नेयमार बिर्साउने भिनिसियस

हिमाल प्रेस १३ मंसिर २०७९ ११:५६
28
SHARES
नेयमार बिर्साउने भिनिसियस

काठमाडौँ- नेयमारबिनाको ब्राजिलले सोमबार राति स्विटजरल्यान्डमाथि १–० को जित दर्ता गर्‍याे। यो जितले ब्राजिल विश्वकपको नकआउट चरणमा पुग्ने पक्का भएको छ। ब्राजिलले पहिलो खेलमा सर्बियालाई हराएको थियो। लगातार दोस्रो जित निकालेपछि ऊ ६ अंकसहित समूह ‘जी’ को शीर्षस्थानमा छ।

छैटौँ पटक विश्वकप जित्ने अभियानमा रहेको ब्राजिलका मुख्य खेलाडी निश्चय पनि नेयमार हुन्। विश्वकप सुरु हुनुअघि गरिएको अपेक्षा थियो, नेयमारले उत्कृष्ट प्रदर्शन गर्नेछन्। जुन ब्राजिलका लागि विश्वकप जित्न महत्त्वपूर्ण साबित हुनेछ।

तर नेयमार पहिलो खेल खेल्न साथ घाइते भए। यस्तोमा स्वाभाविक अनुमान थियो, स्विटजरल्यान्डसँगको खेलमा ब्राजिलले नेयमारको अभाव महसुस गर्नेछ। यद्यपि २२ वर्षीय भिनिसियस जुनियरले नेयमारको अभाव खड्किन दिएनन्। स्विटजरल्यान्डमाथिको जितमा ब्राजिलका लागि सबैभन्दा राम्रो खेल्ने खेलाडी उनी नै थिए।

ब्राजिलले बुनेका हरेकजसो आक्रमणमा भिनिसियस संलग्न हुन्थे। कासेमिरोले गरेको निर्णायक गोल पनि भिनिसियसकै ‘बिल्डअप’ कारण सम्भव भएको थियो।

स्विटजरल्यान्डको जब्बर रक्षापंक्ति तोड्न ब्राजिललाई सजिलो भने भएन। पहिलो हाफमा ब्राजिलले निकै पटक मुभ बनाए पनि स्विस रक्षापंक्तिले गोल हुन दिएन। जसले गर्दा ब्राजिलको अग्रपंक्तिलाई ‘फ्रस्टेट’ बनाएको थियो। तर दोस्रो हाफमा ब्राजिलले आफ्नो आक्रामकतालाई जारी राख्यो।

कुनै पनि टिममा आफ्ना मुख्य खेलाडीलाई प्रतिस्थापन गर्न सजिलो हुँदैन। ब्राजिलका प्रशिक्षक टिटेलाई नेयमारको ठाउँमा कसलाई खेलाउने भन्ने प्रश्नले पिरोलेकै थियो। अग्रपंक्तिको केन्द्रमा रहने खेलाडी नै नभएपछि रणनीतिक सन्तुलन पनि गुम्ने नै भयो।

यसकारण टिटेले स्विटजरल्यान्डविरुद्ध मिडफिल्डलाई सन्तुलित बनाउने प्रयास गरे। दुई डिफेन्सिभ मिडफिल्डर कासिमिरो र फ्रेडलाई खेलाउँदै टिटेले ‘फिजिकल गेम’ मा ध्यान दिए। जबकि सर्बियाविरुद्ध ब्राजिलको एक्लो रणनीति ‘आक्रमण’ थियो।

टिटेले लुकास पाक्वेटालाई ‘प्लेमेकर’ को भूमिका दिएका थिए। तर पाक्वेटाले भने जस्ता अवसर सिर्जना गर्न सकेनन्। उनी र विंगमा खेलिरहेका भिनिसयस तथा राफिन्हाबीच बलियो साझेदारी स्थापना हुन सकेन।

गोलका लागि भइरहेको संर्घष अन्त्य नभएपछि टिटेले बुझे, नेयमारको अभाव दुई डिफेन्सिभ मिडफिल्डर खेलाएर पूर्ति गर्न सकिँदैन। त्यसपछि उनले रोड्रिगोलाई मैदान प्रवेश देखाए। अनि बल्ल ब्राजिलको आक्रमकताले सार्थकता पायो।

रोड्रिगोको आमगमनसँगै भिनिसयसले पनि सहज महसुस गर्न थाले। रियलमा सँगै खेल्ने यी दुई तीव्र गतिका विंगरले स्विटजरल्यान्डका फुलब्याक र डिफेन्सिभ मिडफिल्डरलाई सजिलै पन्छाइरहे। मैदानमा रोड्रिगोको साथ पाएपछि भिनिसियसको खेल हेर्न लायकको थियो।

भिनियसका लागि यो राष्ट्रिय टिमको जर्सीमा पहिलो मुख्य प्रतियोगिता हो। क्लब फुटबलमा भने उनी स्थापित भइसकेका छन्। गत सिजनको च्याम्पियन्स लिग फाइनलमा उनले लिभरपुलविरुद्ध निर्णायक गोल गरेका थिए। यसपालिको बालोन डोरमा उनी आठौँ वरीयतामा रहे। ला लिगामा पाँचौँ सिजन बिताइरहेका यी युवा खेलाडीलाई नेयमारसँग दाँज्न थालिएको छ।

नेयमार जस्तै भिनियिसय पनि ब्राजिलियन क्लब सान्तोसबाट उदाएका हुन्। उनी नेयमारलाई आफ्नो आदर्श मान्छन्। र खेल्ने पोजिसन पनि एउटै हो। शैली पनि लगभग उस्तै छ। केही पक्षमा भने भिनिसियसले सुधार गर्न आवश्यक छ। जस्तै, उनी ‘फाइनल थर्ड’ मा सही निर्णय लिन चुकिरहेका हुन्छन्। विपक्षीको बक्समा पुगेका बेला हतारमा प्रहार गर्छन्। वरपर आफ्ना साथी छन् भन्ने हेक्का राख्दैनन्।

केही कमजोरीका बाबजुद भिनिसियस नेयमारको अनुपस्थितिमा टिटेका लागि मुख्य हतियार बन्न सक्छन्। सानै उमेरमा ला लिगा र च्याम्पियन्स लिगमा सनसनी मच्चाइरहेका भिनिसियस ब्राजिलले विश्व फुटबललाई दिएको नयाँ उपहार हुन्। उसो त टिटेको टिममा विश्वस्तरीय फरवार्ड उनी मात्र होइनन्। फेरि एकपटक विश्वकप विजेता बन्ने लक्ष्यमा रहेका ब्राजिलको सबैभन्दा बलियो पक्ष नै अप्रपंक्ति हो। र यो बलियो पक्षलाई प्रतिनिधित्व गर्ने अगुवा हुन् भिनिसियस।

प्रकाशित: १३ मंसिर २०७९ ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =