सीके राउतलाई देउवाको फोन : काठमाडौँ आउनुस्, राजनीतिक छलफल गरौँ

हिमाल प्रेस १३ मंसिर २०७९ १६:४९
460
SHARES
सीके राउतलाई देउवाको फोन : काठमाडौँ आउनुस्, राजनीतिक छलफल गरौँ

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनमुक्ति पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)लाई टेलिफोन सम्पर्क गरी काठमाडौँ आउन आग्रह गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका सिके राउतलाई देउवाले राजनीतिक छलफलका लागि काठमाडौँ आउन निम्तो दिएका हुन्।

देउवाको सचिवालयका एक सदस्यले देउवाले राउतलाई फोन गरेका थिए। ‘प्रधानमन्त्रीले नै फोन गरेर भेटका लागि निम्तो दिनु भएको थियो,’ सचिवालयका ती सदस्यले भने, ‘उहाँसँगको भेटमा वर्तमान राजनीतिका बारेमा छलफल हुनेछ। देउवाले काठमाडौँमै आउनुस् यहीँ राजतीनिक छलफल गरौँ भन्नु भएको छ।’

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिटमात्रै जितेको राउत नेतृत्वको पार्टीले समानुपातिकतर्फ भने थ्रेस होल्ड कटाएर राष्ट्रिय दल बनिसकेको छ। अन्तिम मतपरिणाम सार्वजनिक नभए पनि सरकार बनाउन दलहरूबीच छलफल बाक्लिरहेको बेला देउवाले राउतलाई पनि बोलाएका हुन्।

देउवाले काठमाडौँमा छलफलका लागि भनेर बोलाएपछि राउत आज नै काठमाडौँ आउँदैछन्। सचिवालय सदस्य राजेश मण्डलले राउत आज साँझ काठमाडौँ आउने बताए। ‘अध्यक्ष आज साँझ काठमाडौँ जानुहुन्छ। उहाँको व्यक्तिगत काम पनि छ,’ उनले भने, ‘काठमाडौँ हुँदा राजनीतिक भेटघाटहरू पनि भइहाल्छन्।’

प्रकाशित: १३ मंसिर २०७९ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nineteen =