इंग्लिस टिममा रासफोर्डले ल्याएको रौनक

हिमाल प्रेस १४ मंसिर २०७९ १०:३१
8
SHARES
इंग्लिस टिममा रासफोर्डले ल्याएको रौनक

काठमाडौँ- मार्कस रासफोर्डले दुई गोल गरेपछि इंग्ल्याडले मंगलबार राति विश्वकप समूह चरणमा छिमेकी वेल्समाथि ३–० को जित दर्ता गर्‍यो। सुरुवाती दुई खेलमा पहिलो एघारमा नपरेका रासफोर्डसँगै फिल फोडनले पनि गोल गरे।

यो जितले इंग्ल्यान्डलाई समूह ‘बी’ को विजेता बनाउँदै नकआउट चरणमा पुर्‍याएको छ। जहाँ उसको भेट सेनेगलसँग हुनेछ। सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो।

विश्वकपमा इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बेन्चका खेलाडीलाई मौका नदिएको आरोप लाग्दै आएको थियो। विशेषगरी फोडनका विषयमा इंग्लिस समर्थकले चर्को असन्तुष्टि जाहेर गरिरहेका थिए।

वेल्सविरुद्धको खेलमा भने साउथगेटले रणनीति र अग्रपंक्ति दुवै परिवर्तन गरे। बुकायो साका र रहिम स्टर्लिङको स्थानमा रासफोर्ड र फोडन खेले। त्यसैगरी म्यासन माउन्टको स्थान जोर्डन हेन्डेरसनले लिए।

बेलायतभित्रका दुई टिम भिडेको यो खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५० औँ मिनेटमा मात्र इंग्लिस टिमले वेल्सको रक्षापंक्ति तोड्न सक्यो। इंग्ल्यान्डलाई अगडि बढाउन रासफोर्डले फ्रिकिकमार्फत गोल गरे।

त्यसको एक मिनेटपछि नै फोडन गोलकर्ता बने। उनका लागि कप्तान ह्यारी केनले असिस्ट उपलब्ध गराएका थिए। ‘ब्याटल अफ ब्रिटेन’ भनिएको खेलमा इंग्ल्यान्डलाई सजिलो जित पक्का गर्न रासफोर्डले ६८ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

रासफोर्डले इंग्लिस टिमको पहिलो एघारमा गोलसहित पुनरागमन गरेकामा रक्षक ह्यारी मग्वायर दंग देखिए। ‘मार्कसको सफलतामा म खुसी छु। पछिल्लो एक वर्ष उनका लागि खराब रह्यो। टिममा पर्न सकेका थिएनन्। तर यो वर्ष उनी लयमा फर्किएका छन्,’ म्यानचेस्टर युनाइटेड सहकर्मीबारे मग्वायरले भने।

युरो २०२० को फाइनलमा पेनाल्टी ‘मिस’ गरेयता रासफोर्डले इंग्ल्यान्डका लागि खेल्न पाएका थिएनन्। खराब लयका कारण राष्ट्रिय टिममा मात्र होइन क्लबमा पनि उनको स्थान धरापमा परेको थियो। गत सिजन उनले इंग्लिस प्रिमियर लिगमा जम्मा १३ खेल खेल्न पाए। तर यसपालि भने उनले राष्ट्रिय टिम र क्लब दुवैतिर आफ्नो छाप छाड्न सफल भएका छन्। उनले गत साता इरानविरुद्ध पनि गोल गरेका थिए।

‘जोसुकै खेलाडीको करियरमा पनि उतारचडाव त हुन्छ नै। यसकारण लयमा नहुँदा पनि मेहनत गर्न छाड्नु हुँदैन। रासफोर्डले पनि मेहनत गरेका छन्। आजको खेलले समेत प्रमाणित गरेको छ, उनी यो स्तरको प्रतियोगितामा चम्किँन सक्षम छन्,’ मग्वायरले भने।

युनाइटेडका अर्का खेलाडी लुक शले पनि रासफोर्डको तारिफ गरे। ‘रासफोर्ड कति प्रतिभावान् छन् भनेर हामी सबैलाई थाहा छ। उनले फेरि एकपटक आफूलाई सिद्ध गरे। तर उनले यही स्तरको प्रदर्शन प्रत्येक खेलमा गर्नुपर्छ। किनभने उनी यसका लागि सक्षम छन्,’ युनाइटेडमा रासफोर्डसँगै खेल्ने शले भने।

रासफोर्ड गोल गरेपछि भावुक बनेका थिए। गोलको खुसीयाली मनाउँदा उनी आकाशतिर फर्किए। भर्खरै निधन भएका आफ्ना साथीको सम्झनामा उनले त्यसो गरेका हुन्। ‘केही दिनअघि मैले मेरो साथी गुमाएँ। उसलाई क्यान्सर थियो। थप समय बाँच्न उसले कठिन संघर्ष गर्नुप¥यो। मैले आज गरेको गोल उसकै लागि हो,’ रासफोर्डले भने।

उता प्रशिक्षक साउथगेटले भने रासफोर्डले खुसीयाली मनाएको यो शैलीबारे अन्तिममा मात्रै थाहा पाएा थिए। २५ वर्षीय रासफोर्डले गरेको यो कार्यले साउथगेट पनि भावुक बने।

साउथगेटले युरोमा भन्दा अहिले रासफोर्डको प्रदर्शन मजबुत रहेको प्रतिक्रिया दिए। ‘केही समयअघि उनी र मबीच लामो कुराकानी भएको थियो। खेल सुधार्न के गर्नु पर्छ भन्नेमा उनी प्रस्ट छन्। क्लबमा उनको प्रदर्शन सुध्रिएको छ। अभ्यासमा पनि उनी जोसिला देखिन्छन्,’ साउथगेटले भने।

इटालीसँगको युरो उपाधि भिडन्तमा पेनाल्टी खेर फालेपछि रासफोर्डले चर्को आलोचना भोगेका थिए। उनी सामाजिक सञ्जालमा अभद्र व्यवहारको सिकार पनि बने। युनाइटेडमा पनि उनले स्वाभाविक प्रदर्शन गर्न सकिरहेका थिएनन्। तर एरिक टान हागको आमगनसँगै रासफोर्डको खेलमा सुधार आयो। उनले यो सिजन चार लिग गोल गरिसकेका छन्।

कतारमा जारी विश्वकपमा इंग्ल्यान्डले गरेको गोलको संख्या नौ पुगिसकेको छ। यो कुनै पनि टिमले गरेको सबैभन्दा धेरै गोल हो। इंग्ल्यान्ड आफैँले पनि यसअघि मुख्य प्रतियोगिताका समूह चरणमा यति धेरै गोल गर्न सकेको थिएन। यत्तिको संख्यामा भएको गोल र दुई खेलमा सब्स्ट्च्यिुट रहेका खेलाडीको उच्च प्रदर्शनले प्रशिक्षक साउथगेट सन्तुष्ट देखिएका छन्।

‘यो टिममा कसैले पनि सजिलै खेल्न पाउँदैनन्। प्रत्येक पोजिसनका लागि प्रतिस्पर्धा हुन्छ। यसका लागि हामीसँग पर्याप्त खेलाडी छन्। बेन्चमा रहने खेलाडी पनि एकसेएक छन्। खेल्न नपाउँदा पनि उनीहरु असन्तुष्ट छैनन्। सबैबीच राम्रो सम्बन्ध छ,’ साउथगेटले भने।

इंग्ल्याडले विश्वकप प्रिक्वार्टरफाइनलका लागि पाएको विपक्षी सेनेगलसँग यसअघि खेलेको छैन। नकआउट चरणको यो खेलमा इंग्ल्यान्ड विजयी हुने अनुमान छ। साउथगेट भने सेनेगललाई खतरनाक विपक्षी मान्छन्। ‘वरीयताका हिसाबले हामी माथि छौँ। तर सेनेगल सजिलो टिम होइन। यो टिमका केही खेलाडी युरोपका ठूला क्लबाट खेल्छन्। टिमका अरु खेलाडी पनि स्तरीय छन्। यसकारण सेनेगल हाम्रा लागि खतरनाक विपक्षी हो,’ साउथगेटले भने।

प्रकाशित: १४ मंसिर २०७९ १०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =