक्षा गर्ने जस्ता नारा उनको छ।

ओनसरी २०७४ को निर्वाचनमा भने समानुपातिक सांसद थिइन्। रोल्पामा प्रतिनिधिसभातर्फ एउटा मात्र क्षेत्र कायम छ। यसपल्ट उनका पति माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन रोल्पाबाट उम्मेदवार बनेका छन्।

पहिलो संविधानसभाको कार्यकालमा केही समय खेलकुदमन्त्री बनेकी घर्ती दोस्रो संविधानसभा निर्वाचनपछि २०७० मा संविधानसभा उपाध्यक्ष तथा संविधानसभा व्यवस्थापिका संसद्मा रुपान्तरण भएपछि २०७२ मा सभामुख भएकी थिइन्।

सभामुख हुँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफूले समाज र देशको हितमा काम गरेको दाबी गरिन्। उनले भनिन्, ‘प्रतिनिधिसभामा निर्वाचित भएपछि मेरो ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नतर्फ केन्द्रित हुनेछ। जनताको विकास र समृद्धिको सपना नै गठबन्धनको सपना हो।’

उनले जीर्ण चाबहिल-मूलपानी-साँखु सडक निर्माणको काम सम्पन्न गर्ने र मध्यपहाडी लोकमार्गसँग जोड्ने प्रतिबद्धता जनाएकी छिन्। देश विकास र समृद्धिबाहेक आफूसँग अरु कुनै एजेन्डा नभएको उनको भनाइ छ।

माओवादी केन्द्रको स्थायी कमिटी सदस्य रहेकी घर्तीले भूमिगतकालमा सोलुखुम्बु, काभ्रे र ललितपुरको पार्टी इन्चार्ज भएर काम गरेकी थिइन्।

फुयाँल स्थानीय भएकाले आफैँमा बलिया उम्मेदवार मानिन्छन्। उनी यसअघिका प्रदेश सांसद हुन्। एक स्थानीय भन्छन्, ‘जुनसुकै पार्टीले पनि स्थानीय नेतालाई उम्मेदवार बनाउन सकेको छैन। त्यहाँका मतदातामा स्थानीय ल्याउनुपर्छ भन्ने माग पनि उत्तिकै छ।’

यस्तै माधव नेपाल नभएकाले एमालेका लागि चुनौती रहेको स्थानीय मतदाता बताउँछन्।

कांग्रेसका सबै नेता चुनाव प्रचारमा सक्रिय नभएकाले ओनसरीका पक्षमा के हुन्छ भन्ने अन्योल रहेको कतिपयको बुझाइ छ।

ओनसरी स्थापित भइन् भने पछि आफ्नो दलले दाबी नगरे पनि हुन्छ भन्ने एकथरी कांग्रेस नेताहरूको शंका छ। त्यसैले कांग्रेस नेतारू खुलेर चुनावी प्रचारमा पनि लागेको पाइँदैन। एक स्थानीय भन्छन्, ‘ओनसरीलाई जिताउनु हुँदैन भन्ने तप्का पनि बलियो छ। तर कांग्रेसले बलियो साथ दिएमा चाहिँ ओनसरीको सम्भावना छ।’ तर कांग्रेसका स्थानीय नेता खुलेर लागेका छैनन्।

ओनसरीको राजनीतिक ‘हाइट’ उच्च रहेको र महिला उम्मेदवार भएकाले पनि उनीप्रति सहानुभूति हुन सक्छ। त्यसो त राप्रपाले राप्रपाले कति मत ल्याउँछ भन्ने विषयले पनि यहाँको चुनावी परिणामको छिनोफानो हुनेछ।

यस क्षेत्रमा २०६४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार झक्कुप्रसाद सुवेदीले तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाललाई पराजित गरेका थिए। २०७० को निर्वाचनमा रौतहट र काठमाडौँ दुईवटा क्षेत्रबाट उम्मेदवार बनेका माधवकुमार नेपाल विजयी भए। उनले रौतहट रोजेपछि रिक्त भएको सिटमा उपनिर्वाचन हुँदा कांग्रेसका दीपक कुइँकेल विजयी भएका थिए। यसअघिका निर्वाचनमा राप्रपा उम्मेदवार तेस्रो हुँदै आएका थिए।

यस क्षेत्रमा जनता समाजवादी पार्टीबाट गोपालबहादुर तण्डुकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तिदेवी पोखरेल, नेपाल मजदुर किसान पार्टीबाट अनिल श्रेष्ठ, लोसपाबाट मधुसूदन पुडासैनी, जनमत पार्टीबाट गणेशप्रसाद पुडासैनी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम उम्मेदवार छन्।

स्थानीय तह निर्वाचनमा शंखरापुर नगरपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित ४ हजार ७०० मत पाएर विजयी भएका थिए। पालिकाका ९ वडामध्ये एउटा वडामा नेकपा माओवादी केन्द्र, ४ वटा वडामा नेपाली कांग्रेस, ३ वटा वडामा राप्रपा र एउटा वडामा नेकपा एमाले उम्मेदवार विजयी भएका थिए।

यस क्षेत्रमा पर्ने कागेश्वरी मनोहरा नगरपालिकाको ४,५,६,७,८,९ वडा मध्य वडा नं ४ मा नेकपा एमाले, ५,७ ८ र ९ मा नेपाली कांग्रेस र वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए। यस पालिकाको प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की र उपप्रमुखमा नेकपा एमालेका रामशरण ढुंगाना विजयी भएका थिए। यस पालिकाको वडामा पाएका मतका आधारमा गठबन्धनले दलले पाएको मत अन्य दलको तुलनामा बढी छ।

काठमाडौँ महानगरको वडा नं ९ मा नेपाली कांग्रेसका उम्मेदवार रामजी भण्डारीले २ हजार ७९० मत ल्याएर विजयी भएका थिए।  काठमाडौँ महानगरको ३२ मा एमालेका उम्मेदवार नवराज पराजुलीले ५ हजार २२५ मतसहित विजयी भएका थिए।।

स्थानीय तह  निर्वाचनमा यस क्षेत्रमा एमालेले १७ हजार ३३२, नेपाली कांग्रेसले १४ हजार १२८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार २००, नेकपा (एकीकृत समाजवादी)ले ६ हजार ७९० र नेकपा माओवादी केन्द्रले ३ हजार १३१ मत पाएका थिए।

गठबन्धन दल नेपाली कांग्रेस र एकीकृत समाजवादीको मत जोड्दा २४ हजार ४९ हुन्छ। सत्ता गठबन्धन र नेकपा एमालेबीचको मतान्तर ६ हजार ७१७ मत मात्र छ।

प्रकाशित: २१ कार्तिक २०७९ १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + one =