आफ्नै अभिव्यक्ति र पार्टी विभाजनले हारेका खनाल

किरण पौडेल १२ मंसिर २०७९ २०:३६
216
SHARES
आफ्नै अभिव्यक्ति र पार्टी विभाजनले हारेका खनाल

काठमाडौँ- यसपटक नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चुनाव लड्ने मुडमै थिएनन्।

किनकि, कमजोर शरीर, विभाजित दल र कांग्रेससँगको सहकार्यले भलो नहुने खनालले बुझिसकेका थिए।

स्थानीय तहको चुनावमै कांग्रेसले धोका दिएको भन्दै उनले चर्को आरोप लगाएका थिए। यही झ्वाकमा उनको गृह जिल्ला(इलाम)को जिल्ला समन्वय समितिमा एमालेसँग गठबन्धन गरे।

कांग्रेसलाई धोकेवाज हो भनेर चर्को विरोध गरे। ‘कांग्रेस पूरै शैलीको पार्टी रहेन। भोट ट्रान्सफर नहुँदो रहेछ,’ खनाल भन्थे । तर खनाल भदौ अन्तिम सातातिर गृहजिल्ला इलाम पुगे। आफ्ना कार्यकर्ता र कांग्रेसका जिल्लातहका नेतासँग गफिए। कांग्रेसका जिल्लास्तरका नेताले आश्वासन दिएपछि उनी इलाम क्षेत्र नम्बर १ बाट उठ्न राजी भए।

‘म एक पटक इलामे जनताकै अनुरोधमा उठ्न सक्छु,’ जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनमा खनालले भने। कांग्रेसका नेताको आश्वासन र स्थानीय तहको मत परिणामले पनि निर्वाचनमा उठ्न खनाललाई बल दियो।

यसपछि राजधानी फर्किएका खनाल टिकट लिनेतर्फ उन्मुख भए। त्यसबीचमा उनले इलामका लागि धेरै काम गर्ने प्रयत्न गरे। प्रतिनिधिसभाको रोस्टममा उभिएर इलामको चियाको वयान गर्थे भने चियाले भारतीय बजारमा मूल्य नपाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्थे।

खनालको क्षेत्र चियाले प्रख्यात छ। त्यहाँ सधैं चिया श्रमिक, किसान र बजारको समस्या भइरहन्छ। त्यस विषयमा कुरा उठाउँदा चुनावी परिणामा आफ्नो पक्षमा पर्न सक्ने खनालको आकलन थियो। उनले प्रधानमन्त्रीलाई भेटाउन चिया उद्योगीहरूलाई पनि लगे।

पछिल्लो समय खनालले चिया किसानका समस्या समाधान गर्ने र चिया बजार विस्तार गर्नेबारे बताउँदै आएका थिए। तर इलामका मतदाताले खनालको यो भनाइलाई व्यवहारिक रूपमा पत्याएनन्।

‘आजसम्म खनालले चियाका लागि उल्लेखनीय केही गरेनन्। तर अहिले सक्रिय भएका छन्,’ एक चिया उद्यमीले भने,‘चिया उत्पादन र बजारमा समस्या छ। उनले प्रधानमन्त्री भएकै बेला समाधान गर्न सक्थे तर गरेनन्।’ खनालले गृहजिल्लाका बारेमा धेरै प्रचार गरे। यही मेसोमा उनी चुनाव लड्न गृहजिल्ला पुगे।

उनको क्षेत्रमा एकीकृत समाजवादीको मत स्वाभाविक रूपमा एमालेको भन्दा कम थियो। तर उनको क्षेत्रमै पर्ने सूर्योदय नगरपालिकाको मेयरमा समाजवादीकै रणबहादुर राई जितेका थिए। र, माईजोगमाई गाउँपालिकामा झिनो मतले एमालेसँगै एकीकृत समाजवादीले हारेको थियो। अलि कम्मर कस्दा जितिने खनालको अनुमान थियो। यसपल्ट खनाल चुनावी अभियानमा पनि भिन्न तरिकाले खटे। सधै आमसभामा बढी ध्यान दिने उनले घरदैलोलाई प्राथमिकता दिए।

घरदैलोका क्रममा उनले कांग्रेस र माओवादीका घरघर पुगे। घरदैलोपछि भने उनले जित्ने सम्भावना पनि देखेका थिए। ‘मैले त यो क्षेत्रमा प्रतिस्पर्धी देखेकै छैन। चुनाव बहुमतका साथ जित्छु,’ खनालले पत्रकारहरूलाई भन्थे। खनालले आफूले चुनाव नजित्नु पर्ने कारण पनि थिएनन्। गृहजिल्लाका अधिकांश कांग्रेस नेता उनकै पक्षमा थिए। उनी चुनावी अभियानमा हिँड्दा अघिपछि कांग्रेसकै नेता लाग्थे।

अर्कापट्टि उनको प्रतिस्पर्धी पनि पूर्ववत पार्टीका कुनै बेलाका कार्यकर्ता महेश बस्‍नेत थिए। बस्‍नेतको घर इलाम क्षेत्र नम्बर २ मा पर्छ। उनी २ नम्बर क्षेत्रमै पर्ने इलाम नगरपालिकाको मेयर भइसकेका थिए। भनौं, बस्नेतको प्रभाव २ नम्बर क्षेत्रमा भन्दा १ नम्बरमा कम थियो। यसैले पनि खनाल चुनाव जित्ने अभिव्यक्ति दिन्थे। तर खनाल कांग्रेस नेतासँग भने आशंकित थिए। स्थानीय तहमा भोट कन्भट नभएको देख्दा कम मत आउने हो कि भन्ने आशंका थियो। यत्तिकैमा चुनाव आयो।

स्थानीय तहमा जस्तो मत संघीय र प्रादेशिक चुनावमा झरेन। गाइँगुइँ हल्ला चल्यो, कांग्रेसका धेरै कार्यकर्ता भोट हाल्दै गएनन्। किनकि, खनालको क्षेत्रको प्रदेश १ मा संघ र प्रदेशमै एकीकृत समाजवादीले सिट पाएको थियो। समाजवादीकी नेतृ खिनु लङ्वा उठेकी थिइन्।

यसको मतलब कांग्रेस कार्यकर्ताले संघ र प्रदेशमै कांग्रेसको चुनाव चिह्न देख्न पाएनन्। चुनावी मतपरिणामका सुरुवातमै खनाल पछि परे। जतिपटक मतपरिणाम आयो, त्यसबेला बस्‍नेतले अग्रता कायम गर्थे।

यसपटक सोही क्षेत्रमा सबै पालिकाको मत मिसावट रूपमा गणना भएको थियो। मतलब, खनालको क्षेत्रमा पर्ने सबै स्थानीय तहको मत एकैपटक भुँइमा खनिएर गनिएको थियो। यसैकारण पनि कसको प्रभाव क्षेत्रमा कति मत झर्‍यो पत्ता पाउन गाह्रो थियो।

मतपरिणाम ७० प्रतिशत आउनै लाग्दा खनाल एकाएक आक्रोशित भए। अपेक्षाकृत मत नआएको र प्रतिस्पर्धीको मत बढेका कारण उनले मतगणना रोक्न आदेश दिएका थिए। ‘पूरै धाँधली भयो। पुनः मतदान गराउनु पर्छ,’ खनालले पत्रकार सम्मेलन नै गरेर भने,‘निर्वाचनमा धाँधली भयो। निर्वाचन आयोगलाई भनिसकेको छुँ।’

मतगणनाका क्रममा उनले आक्रोश व्यक्त गरे। यसैकारण केही घण्टा मतगणना रोकियो पनि। तर निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका अन्य दलको सहयोगमा गणना सुरु गर्‍यो। गणनाको अन्त्यतर्फ लाग्दै गर्दा खनाल गृहजिल्लाबाट सिधै काठमाडौँतर्फ लागे।

उनले विपक्षीलाई धन्यवाद पनि दिएनन् भने चुनावको समीक्षा पनि गर्न चाहेनन्।

‘निर्वाचन निष्पक्ष भएन। आयोगले सेटिङ गर्‍यो,’ खनालले भने। नेकपा एकीकृत समाजवादीका इलाम अध्यक्ष भक्त केसीले हिमाल प्रेससँग भने,‘कांग्रेसका साथीहरूबाट सहयोग पाइएन भने धाँधली भएर मतपत्र हराए। हाम्रा नेता एमसीसीको विपक्षमा उभिनु भएको थियो। त्यही कारण हराइएको हुन सक्छ।’

मतगणनाका क्रममा उनले आक्रोश व्यक्त गरे। यसैकारण केही घण्टा मतगणना रोकियो पनि। तर निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका अन्य दलको सहयोगमा गणना सुरु गर्‍यो। गणनाको अन्त्यतर्फ लाग्दै गर्दा खनाल गृहजिल्लाबाट सिधै काठमाडौँतर्फ लागे।

खनालले भने यसबारे प्रतिक्रिया दिएका छैनन्। केही सञ्चारमाध्यमसँग भने अब आफू अदालत जाने बताइरहेका छन्।

किन गृहक्षेत्रमै कमजोर भए खनाल?

एमाले फुटेर एकीकृत समाजवादी बन्दा खनाल भारतमा मिर्गौला उपचार गर्न गएका थिए। यता माधव नेपालले निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदै गर्दा खनालले दिल्लीबाट आफ्नो सनाखत पठाएर पार्टी दर्ताका लागि सघाएका थिए।

उनी फर्केर आउँदै गर्दा त्रिभुवन विमानस्थलमा पत्रकारहरूलाई भनेका थिए,‘म कमजोर भएँ। सक्रिय राजनीतिमा नरहन सक्छु।’

यत्ति भन्दै गर्दा पनि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे। नयाँ बनेको पार्टीमा जाँदा खनालले गृह जिल्लामा उनीनिकट नेताकै साथ पाएनन्।

सन्दकपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष उदय राई, माई नगरपालिकाका तत्कालीन अध्यक्ष दीपककुमार थेवेलगायतका नेता एमालेमै बसे।

उनको पक्षमा माईजोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राई र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई (आरवी) मात्र गए। उनकै क्षेत्रमा पर्ने रोङ गाउँपालिकामा कांग्रेसले जितेको थियो। उनी नजिक भनिएका धेरै नेता त्यसबेला एमालेमै बसे। यसैले पनि खनाल कमजोर बने।

‘उहाँ यो समयमा अर्को पार्टीमा जानै हुन्थेन। गलत निर्णय गर्नुभयो,’ इलाम २ बाट निर्वाचित सांसद्समेत रहेका एमालेका इलामका अध्यक्ष महेश बस्नेत भन्छन्,‘प्रतिस्पर्धी पार्टीमा भएपछि हामीले सहयोग गर्ने कुरै भएन। भिड्नै पर्‍यो।’

स्थानीय तहको चुनावमा उनको पार्टीले निर्वाचन क्षेत्रका दुई पालिकाको प्रमुख र एक क्षेत्रको उपप्रमुख पायो।

त्यसबेला समाजवादीले गठबन्धनबाट सन्दकपुर गाउँपालिकाको उपाध्यक्ष, माईजोगमाई गाउँपालिकाको अध्यक्ष र सूर्योदय नगरपालिकाको मेयर पायो। तर चुनावमा सन्दकपुर उपाध्यक्ष र सूर्योदयको मेयर एकीकृत समाजवादीले जित्यो।

तर, पनि खनाल मतपरिणामसँग सन्तुष्ट भएनन्। यही आक्रोशमा सूर्योदय नगरपालिकाको नगर कार्यपालिका र इलाम जिल्ला समन्वय समितिमा एमालेसँग तालमेल गरे।

यही कारण यी दुवै ठाउँमा कांग्रेसले हार्‍यो। ‘यसको कारण कांग्रेसका नेताहरू रिसाउनु भएको हुन सक्छ,’ समाजवादीका अध्यक्ष केसीले भने,‘तर धाँधली भएकै हो।’ त्यसो त, स्थानीय तहको निर्वाचनपछि खनालकै अभिव्यक्तिका कारण पनि कांग्रेस कार्यकर्ता बिच्किएका थिए।

उनले पार्टीभित्र एमालेको होइन, केपी ओली प्रवृत्तिको आलोचना गर्न आग्रह गर्दै आए। तर नयाँ पार्टीमा लागेका उनलाई इलाममा एमालेकै नेता/कार्यकर्ताले साथ दिएनन्।

उनले ‘कांग्रेससँग चुनाव लड्न नसकिने’, ‘कांग्रेसले बोराका बोरा पैसा बाँड्ने’ अभिव्यक्ति दिएका थिए।

कांग्रेससँग गठबन्धन गर्न नसकिने र एमालेसँगै मिल्नुपर्नेसमेत खनालले बताएका थिए। ‘अब हामी, वामपन्थी एक हुनुपर्छ। पुराना कुरा बिर्सिएर मुलुक अघि बढाउन वामपन्थी एकता अघि बढाउनु पर्छ,’ खनालले हिमाल प्रेससँगै भनेका थिए, ‘हामीले व्यक्ति केन्द्रित होइन, सिद्धान्तकेन्द्रित एकता गर्नु आवश्यक छ।’

उनले पार्टीभित्रै पनि कार्यकर्तालाई एमालेको होइन ओली प्रवृत्तिको विरोध गर्न अनुरोध गरेका थिए। तर, पार्टीभित्रकै किचलोले गर्दा सत्तागठबन्धनबाट एकीकृत समाजवादी बाहिर निस्किन सकेन। त्यही कारण उनी कांग्रेससँगै सहकार्य गर्न बाध्य भए।

प्रतिस्पर्धीलाई नजरअन्दाज गर्दा हारे खनाल

खनालसँग भिड्ने एमाले नेता बस्‍नेत कुशल संगठक हुन्। उनी इलाममै बस्छन् र इलामकै विकासमा खटिएका छन्।

भूगोलबारे चासो राख्ने कारण इलामे भूभागबारेमा जानकार छन्। यतिमात्र होइन, इलामको एमाले राजनीतिमा बस्नेत हाबी हुन्छन्।

इलामका एमाले कार्यकर्ताहरू बस्नेतबारे भन्छन्,‘बस्नेत जे चाहन्छन्। त्यो पूरा गरेरै छाड्छन्,’ यसरी हेर्दा बस्नेतको विगत हेर्दा त्यस्तै लाग्छ। उनी ०५४ सालमा इलाम नगरपालिकाको मेयर बनेका नेतासमेत हुन्।

उनले कांग्रेस नेता हिमालय कर्मचार्यलाई हराएका थिए। बस्नेत मेयर बन्दा केही उल्लेखीय काम पनि गरे।

त्यही एजेन्डा लिएर उनी ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको मेयर पदमै उम्मेदवार दिए। त्यसपल्ट पनि उनका प्रतिस्पर्धी कांग्रेसका हिमालय कर्मचार्य नै थिए। बस्नेतले हिमालयलाई हराए।

मेयर बन्दा पनि इलाम नगरपालिकामा विकासका काम गरे। यही वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भने उनी इलाम मेयरमा दोहोरिन चाहेनन्।

एमालेबाट धिरेन चेम्जोङ उठे। तर कांग्रेसका केदार थापासँग चेम्जोङ हारे। यसलगत्तै बस्नेत प्रतिनिधिसभातर्फको चुनावी दौडमा लागे।

निकटतम् प्रतिष्पर्धी खनालसँग अंकगणितमा गाह्रो इलाम २ मा बस्नेतलाई जित निकाल्न सहज थिएन। तर प्रचार-प्रसारमा निरन्तर खटे। घरदैलो कार्यक्रममा सक्रिय भएर लागे।

‘बस्नेत इलाम नगरपालिका बस्नु भए पनि उहाँलाई यस क्षेत्रको राम्रो ज्ञान छ,’ एमाले कार्यकर्ताहरू भन्छन्, ‘हाम्रो क्षेत्रका हामीले नचिनेका मान्छे र नजानेका ठाउँ पनि उहाँले चिन्नुहुन्छ।’ यसैकारण बस्नेतलाई चुनाव लड्न सहज भएको इलाममा एमाले कार्यकर्ताहरू बताउँछन्।

‘मन लगाएर अघि बढेपछि चुनाव जितिन्छ। हामीले प्रयत्न गर्‍यौं, सफल भयौं,’ बस्नेतले हिमाल प्रेससँग भने,‘यो जित मेरो होइन। इलामबासी मतदाता र एमाले पार्टीकै जित हो।’

साँच्चिकै इलाम १ एमालेकै पकड क्षेत्र थियो। खनालले ०४७ सालपछि एउटाबाहेक सबै चुनाव जित्दै आएका थिए।

 इलाम १ एमाले त्यसमा पनि खनालकै पकड क्षेत्र थियो। खनालले ०४७ सालपछि एउटाबाहेक सबै चुनाव जित्दै आएका थिए।

त्यसबेला खनालले नै चुनाव जित्थे। अहिले पनि बस्नेतले एमालेको बिरासत जोगाए। खनालले अघिल्ला निर्वाचनमा जित हासिल गरिरहेकैले पनि यसपटक लड्ने आँट गरेका थिए। तर खनालले बस्नेतको रणनीतिलाई सतही ठानेर नजरअन्दाज गर्दा खनालले पराजय भोग्नुपर्‍यो।

‘इलाम १ को नतिजा अनपेक्षित हो। यस्तो आउँला भन्ने लागेकै थिएन,’ कांग्रेसकै कार्यकर्ताहरू भन्छन्,‘यस्तो नतिजा नआउनुका कारण कांग्रेसभित्रकै अन्तर्घात हो।’

कांग्रेसको एकपक्ष खनाललाई चुनाव हराउन लागेको एकीकृत समाजवादीको आरोप छ। खनाल आफैंले पनि एक अनलाइनलाई दिएको अन्तर्वार्तामा- ‘कांग्रेसभित्रका द्रव्यपिशाच र मण्डलेहरूले चुनाव हराएको’ खनालले अभिव्यक्ति दिएका छन्। तर, खनालको उक्त भनाइ र इलामको निर्वाचन परिणाम फरक देखिएको छ।

समाजवादीले इलाममा हालसम्म समानुपातिकमा ८ हजार २१ मत पाएको छ। खनालले प्रत्यक्षमा २३ हजार ८९ मत पाएका छन्। त्यसैले पनि त्यो मत समाजवादीको मात्र होइन।

तर, यता एमालेको समानुपातिक मत भने २० हजार ५ सय ६४ मत प्राप्त गरेको छ। खनालका प्रतिस्पर्धी बस्नेतले २५ हजार ७ सय ५३ मत प्राप्त गरेका छन्। यसै कारण पनि कतिपयले खनालले हार जान्दा-जान्दै चुनाव लडेको टिप्पणी गर्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =