सुरुंगा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

हिमाल प्रेस १४ मंसिर २०७९ २१:३६
सुरुंगा मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगर

सप्तरी– सप्तरीको सुरुंगा नगरपालिका मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ।

मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा बुधबार सुरुंगा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो।

यो सप्तरीको मात्र नभई मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले दाबी गरे।

वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको थियो।

सप्तरी ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री तेजुलाल चौधरीले बुधबार एक समारोहबीच घोषणा पत्र प्रस्तुत गर्दै सुरुंगा नगरपालिकालाई बालविवाहमुक्त नगर घोषणा गरेका हुन्।

सुरुंगा नगरपालिकाको आयोजना भएको घोषणा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाहमुक्त नगरपालिका घोषणाको प्रतिवेदन प्रस्तुत गरे।

प्रस्तुत गरिएको प्रतिवेदनमा नगरको ११ वटै वडामा बालविवाहमुक्त वडा घोषणा गर्ने १४ वटा सूचक पूरा गरेपछि घोषणा गरिएको अधिकृत शर्माले बताए।

प्रतिवेदनअनुसार ०७८ साल मंसिरदेखि ०७९ कात्तिकसम्म वडा नम्बर १ देखि ११ सम्ममा तीन सय ३५ विवाह भएको थियो।

जसमा १८ वर्षमुनिको एउटा विवाह तथा २० वर्षमुनिका १८ वटा विवाह भएको सूचकअनुसार पाँच प्रतिशत बालविवाहमात्र देखिएकाले ९० प्रतिशत सूचक पूरा गरेको भन्दै घोषणा गरिएको प्रशासकीय अधिकृत गजेन्द्रनाथ सिंहले जानकारी दिए।

सुरुंगा नगरपालिकाको बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका, २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालबालिका, किशोरकिशोरी र अभिभावकलाई बालविवाहका विषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराइएको छ।

बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अवलम्बन गर्नेसहितका सूचक पूरा गरेपछि बालविवाहमुक्त घोषणा गरिएको नगर प्रमुख गीता चौधरीले बताए।

कार्यक्रममा नवनिर्वाचित प्रदेशसभा सदस्य अनिरूद्ध सिंह यादव, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, पूर्वनगर प्रमुख मुक्तिनाथ चौधरी, जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, सवल नेपालका अध्यक्ष जुना गिरीलगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए।

यसअघि ०७६ साल भदौ २० गते मधेस प्रदेशको पहिलो तथा नेपालको तेस्रो बालमैत्री नगरपालिका घोषणा भएको थियो।

प्रकाशित: १४ मंसिर २०७९ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =